Comments Add Comment

ओखलढुंगामा फेरि हेलिकोप्टर काण्डः भूकम्प पीडितको गाँस काटियो

पहिलो किस्ताको अनुदानमा दुर्गमका जनतामाथि अनेक सास्ती

ram-hari-khariwada१३ माघ, ओखलढुंगा । भूकम्प पीडितसँग पैसा असुलेर विवादित बनेपछि स्थगित भएको पहिलो किस्ताको अनुदान वितरण शिविर सञ्चालन गर्न पुनः भूकम्पपीडितसँग पैसा असुलिएको छ । पीडितको पैसामा नेता र हाकिमहरु हेलिकोप्टर चढेको समाचार सार्वजनिक भएपछि स्थगित शिविर शनिबारबाट फेरि शुरु भएको छ ।

भूकम्प पीडितको अनुदान वितरण शिविरसँगै सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा भूकम्प पीडितसँग निर्णय नै गरेर पाँच सयका दरले शिविर व्यवस्थापन खर्च असुलिएको हो । पलापु, फूलबारी र कालिका गाविसमा शिविर सञ्चालन गर्न एक हजारका दरले रकम असुलेर दलका, नेता, कार्यालय प्रमुख र सांसद हेलिकोप्टरमा सयर गरेका थिए ।

पीडितको पैसामा पार्टीका जिल्ला सभापति समेतलाई हेलिकोप्टरमा चढाएको चौतर्फी विरोध र आलोचना भएपछि काँग्रेस सांसद रामहरि खतिवडाले गाम्नाङटार र पोकलीको शिविरमा भने हेलिकोप्टरको इन्धन आफैले व्यहोरेका छन् । व्यवसायीसँग अनुरोध गरेर इन्धन हालेर कार्यालय प्रमुख र पैसा ओसार्न हेलिकोप्टर ल्याइएको खतिवडाले बताए ।

पीडितसँग पैसा नउठाउनकै लागि इन्धन आफुले सांसदको तलवभत्ताबाट दिएको खतिवडाको दाबी छ । तर, गाविसमा भने निर्णय नै गरेर पीडितसँग पैसा असुलिएको छ । रगनी गाविसमा प्रतिव्यक्ति पाँच सय उठाउने निर्णय नै गरेर रकम असुलिएको थियो ।

स्थानीय र भूकम्प पीडितहरुले भने पीडितसँग पैसा उठाउने र दलका नेताहरु जस लिन होडबाजी गरेर राहतम राजनीति गर्न थालेको आरोप लगाएका छन् । सांसदले हेलिकोप्टर चार्टर गर्ने पैसा कहाँबाट कमाए भन्ने प्रश्न पनि जनताले गर्न थालेका छन् ।

कतै असुलिँदै, कतै फिर्ता गर्दै

गाम्नाङटार गाविसमा यसअघि सञ्चालित शिविरमा पाँच सयका दरले रकम लिइएको छ । धेरैजसोले रकम दिएको स्थानीयले बताए । स्थानीय तथा नेकपा माओवादी -विप्लव) का जिल्ला सेक्रेटरी अमृत सागरले गाविसमा पाँच सय रकम असुलेको बताए । ‘नदिनेलाई अनुदान नै नपाउने भनेको समेत सुनियो’ उनले अनलाइन खबरसँग भने ।

पीडितसँग असुलेर मात्र नपुग्ने भएपछि गाम्नाङटारमा गाविसका योजनाबाट समेत रकम कटौती गर्ने सहमति गरेको खुलेको स्थानीयबासी एवं पत्रकार मनोज भट्टराईले बताए । ‘सांसदले हेलिकोप्टरमा अनुदान वितरण गरेको भन्ने तर गाविसको बजेट र पीडितबाट पैसा असुल्ने काम भइरहेको छ’ उनले भने ।

रगनीमा फिर्ता गर्न शुरु

रगनी गाविसमा भने पीडितसँग मंगलबार सम्म उठाइएको रकम फिर्ता दिन थालिएको छ । स्थानीय मेघराज घिमिरेका अनुसार पँच सयका दरले उठाइएको रकम अनलाइन खबरले सोधीखोजी थालेपछि रकम फिर्ता दिन थालिएको हो । ‘अब रकम फिर्ता दिन थालिएको रहेछ’ उनले भने ।

घिमिरेले सर्बदलीय निर्णय नै गरेर पाँच सयका दरले रकम असुल्ने निर्णय भएको बताए । अहिले पत्रकारले सोधखोज गर्न थालेपछि रकम फिर्ता गर्न थालिएको हो । गाविसमा शिविरसँगै एकिकृत घुम्ति शिविर संचालन गर्न लाग्ने खर्च स्थानीय तहमै जुटाउनु पर्ने भन्ने भएकाले रकम उठाइएको उनले जानकारी दिए ।

पोकली गाविसमा पनि शिविरको खर्च स्थानीय तहमै व्यवस्थापन गर्ने गरि शिविर चलेको सामाजिक परिचालक राजकुमार खड्काले बताए । गाउँ परिषद् हुन बाँकी रहेकाले खर्च व्यवस्थापन परिषद्बाट निर्णय गरेर हुन सक्ने उनको भनाइ छ ।

बाँकी तीन गाविसका गाविस सचिवहरु सन्तोष मिश्र र प्रदिप पौडेल भने रकम असुलिएको विषयमा प्रतिक्रिया लिन खोज्दा मोवाइल अफ गरेर बसेका छन् । रगनीमा अनुदान वितरण गर्नका लागि हेलिकोप्टरको व्यवस्था गर्न लिखु ४ विद्युत आयोजनासँग समन्वय भइरहेेको सांसद यज्ञराज सुनुवारले बताए ।

उनले भने- म कुनै पनि अनुदान वितरण शिविरमा हेलिकोप्टर चढेर गएको छैन । जहाँ जान्छु बसबाटै जाने गरेको छु । रकमको सुरक्षाका लागि हेलिकोप्टर चाहिएकाले आयोजनासँग कुरा भएको छ । तर म चाहिँ सोही क्षेत्रको सांसद भएकाले सडकमार्गबाटै जान्छु ।

सिडियो भन्छन्ः एक रुपैयाँ असुलेका छैनौं

पीडितसँग र योजना समेतको रकम कतौति गरेर शिविरमा फजुल खर्च गरेको विषयमा प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले भने एक रुपैयाँ पनि नउठाएको दाबी गरे । उनले एकीकृत घुम्ती शिविरमा खटिने कर्मचारीलाई सरकारले भ्रमण भत्ता दिने भएकाले स्थानीय तहमा पैसा उठाएका कुरा सत्य नभएको बताए । ‘कर्मचारीलाई बिल अनुसार हामी दिन्छौँ गाविसमा कसले कसरी खर्च गरे थाहा भएन’ उनले भने ।
यस अघि सञ्चालित शिविरमा पनि पीडितबाट एक हजारका दरले उठाएइको रकमको खर्च समेत कहा कत खर्च भयो सार्वजनिक गरिएको छैन । प्रजिअ दाहालले यसबारे जानकारी नहुने भनेर गैरजिम्मेवार जवाफ दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment