१२ माघ, काठमाडौं । पुराना गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान साढे ५ बजे ताहाचलस्थित निवासमै निधन भएको हो । गत वर्षको भूकम्पले ओमबहालस्थित घर भत्किएपछि उनी पछिल्लो समय सपरिवार ताहाचलमा बस्दै आएका थिए ।
उनको ‘तिरिरी मुरली बज्यो वनैमा‘ गीत निकै चर्चित छ । शरदकुमार शाक्यले संकलन गरेको गीतमा पन्नाकाजी आफैंले संगीत र स्वर दिएका थिए ।
वि. सं. १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गरेका थिए । उनले २००८ सालदेखि रेडियोमा स्थायी नियुक्ति पाएर ०४० सालसम्म काम गरेका थिए ।
रेडियो नेपालले ०२२ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगीतामा नारायणगोपाल संगीतमा प्रथम भएका थिए भने पन्नाकाजी गायनतर्फ प्रथम भएका थिए । उनले ‘किन–किन तिम्रो तस्बिर‘ र ‘लोलाएका ती तिम्रा आँखा‘ को पुरानो मेलोडी, नौलाखे तारा, एकानी दुवानी, रात यो नबित्ला, लालीगुराँस फुल्यो है लगायत सिर्जना दिएका छन् । आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् ।
पन्नाकाजीका चार छोरा र एक छोरी छन् । दुई पुत्र प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् ।
उनको बुधबारै टेकु दोभानमा दाहसंस्कार गरिएको छ ।
सुन्नुस् उनको बहुचर्चित गीत ‘तिरिरी मुरली बज्यो वनैमा’ :
प्रतिक्रिया 4