Comments Add Comment

केरामा देखिएको रोगको पहिचान गर्न नमूना संकलन

९ चैत, चितवन । चितवनमा व्यवसायिक रूपमा लगाइएको केरा खेतीमा देखिएको नयाँ रोगको पहिचान गर्न नमूना संकलन गरिएको छ । यहाँका किसानले लगाएका केराको गुभो कुहिने, थाम फाट्ने, केराको बोट मर्ने र ओइलाउन थालेपछि केरामा लागेका रोग, किरा र माटोमा देखिएको समस्या पहिचान गर्नका लागि बोट र माटोको नमुना संकलन गरिएको हो । मालभोग केरामा बढी समस्या छ ।

विगत एक दुई बर्षदेखि केरामा यस्तो समस्या देखिएको चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले बताए । संघले पटकपटक केरामा देखिएको रोगको पहिचान गरिदिन विभिन्न सरकारी निकायमा अनुरोध गर्दै आएको थियो ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्क, राष्ट्रिय फलफुल विकास केन्द्र, बाली संरक्षण प्रयोगशाला, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केरा जोन चितवन र कृषि ज्ञान केन्द्र चितवनको संयुक्त टोलीले स्थलगत निरीक्षण गरी केरामा देखिएको रोगको नमुना संकलन गरेको हो ।

कालिका, रत्ननगर र खैरहनी नगरपालिकाका विभिन्न स्थानबाट टोलीले रोग, किरा र माटोको नमुना संकलन गरेको छ । माटो, किरा र बोटको १२/१२ वटा नमूना संकलन गरिएको छ ।  संकलन गरिएका नमूना नार्क अन्र्तगतको बाली रोग विज्ञान महाशाखाको प्रयोगशाला, बाली संरक्षण प्रयोगशाला र माटो परीक्षण प्रयोगशाला ललितपुर पठाईएको केरा जोन चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगानाले जानकारी दिए ।

उनका अनुसार केरामा देखिएको समस्याका पहिचान भएर दुई हप्तामा भित्रमा नै नतिजा आउने बताए । २२ वर्ष अघिदेखि जिल्लामा व्यावसायिक केरा खेति हँुदै आएको छ । २०५१ सालदेखि चितवनको जयमंगलामा अम्बिकाप्रसाद अधिकारीले व्यवासायिक केरा खेती सुरु गरेका थिए ।


अहिले जिल्लामा व्यावसायिक केरा किसानको संख्या ६३० को हाराहारीमा छ । यहाँ वाषिर्क एक अर्ब दश करोड रूपैयाँ बराबरको केरा उत्पादन हुँदै आएको छ । नेपालमा केराको मागको ४५ प्रतिशत आपूर्ति स्वदेशमा नै उत्पादन हुने केराले हुने यहाँका व्यवसायिक केरा किसानहरुको दावी छ । चितवनमा ३ हजार विगाहा क्षेत्रमा केराखेती हुँदै आएको छ ।

अगुवा किसानलाई वेवास्ता गरी नमूना संकलन

केरामा देखिएको रोगको पहिचान गर्न भन्र्दै गरिएको नमूना संकलनमा यहाँका अगुवा किसानहरुलाई वेवास्ता गरिएको भन्दैं उनीहरुले आपत्ती जनाएका छन् । चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले नमूना संकलनमा आफुहरुलाई वाइपास गरिएको बताए । संघकै माग बमोजिम नमूना संकलनका लागि आएपनि आफूहरुलाई जानकारी नदिनुको कारण थाहा नभएको उनको भनाइ छ ।

‘केही बर्षका लागि परियोजना चलाउँदैमा के के नै भएजस्तो भएको होला’ अध्यक्ष महतोले भने, ‘हामी त सधैं किसानसँगै हुन्छौं हामीले नै यहाँ व्यवसायिक केरा खेती गरेका हौं, दुई चार दिन देखाउन र सरकारी भत्ता खान हैन ।’

चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष यज्ञप्रसाद सुवेदीले पनि आफुलाई यस बारेमा जानकारी नभएको बताए । यता, केरा जोन चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगानाले बाजा बजाएर नमूना संकलन नगरिएको प्रतिक्रिया दिए । उनले भने, ‘सबैलाई खबर गर्नुपर्दछ भन्ने छैन, जहाँ-जहाँका किसानमा समस्या थियो, त्यहाँ गएर नमूना संकलन गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment