News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा ७७.४९ प्रतिशत मात्र उठाएको छ।
- भन्सार महसुलतर्फ कात्तिकसम्म लक्ष्यको ७६.९६ प्रतिशत र आन्तरिक राजस्व विभागले ८०.११ प्रतिशत मात्र राजस्व उठाउन सफल भएका छन्।
- आयकर संकलन लक्ष्यको ६५.५९ प्रतिशत मात्र पुगेको छ भने शिक्षा सेवा शुल्क र अन्य कर लक्ष्यभन्दा बढी १२५.१० प्रतिशत उठेको छ।
१ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र राजस्व उठेको छ ।
अर्थ मन्त्रालयका अनुसार यस अवधिमा सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर वास्तविक संकलन भने ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको ७७.४९ प्रतिशत मात्र हो । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।
कात्तिक महिनामा मात्र सरकारले १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । तर ७८ अर्ब ३३ करोड रुपैयाँ मात्र उठाउन सकेको छ । जुन ७५.४९ प्रतिशत हो ।
३० कात्तिकका दिन मात्र ३ अर्ब ६८ करोड रुपैयाँ राजस्व उठेको अर्थ मन्त्रालयको तथ्यांक छ । गत आवको तुलनामा यस वर्ष पहिलो चौमासिकमा राजस्व केही बढी उठेको छ ।
गत आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा कात्तिकसम्म ४ खर्ब ६ अर्बको लक्ष्य थियो । त्यसमध्ये संकलन ३ खर्ब २९ अर्ब २ करोड रुपैयाँ बराबर भएको थियो ।
भन्सार र आन्तरिक दुवै राजस्व लक्ष्य अनुसार उठेन
अर्थ मन्त्रालयका अनुसार पहिलो चौमासिकमा भन्सार र आन्तरिक राजस्व दुबै लक्ष्य अनुसार उठ्न नसकेको देखिन्छ । भन्सार महसुलतर्फ कात्तिकसम्म लक्ष्यको ७६.९६ प्रतिशत मात्र उठेको छ ।
यो अवधिमा सरकारले ९६ अर्ब ९२ करोड भन्सार महसुल संकलनको लक्ष्य राखेको थियो । संकलन भने ७४ अर्ब ५९ करोड रुपैयाँ मात्र भएको छ । मूल्य अभिवृद्धि करतर्फ १ खर्ब २५ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो । संकलन भने १ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको ८५.५० प्रतिशत प्रगति हो ।
अन्तःशुल्कतर्फ ६७ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य थियो । संकलन भने ६२ अर्ब भएको छ । जुन ९१.७० प्रतिशत उठेको छ ।
शिक्षा सेवा शुल्क र अन्य कर भने लक्ष्यको तुलनामा १२५.१० प्रतिशत उठेको छ । जसमा १ अर्ब ६१ करोड संकलन लक्ष्य राखिएकोमा २ अर्ब उठेको छ । आयकर भने लक्ष्यको ६५.५९ प्रतिशत मात्र उठेको छ । ९३ अर्ब २३ करोड आयकर संकलनको लक्ष्य राखिएकोमा ६१ अर्ब १५ करोड रुपैयाँ मात्र संकलन भएको देखिएको छ ।
विभागको प्रगति
कर उठाउने दुई विभागमध्ये दुवै विभाग लक्ष्य अनुसार उठाउन असफल देखिएका छन् । भन्सार विभागले लक्ष्यको ७९.४५ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ ।
कात्तिकसम्म भन्सार विभागले १ खर्ब ९४ अर्ब २७ करोड लक्ष्य राखेकोमा १ खर्ब ५४ अर्ब ३५ करोड रुपैयाँ मात्र उठेको छ ।
आन्तरिक राजस्व विभागले लक्ष्यको ८०.११ प्रतिशत मात्र उठेको छ । यस अवधिमा आन्तरिक राजस्व विभागले १ खर्ब ९० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा संकलन १ खर्ब ५२ अर्ब रुपैयाँ मात्र उठेको छ ।
प्रतिक्रिया 4