News Summary
Generated by OK AI. Editorially reviewed.- बासुदेब मुनालले २०३२ साल असार ५ गते बिहे गरे जसका लागि रेडियो नेपालमा उनको गीतहरू विशेष रूपमा बजाइयो।
बासुदेब मुनाल चर्चित रेडियोकर्मी र गायक हुन् । रेडियो नेपालमा बाल कार्यक्रम प्रस्तोताका रूपमा उनी निकै लोकप्रिय थिए । उनले ४ दशक रेडियो नेपालमा बिताए । २०७४ असोजमा ६८ वर्षको उमेरमा उनको निधन भयो । उनको बिहेको दिन रेडियो नेपालमा उनको मात्रै गीत बजेपछि के भयो ? त्यो समयको अनुभूति उनकै शब्दमा:
‘ए बासुदेवकी आमा, जा जा सोध त बासुदेबलाई ऊ कहिले बिहे गर्छ रे ?’ बुबाको यो प्रश्न आमामार्फत मसम्म आइपुग्थ्यो । बुबाको प्रश्न बोकेर आमा अक्सर मेरो सामुन्ने आउनुहुन्थ्यो । अनि आमाले सोध्नुहुन्थ्यो, ‘कहिले बिहे गर्ने ?’
मैले आइएको परीक्षा दिइसकेको थिएँ । उमेर २५ वर्ष पूरा भएर २६ टेक्दै थिएँ । पाँच र सात बहिनीको ठूलदाजु म । रोलक्रमअनुसार बिहे गर्ने पालो त मेरै थियो । तर, कसलाई बिहे गर्ने ? कन्या भेटिएको थिएन । त्यो कस्तो बेला थियो भने म सांस्कृतिक कार्यक्रम गर्दै ठाउँ-ठाउँमा घुम्थें ।
यसरी कार्यक्रम गर्नका लागि हाम्रो मुनाल क्लब थियो । यो क्लब खोलेर गाना बजाना गरेको बुबालाई मन परेको थिएन । त्यसमाथि कार्यक्रम देखाउँदै कहिले कता कहिले कता पुगेको देखेर बुबालाई पीर परेछ। उहालाई मेरो विवाह गराइदिने हतारो भयो ।
बिहेको प्रश्न गर्दागर्दै आमा पनि थाक्नुभएको थियो । आमाले बुबालाई उल्टै प्रश्न गर्न थाल्नुभयो, ‘मैले भनेको मान्ने भएको पो ? बरु तपाईंदेखि डराउँछ, तपाईं नै सोध्नु न ।’
मेरो विवाहको कुरा आमा र बुबाका लागि ठूलै मुद्दा बनेको थियो । एकदिन बुबाले मलाई बोलाएर भन्नुभयो, ‘बासुदेव, तैले कुनै केटी हेरेको छस् भने भन । होइन भने तेरो बिहे गर्ने बेला भइसक्यो । आमाले सोध्दा पनि केही बोल्दैनस् रे ।’

मैले नबोली धरै पाइनँ । अनि मैले मनको कुरा खुलस्त पार्दै बुबालाई भनें, ‘बुबा, मैले मेरो तीन कुरा पूरा भएपछि मात्र बिहे गर्छु भनेको छु । जसमा एसएलसी पास गरेर एउटा कुरा चाहिँ पूरा भयो । अब दुईटा कुरा पूरा हुन्छ अनि बिहे गर्छु । बुबाले सोध्नुभयो, ‘के हो त्यस्तो कुरा ?’
मैले बुबालाई भने, ‘मेरो दोस्रो कुरा हो रेडियो नेपालमा गीत गाउने । र तेस्रो हो कुनै अफिसमा काम गर्ने ।’ त्यसपछि बुबाले अलिकति झर्किँदै भन्नुभयो, ‘ल ल यी कुराहरू हुँदै गर्छन् । बिहे गर्न ढिला गर्नुहुँदैन । मैले केटी हेर्न लगाइसकेको छु ।’
केटी खोज्दै पूर्व
त्यसपछि केटी हेर्न धेरै ठाउँ पुगियो । भद्रपुर झापा, विराटनगर बरगाछी, भीमपुर, धरान आदि-आदि । कोहीसँग बसेर सिनेमा हेरियो, कोहीसँग वनभोज खान माईपोखरी गइयो, कसैको कोठामै गएर दुईजना मात्र बसेर कुरा गरियो । मैले सोचेजस्तो पाउँदै पाइनँ ।
एकदिन कञ्चनपुरमा बस्ने अच्युत कोइराला दाइको बुबाबाट मेरो बुबालाई एउटी केटीको कुरा आएछ । बुद्धिलाल गजुरेलकी नातिनी, भिमेश्वर गजुरेलकी पुत्री इन्दिरा गजुरेलको। अत्यन्त धार्मिक र ज्ञानी परिवार हो भनेपछि बुबाले मलाई ती केटीको बारेमा फोनमा सुनाउनुभयो । र केही दिनपछि म काठमाडौँबाट विराटनगर आइपुगेँ ।
त्यो वैशाखको महिना थियो । म विराटनगर आइपुगेको पर्सिपल्ट म, बुबा, भीमकाका, कन्चिराका काफ्ले बाजे बिहान ९ बजे खाना खाइवरी बसमा चढेर सप्तरी कञ्चनपुरका लागि रवाना भयौँ । कञ्चनपुर पुग्दा दिउँसोको करिब २ बजेको थियो । हामी त्यहाँ आउने भनेर केटीपट्टिबाट खानपिनसहित सबै व्यवस्था गरिएको रहेछ ।

एउटा कोठामा हामीलाई बसाइयो । भीम काका, काफ्ले पुरोहित अनि मेरो परिचय बुबाले इन्दिराका बुबा भिमेश्वर गजुरेलसँग गराउनुभयो । केही बेरमा लुङ्गी र चोलो लगाएर तीन चार जना केटीहरूका साथ इन्दिरा सर्वत लिएर आइन् । त्यो बेला मैले कालो चस्मा लगाइरहेको थिएँ ।
केटीहरू आउनेबित्तिकै बुबाले भीम काकालाई कानमा के कुरा हो सुटुक्क भन्नुभयो । अनि भीम काकाले मलाई बिस्तारै ‘ए बासु, चेस्मा खोल’ भन्नुभयो । मैले चेस्मा खोलेर रुमालले चेष्माको सिसा पुछि, एकछिन चारैतिर हेरें । र फेरि लगाएँ ।
त्यत्तिकै बेला भीमेश्वरले मलाई सोध्नुभयो ‘तपाईं काठमाडौँबाट कहिले आउनुभयो ?’ ‘म अस्ति आएको’ मेरो जवाफ थियो ।
त्यहीबेला इन्दिराले किस्तीमा ल्याएको सर्बत बाँड्न थालिन् । उसले पहिले बुबालाई दिइन्, अनि भीमकाकालाई, त्यसपछि मलाई दिएर अन्त्यमा काफ्ले बाजेलाई दिइन र पुन भित्र गइन् ।
केहीबेर औपचारिक कुरा भएपछि हामी त्यहाँबाट निस्कियौं । त्यसबेला हाम्रो कञ्चनपुरमा आँपगाछीको बगैंचा थियो । म र भीमकाका त्यही बगैंचा हेर्न गयौं । एकछिनमा बुबा पनि आइपुग्नुभयो र मलाई बोलाएर सोध्नुभयो, ‘कस्तो लाग्यो केटी ? कुरा चलाइदिउँ ?’
मैले भनें, ‘केटी मेकअप नगरेकी सादा लाग्यो । लप्पन छप्पन नजानेकी । मलाई राम्रो लाग्यो बुबाले हेरेकी केटी । हुन्छ, कुरा चलाइदिनू ।’
यो सुनेर बुबाले मेरो काँधमा ढ्याप्प हानेर ‘स्याबास’ भन्नुभयो । अनि बुबा भीमकाका नजिक गएर भन्नुभयो ‘भीम, अब यिनीहरूको कुरा छिनिदिन्छु । जेठो छोरोको बिहे जेठमा हुँदैन । त्यसैले असारको लागि जुराउनु पर्ला ।’
भीम काकाले भने ‘दाजुले भनेको ठिक हो । जेठमा हुँदैन । असारमा चिना हेराएर पछि मिति तोकौंला । कसो बासुदेव ?’ मैले हाँसेर टाउको हल्लाइदिएँ । र हाम्रो बिहेको मिति टुङ्गो लाग्यो, २०३२ साल असार ५ गते बिहीबार ।
रेडियोमा दिनभर मेरै गीत बजेपछि
वैशाखमा कुरा छिनिएपछि म काठमाडौँ आएँ । साँझ बिहान गरेर १५ दिन जतिको स्तम्भ अनुसारको बाल कार्यक्रम रेकर्ड गरेर राखें । अनि मलाई अनायास एउटा लहड चल्यो, ‘राजा रानीको जन्मोत्सवमा वा कुनै विशेष समारोहमा उहाँहरूकै गीत बिहानदेखि बेलुकैसम्म रेडियो नेपालमा बज्छ । मेरो बिहेको दिन पनि मेरा गीतहरू किन नबजाउने ?’
र मैले रेडियोमा कार्यक्रम चलाउने सबै कार्यक्रम सञ्चालक साथीहरूलाई भने, ‘ल साथी हो । मेरो बिहे असार ५ मा हुने भयो । साथीले उपहारस्वरूप त्यो दिन मेरो गीतहरू बजाइदिनु ल ।’
बिहेको दिन
बिहानै पुरुषोत्तम सापकोटाले मेरा गीतहरू बजाए । दिउँसो विज्ञापन सेवामा मुक्तिनाथ शर्माले बजाए । फर्माइस कार्यक्रममा मेरै गीतहरू बजे । साँझ बाल कार्यक्रममा एकै कलाकारका गीतहरू भनेर मेरा बाल गीतहरू साथी पाण्डव सुनुवारले बजाए । त्यसबेला शुक्रबारको दिन बिहान ८:१५ देखि ८ :४५ सम्म सुनगाभा कार्यक्रम अन्तर्गत विभिन्न गीतहरू बजाइन्थ्यो ।
भोलिपल्ट ६ गते शुक्रबार पनि सुनगाभा कार्यक्रममा मेरै गीतहरू बजेछन् । मलाई यो कुरा एक दुई दिनपछि मात्र थाहा भयो । मैले एकचोटि चाहिँ आफ्ना साथीहरूलाई भनेको थिएँ, तर ती साथीहरूले ५ गते बिहानदेखि रातिसम्म र ६ गते पनि बासुदेव मुनालकै गीतहरू बजाएछन् । यो कुराले काठमाडौँमा ठूलो हल्ला भएछ । त्यो समयमा रेडियो नेपालमा एकै कलाकारको गीत बज्नु भनेको ठूलै कुरा थियो ।
सुहागरातको त्यो प्रेमिल साँझ
म त्यो बेला आफ्नो बिहेमै मस्त थिएँ । सुहागरातको साँझ मुनाल क्लबका साथीहरू, गोपाल न्यौपानेको घरको छतमाथि बसेर कुराकानी गरिरहेका थियौँ । त्यहीबेला एउटा च्यारिटी सो गर्ने सल्लाह भयो । त्यो शोमा दीप श्रेष्ठलाई धरानबाट, उदित नारायणलाई काठमाडौँबाट बोलाउने अनि हामी मुनाल क्लबका साथीहरू भएर कार्यक्रम गर्ने ।
यही सरसल्लाह गरेर राति ११ बजे म आफ्नो कोठातिर लागें । कोठाभित्र पसें । मुटु ढुकढुक गरिरहेको थियो । म इन्दिराअगाडि गएर ठिङ्ग उभिएँ । र, पहिलोचोटि इन्दिराको मुखबाट सुरिलो आवाज आयो, ‘ किन उभिनुभएको यहाँ बस्नुस् न’ । उनी उभिएर मलाई बस्न भनिन् । मैले पनि आफू बसेर इन्दिरालाई ‘बस न तिमी पनि’ भनेर खाटमा ठाउँ छाडिदिएँ । उनी बस्न असजिलो मानिरहेकी थिइन् मैले उनको हात समातेर बसाएँ । अनि एकछिनपछि बत्ती निभ्यो ।

पर्सिपल्ट विराटनगरको हिमालय टाकिज हलमा मुनाल क्लब र दीप श्रेष्ठ, उदित नारायण भएर सांस्कृतिक कार्यक्रम गरियो । जसमा दीप श्रेष्ठले ‘म पत्थरको देवता होइन…’, ‘साइली वारी चिया बारीमा…’ गाए । उदित नारायणले ‘मधेश के हो पहाड के हो…’ र मैले ‘एउटा बसन्त अन्त्य भए…’ र ‘ मलाई ल्याइदेउ एक कन्याकुमारी…’ गीत गाएँ ।
मुनालका बहिनीहरू किशोरी, आशा, अमिता र इन्दिराले नृत्य प्रस्तुत गरेका थिए । साथमा लोकमणिको एउटा रूपक, शिव दाहाल, रामेश्वर र मनिषको एकएकवटा गीत पनि भयो । त्यो कार्यक्रममा कङ्गो बङ्गो र ढोलक विजय सिंह मुनालले बजाएका थिए र हार्मोनियम आनन्द गिरीले बजाएका थिए । अकस्मात गरिएको सो कार्यक्रमले राम्रै तारिफ पायो ।
मेरो चलाखी, हाकिमलाई हैरानी
बिहे सकेर ५-६ दिनपछि काठमाडौं आएँ । रेडियो नेपालमा म फर्केर आएको थाहा पाउनासाथ मलाई डाइरेक्टर कृष्णप्रसाद खत्रीले आफ्नो कोठामा बोलाउनुभयो ।
म अलि असहज मान्दै गएँ । उहाँले मलाई भन्नुभयो ‘के हो मुनालजी, असार ५ र ६ गते त तपाईंकै मात्र गीतहरू बजेछन् रेडियोमा । के गरेको त्यस्तो ? मलाई त मन्त्रालयमा स्पष्टीकरण दिनुपर्यो नि ।’
यो सुनेर मैले भनें, ‘खै सर । मेरो त बिहे थियो । ५ र ६ गते त विराटनगरमा बेहुलो भएर व्यस्त थिएँ म त । मलाई माया गर्ने साथीहरूले बजाए होलान् । मलाई त थाहै थिएन यो कुरा ।’
मेरो कुरा सुनेर खत्री सर मुसुमुसु हाँस्नुभयो र भन्नुभयो, ‘तपाईँको चलाखीपन मैले थाहा पाइसकें । ठिकै छ केही छैन । तर तपाईँको बिहेबाट एउटा नयाँ नियम लागू हुने भयो रेडियो नेपालमा । मन्त्रालयबाट चिठ्ठी आएको छ अब आइन्दा कुनै पनि गायक गायिकाको दुईदेखि तीनवटा गीतहरू बजाउँदा कारण खुलाएर मात्र बजाउनू भन्ने ।’
त्यसपछि उहाँले सहज रूपमा यसो भन्नुभयो, ‘ल मुनाल जस्तो भएपनि आफ्नो बिहेमा एउटा इतिहास रचिएछ ।’

प्रतिक्रिया 4