Comments Add Comment

सजग होऔं ! सानै उमेरमा बन्नसक्छ मुटुमा ब्लकहरु

Heart

पछिल्लो समय जीवनशैली आधुनिक बन्दै जाँदा खासगरी हाम्रो खानपान संस्कृति र दैनिक आहारविहार निकै फेरिएको छ । मीठै मात्र र त्यसमा पनि मासु मात्रै खानुपर्ने बानी विकसित भएको छ । घरमा पाक्ने खानाको ठाउँ बाहिरको फास्टफुडले लिइरहेको छ । अर्कातिर, शारीरिक परिश्रमलाई दुःख ठानेर दुई पाइला हिँड्न समेत गाह्रो मान्ने गरिन्छ ।

वयस्क मानिसमा रहेको यस्तो आहारविहारको प्रभाव केटाकेटीमा पनि परेको छ । स्यान्डविच, बर्गर, मःम:, चाउमिन लगायत मासु मिसिएका खानेकुरामै उनीहरुको रुचि हुन्छ । बच्चाहरु शारीरिक व्यायाम हुने आउटडोर स्पोर्ट्स छोडेर मोबाइल गेम र टिभीमै रमाउने गरेका छन् । 

सबैलाई थाहा नहुन सक्छ, उच्च रक्तचाप, मुटुरोग, ह्दयाघात, पक्षघात जस्ता समस्याको पृष्ठभूमि बच्चैदेखि सुरु हुन्छ । जन्मेदेखि कस्ता किसिमका खाना खाने गरेको छ, शारीरिक व्यायाम कति गरिन्छ, मानसिक तनाव कति रह्यो आदि कुराका साथै वंशानुगत कुराको पनि प्रत्यक्ष असर शरीरमा परिरहेको हुन्छ । त्यसैले आफ्ना नानीहरु सधैं रहून् भन्ने हो भने सानै उमेरदेखि अभिभावकले ध्यान दिनुपर्ने हुन्छ । 

dr=milan prakash shresthaअमेरिकन हार्ट एसोसिएसनले केटाकेटी उमेरमा शारीरिक व्यायामको विशेष महत्व रहन्छ । दिनहुँ शारीरिक व्यायाम गरेमा वजन सन्तुलित राख्न मद्दत पुग्छ, रक्तचाप स्थिर रहन्छ, रगतमा राम्रो कोलेष्ट्रेल (एचडीएल) उल्लेख्य मात्रामा वृद्धि हुन्छ र सुगर तथा केही किसिमका क्यान्सरको सम्भावनालाई पनि कम गराइदिन्छ । यसका साथै बच्चाहरुको मनोवैज्ञानिक विकास राम्रो हुने तथा आत्मविश्वास पनि बढ्ने गरेको अध्ययनहरुबाट देखिएको छ । सानैदेखिको स्वस्थ खानपान र शारीरिक व्यायामले ठूलो भएपछि पनि स्वस्थ राख्छ ।  

ह्दयाघात विश्वमा मानिसको मृत्यु हुने प्रमुख कारणमध्ये पहिलोमै पर्छ । मुटुको मांसपेशीमा रक्त प्रवाह गर्ने रक्तनलीको भित्तामा बोसो लगायत अन्य कुरा जम्मा हुँदै गएपछि रक्तनली साँगुरिएर यो समस्या हुन्छ । यस्तो समस्या मानिस वयस्क भएपछि मात्रै पहिचान हुन्छ । तर, अमेरिकामा गरिएका अध्ययन अनुसार, रक्तनलीको भित्तामा बोसो जम्ने प्रक्रिया भने केटाकेटी अवस्थामै सुरु भइसक्छ । अध्ययन अनुसार पाँच वर्षका केटाकेटीमा पनि यो समस्या सुरु भइसकेको पाइएको छ ।

निकै चर्चित बोगालुसा हार्ट स्टडीमा सन् १९७३ मा करिब १६ हजार मानिसमा एक अध्ययन गरिएको थियो । अध्ययनमा विभिन्न दुर्घटनामा मृत्यु भएका बालबालिकाको पोष्टमार्टम गर्दा उनीहरुको मुटुको रक्तनलीमा बोसो जम्ने प्रक्रिया सुरु भइसकेको पाइएको थियो । 

अन्य मानिसहरुमा रगतमा कोलेष्ट्रेलको मात्रा बढी हुनेहरुको रक्तनलीमा धेरै बोसो जमेको पाइयो । साथै बढी तौल भएकाहरुमा कोलेष्ट्रेलको मात्रा तथा रक्तचाप पनि बढी भएको पाइयो । यसको अर्थ आवश्यकभन्दा बढी वजन हुनु, रक्तचाप, कोलेष्ट्रेलको मात्रा बढी भएमा रक्तनलीहरुमा ब्लक बन्न चाँडै सुरु हुन्छ, जसको परिणाम ह्दयाघात वा पक्षघात हुन्छ । 

मुटुरोगबाट बच्न शारीरिक व्यायाम

सन् १९८५ मा फ्रामिङगम हार्ट स्टडीले गरेको अध्ययन अनुसार दिनहुँ केही मात्रामा फलफूल तथा सागसब्जी खाने बालबालिकामध्ये थोरै प्रतिशतमा मात्र ठूलो भएपछि रक्तचाप बढ्ने समस्या पाइयो । केटाकेटी उमेरमा शारीरिक व्यायाम बढी गर्नेहरुमा ठूलो भएपछि पनि खासै वजन नबढेको पाइयो । अध्ययनले केटाकेटी उमेरमा टेलिभिजन बढी हेर्नेमा भन्दा नहेर्नेमा ठूलो भएपछि वजन नबढेको देखियो ।

रक्तचाप, सुगर, कोलेष्टेल, मोटोपना तथा मानसिक तनाव आदि सबै ह्दयाघातको प्रमुख कारण हुन् । सबैको साझा समाधान पनि शारीरिक व्यायाम नै हो । 

केटाकेटीहरुलाई भविष्यमा मुटुरोग नलागोस् भन्ने हो भने दुई वर्षदेखि माथिका केटाकेटीलाई दैनिक ६० मिनेट शारीरिक व्यायाम गराउनु जरुरी छ । एकैचोटि ६० मिनेटको फुर्सद पाइन्न भने १५/१५ मिनेट गरी चार पटक वा ३०/३० मिनेट गरी दुई पटक गराउनुपर्छ । यस्ता व्यायाममा फुटबल, भलिबल, ब्याडमिन्टन जस्ता खेलहरु खेल्ने, पौडी खेल्ने, दौडिने, साइकल चलाउने, स्केटिङ खेल्ने, नाच्ने आदि पर्दछन् । अभिभावकहरुले पनि भिडियो गेम खेल्ने, टिभी हेर्ने जस्ता केटाकेटीको बानीलाई निरुत्साहित पार्दै घरबाहिर उनीहरुको रुचिको खेलमा उत्साहित गर्नुपर्छ ।

बालबालिकाको खाना

अमेरिकन हार्ट एशोसिएसनका अनुसार, बालबालिकाको खानामा स्याचुरेटेड फ्याट, ट्रान्स फ्याट तथा सोडियम एकदमै कम हुनु जरुरी छ । खसी, राँगा, बङ्गुर लगायत चारखुट्टे जनावरको मासुमा स्याचुरेटेडेड फ्याट पाइन्छ । फ्राइ तथा बेक गरिएका खानेकुरामा बढी चिल्लो (ट्रान्स फ्याट) पाइने भएकोले त्यसबाट बच्नुपर्छ । यस्तै, कुकिज, विभिन्न किसिमका क्र्याकरहरु, पिज्जाको डो, पेष्ट्रिजहरु ट्रान्स फ्याट बढी पाइने खानेकुरा हुन् । 

बालबालिकाको खानामा सागसब्जी अनिवार्य मानिएको छ । फलफूल पनि प्रशस्त मात्रामा खान जरुरी छ । मासुको साटो माछाको सेवनमा जोड दिनुपर्छ । सागसब्जी, गेडागुडी, सलादहरु पनि खानामा टुटाउनु हुँदैन ।

दूधबाट बनेका परिकारमा चिल्लोको मात्रा कम हुन जरुरी छ भने कुखुराको मासु खाँदा पनि छाला झिकेर खानुपर्छ । चिनी तथा अन्य गुलियो पदार्थ तथा रातो मासु जतिसक्दो कम खाएकै राम्रो हुन्छ । 

स्याचुरेटेड फ्याट तथा ट्रन्स फ्याटको बढी मात्रामा सेवनले रगतमा राम्रो कोलष्ट्रेल (एचडीएल) को मात्रा कम गर्ने तथा नराम्रो कोलेष्ट्रोलको मात्रा बढाउने गर्छ । जसको रगतमा यस्ता कोलेष्ट्रोल बढी भइराख्छ, त्यस्ता व्यक्तिको मुटुका नलीहरुमा ब्लक बढ्दै जाने सम्भावना बढी हुन्छ । केटाकेटी उमेरमा यस्तो खानेकुरा बढी खानेहरुमा वयस्क उमेर पुग्दानपुग्दै मुटुरोग लाग्ने सम्भावना हुन्छ । 

अनस्याचुरेटेड फ्याट

अनस्याचुरेटेड फ्याट मुटुका लागि राम्रो मानिन्छ । ट्राउट माछा, सालमोन माछा, एभोकाडो, ओलिभ तेल, ओखर तथा भटमासको तेल, मकैको तेल, सनफ्लावर तेल आदिमा यस्ता चिल्लो पदार्थ पाइन्छ । पोली र मोनो अनस्याचुरेटेट फ्याट दुवैले रगतमा राम्रो कोलेष्ट्रोलको मात्रा बढाउन मद्दत गर्छन् ।

कसरी थाहा पाउने ?

बजारमा पाइने प्याकेट गरिएका धेरैजसो खाद्यवस्तुमा बाहिरपट्टि नै सानो कोठाभित्र Nutrition Facts भनेर त्यो खाद्यवस्तुमा के-के छ भनेर प्रष्ट लेखिएको हुन्छ । विशेषगरी कार्बोहाइड्रेट, प्रोटिन तथा फ्याट अनि मात्रा पनि प्रष्ट लेखिएको हुन्छ । फ्याटभित्र पनि पोलि, मोनो अनस्याचुरटेड, स्याचुरेटेड तथा ट्रान्स फ्याटको मात्रा पनि प्रष्ट उल्लेख गरिएको हुन्छ । 

बच्चाको भविष्य अभिभावकको हातमा

आफूलाई तथा आफ्ना बच्चाहरुलाई भविष्यमा मुटुरोग नलागोस् भन्ने चाहनुहुन्छ भने आजैदेखि माथिका कुरामा ध्यान दिन जरुरी छ । अन्यथा उनीहरु सानै उमेरमा मुटु रोगको सिकार हुन सक्छन् ।

नानीहरुलाई साकाहारी खाना खाने बानी बसाल्नुस्, मासु तथा मासुबाट बनेका कुराको मात्रा एकदम कम गराउनुस् । घर बाहिर रेष्टुरेन्टहरुमा गएर खाने बानी कम गरेकै राम्रो हुन्छ । प्याकेट गरिएका खानेकुरा खाँदा चिल्लोको मात्रा हेर्न नभुल्नुस् । उनीहरुलाई मोबाइल, टिभीको पहुँचबाट सकभर टाढै राखी शारीरिक व्यायामको महत्व बुझाएर आफू पनि त्यसमा सरिक हुनुस् ।

(डा. श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ हुन् ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment