+
+
Shares

नानीकी आमाको गलैंचा उद्योगः देखेरै सिकिन्, बच्चा बोकेरै बुन्दैछिन् !

सुरेश बिडारी सुरेश बिडारी
२०७५ चैत ९ गते ९:४७

९ चैत, वीरगञ्ज । नेपालमा एक समय राम्रोसँग फस्टाएका गलैंचा उद्योगहरु अचेल रुग्ण बनिसकेका छन् । बाराको निजगढमा डेरा बस्दै आएकी एक जना नानीकी आमाका लागि चाहिँ गलैंचा बुनाइ जीवीकोपार्जनको माध्यम बनेको छ ।

काखमा १५ महिनाकी छोरी लिएर तुलसा सुनारका कर्मठ हातहरु गलैंचा बुन्ने तानमा खेल्ने गरेका छन् ।

वरिपरि रंगीचंगी धागाका डल्लाहरु छन् । घरायसी काम सकेपछि फुर्सदको समयलाई तुलसाले यसरी नै सदुपयोग गरिरहेकी छन् ।

रौतहटको चन्द्रनिगाहपुर घर भए पनि तुलसाको परिवार बाराको निजगढ नगरपालिका –९ मा डेरा बस्दै आएको छ । समय मिल्दा तुलसा घरैमा जडान गरिएको फलामे तानमा गलैंचा बुन्छिन् ।

घरखर्चमा भरथेग

तुलसाका अनुसार हाते तानबाट एक महिनामा ६० सेन्टिमिटरको एउटा चकटी तयार हुन्छ । एक लटमा ४ पिस बनाउन मिल्छ । एउटाको दुई हजार रुपैयाँ आउँछ । तुलसालाई त्यसबाट मासिक ८ हजार रुपैयाँ आम्दानी हुन्छ ।

९० वाई ९० सेन्टिमिटरको गलैंचा बनाउन सक्दा एकै पिसको ७ हजार कमाइ हुने उनी बताउँछिन् ।

काखे छोरी भएका कारण उनले ठूलो गलैंचा बुन्ने जिम्मा लिन पाएकी छैनन् । ‘भर्खर भर्खर सुरुवात गरेकाले खासै कमाउन सकेकी छैन, विस्तारै कमाएर समान जोड्छु भन्ने आँट छ,’ तुलसा भन्छिन्, ‘एकजनाको आम्दानीले मात्रै हुँदैन भनेर काम शुरु गरेको हो । फाइदा त खासै छैन, नुन तेल खाने खर्च निस्केको छ । बसिरहनु भन्दा काम गर्न किन लजाउनु भन्ने मेरो सोच हो ।’

तुलसाका श्रीमान विक्रम सुनार मासिक १७ हजार जति कमाउँछन् । उनीहरुले बत्ती पानी सबै गरेर मासिक ३ हजार घरभाडा तिर्नुपर्छ । तुलसाको मिहेनतले सुनार परिवारको अर्थतन्त्रमा थोरै भए पनि योगदान पुर्‍याएको छ ।

‘गलैंचा बुन्ने काम खोज्न अन्त जानु पनि पर्दैन र काम नपाइएला भन्ने चिन्ता पनि छैन । सधैंका लागि गर्छु भन्दा पनि हुन्छ, आफ्नो मनको कुरा हो’ तुलसा अगाडि भन्छिन् ‘दाइलाई भनेर मेसिन मगाएपछि खाली हात बस्नुपरेको छैन । जति सकेको गर्दा हुन्छ, तर सानी छोरी भएका कारण धेरै गर्न सक्दिनँ ।’

पढ्ने चाहना हुँदाहुँदै शारीरिक अस्वस्थताका कारण निरन्तरता दिन नसकेको सम्झँदा तुलसाको मन अमिलो हुन्छ । साक्षर मात्रै भए पनि तुलसा गलैंचाका लागि आवश्यक ड्रोइङ आफैं बनाउँछिन् । कतिपय ड्रोइङ अरुले नै दिने गरेका छन् ।

हेर्दाहेर्दै सिकें

गलैंचा बुन्नका लागि तुलसाले कुनै औपचारिक तालिम लिएकी छैनन् । ‘सिकेको त होइन, ठूलो बुवाका छोरा दाइहरुले गलैंचाको काम गर्थे, बिरामी भएका कारण सानैदेखि बुवाले मलाई त्यही राखिदिनुभएको थियो ।’ उनी भन्छिन् ‘दाइ भाउजूहरुलाई खाना बनाएर सघाउँदै गर्दा गलैंचा बुनेको देखेकी थिएँ, हेर्दाहेर्दै सिकें ।’

पछि सीटीईभीटीको प्रमाणपत्रका लागि गलैंचा बुन्ने तालिम लिएकी उनले त्यो पूरा गर्न पाइनन् । बीचमा सिक्दासिक्दै सिकाउने संस्थाले राम्रोसँग पूरा नसिकाई हात झिकिदियो । सीटीईभीटीको प्रमाणपत्र लिने उनको सपना अधुरै छ । तर पनि उनले हिम्मत हारेकी छैनन् ।

उनी भन्छिन्– ‘त्यतिखेर प्रमाणपत्र बनाउनुपर्छ भनेर हतार हतारमा नागरिकता पनि बनाएका थियौं, तर त्यो रहर पूरा हुन पाएन । त्यस्तो अवसर आएको खण्डमा अवश्य त्यसको सदुपयोग गर्छु ।’

गलैंचा बुन्ने एडभान्स तालिम पाएमा अझै राम्रो गर्ने तुलसाको सोच छ ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?