Comments Add Comment

महानगरले बनाउने भयो नेपालकै पहिलो स्टिलको ‘टि्वन टावर’

बागदरबार भवन भने संरक्षण गरिने


२३ माघ, काठमाडौं । नेपालमै पहिलोपटक स्टिल स्ट्रक्चरको ठूलो अत्याधुनिक भवन बन्ने भएको छ । काठमाडौं महानगरपालिकाले आफ्नै प्रयोजनका लागि बनाउन लागेको यो भवनलाई ‘काठमाडौं टि्वन टावर’ (जुम्ल्याह भवन) नाम दिइएको छ ।

झण्डै ५० करोड लागतमा बनाइने यो भवनका लागि ग्लोबल टेण्डर गर्ने अन्तिम तयारी गरेको छ । टेण्डरमा कम्तिमा ३ वटा ठूला यस्तै भवन बनाएका निर्माण कम्पनी मात्र सहभागी हुन सक्ने सर्त राखिनेछ ।

अहिलेसम्म नेपालमा स्टिल स्ट्रक्चरका ठूला भवन बनेका छैनन् । त्यसैले अनुभवी कम्पनीलाई मात्र यो भवन निर्माणको जिम्मेवारी दिन लागिएको महानगरपालिकाले जनाएको छ ।

दुईवटा ब्लकमा निर्माण हुने भएकाले यसलाई टि्वन टावर नाम दिइएको महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले अनलाइनखबरलाई बताए । यसमा एउटा ब्लक ५ र अर्को ब्लक ६ तलाको हुनेछ ।

यो भवनबाट महानगरपालिकाको विभागीय सेवाहरु प्रदान गरिनेछ । र, योजनाअनुसार काम भए दुई वर्षपछि नगरस्तरीय सेवा यो भवनबाट दिइने छ ।

अब बन्ने स्टिल स्ट्रक्चरको भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधी हुनेछ । जगमा भने क्रंक्रिट प्रयोग गरिनेछ । तर, माथि इँटा लगायत गह्रुंगो निर्माण सामाग्री यसमा प्रयोग हुने छैन ।

यसमा अधिकतम् फलाम, काठ र सिसा लगायतका हलुङ्गा सामग्रीको प्रयोग हुने महानगरका भौतिक पूर्वाधार विभाग प्रमुख उत्तरकुमार रेग्मीले जानकारी दिए । ‘यसमा उच्च गुणस्तरको फलाम प्रयोग हुनेछ । सबै निर्माण सामाग्री अन्तर्राष्ट्रिय गुणस्तरका हुनेछन्,’ रेग्मीले अनलाइनखबरसँग भने ।


यो भवन बनाउन पनि अरुजस्तो समय लाग्ने छैन । नयाँ टि्वन टावरको निर्माण सुरु भएको १८ महिनाभित्र सक्ने लक्ष्य महानगरपालिकाको छ ।

टेकुमा रहेको नगरप्रहरी बसेको ७ रोपनी जग्गामा टि्वन टावर बन्ने छ । भवनको वरिपरि बगैँचासहित ‘ग्रिनरी एरिया’ हुनेछ । भवनको बेसमेन्टसहित बाहिर पनि पार्किङ सुविधा हुनेछ । झण्डै ५३ हजार बर्गफीट क्षेत्रमा भवन बन्ने छ ।

बागदरबार नभत्काइने

बागदरबारस्थित महानगरपालिका अहिले कार्यालय भवन भूकम्पले क्षति भएको छ । सुरुमा यो भवन भत्काउने योजना बनाइएको थियो । तर, बागदरबार पुरातात्विक महत्वको सम्पदा भएको पुष्टि भएपछि यसलाई भत्काएर नयाँ अत्याधुनिक भवन निर्माण गर्ने योजना महानगरपालिकाले स्थगित गरेको छ ।

महानगरपालिकाले बागदरबारस्थित भवनलाई पूर्णरुपमा भत्काएर नयाँ भवन निर्माण गर्नको लागि नक्सा र डिजाइन गरिसकेको थियो । यो भवनमा महानगरपालिकाले थिएटर हल, टिभी स्टेशन र रेडियो स्टेशनसमेत राख्ने योजना बनाएको थियो ।

नियो क्लासिक डिजाइन अर्थात बाहिरी आवरण पुरानो भवनको जस्तै देखिने गरी बनाउने तयारी भएपनि पुरातत्व विभागले बागदरबार भत्काउनै नदिएको हो ।

‘बागदरबारमा अब भूकम्प प्रतिरोधी बनाउन रेट्रो फिट गरिनेछ,’ महानगर प्रमुख तामाङले भने, ‘पुरातत्व विभागले बागदरबारको संरक्षण गर्न भनेकाले अब त्यसैअनरुप काम हुनेछ । त्यसका लागि बजेट छुट्याएको छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment