Comments Add Comment

कैयौं दिनको भोको पेटमा क्रान्तिकारी गीत

‘लहरा पहरा छहराको देश’, ‘रातो भाले क्वायँ क्वायँ’, ‘ए है है आज भेंडाबाख्रा कता लाने’ जस्ता गीतहरु अझै पनि धेरैको स्मृतिमा होला । यी गीत ०२० को दशकमा नेपाली संगीतमा उधुम मच्चाएको सांगीतक समूह ‘लेकाली’ परिवारका हुन् ।

यसपालि माघमा श्रीपञ्चमीको दिन ‘लेकाली’ स्थापनाको ५० वर्ष पुग्यो । अनौपचारिक रुपमा ०२२ सालदेखि समूहमा गाउने-बजाउने क्रम सुरु भए पनि ०२४ सालदेखि लेकालीले औपचारिक यात्रा थालेको थियो ।

लेकालीमा हिरण्य भोजपुरे, गणेश रसिक, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, तीर्थ शेरचन, न्हुच्छेबहादुर डंगोल, शशि भण्डारी लगायत आबद्ध थिए ।

यो समूहले झन्डै दुई सय गीतहरु नेपाली संगीतलाई दियो ।

समूहका सदस्यमध्ये खासगरी गणेश रसिक एकल रुपमा गीत-संगीतमै जुटिरहेका छन् । हाल उनी संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सदस्य-सचिव समेत छन् ।

वर्षहरुलाई नेपाल र अमेरिकाको बसाइमा बाँड्दै आएका हिरण्य र उर्मिलाको जोडी भने बेलामौकामा जुट्छन् । अमेरिकामा बस्दा नेपालीहरुको हुटहुटीले सांगीतिक कार्यक्रम गरे पनि नेपालमा धेरै वर्ष भयो, सक्रिय छैनन् । अरु सदस्यहरु फरक क्षेत्रमा व्यस्त छन् भने दुई जना बितिसके ।

भोजपुरे दम्पतीले ललितपुरको सुनाकोठीस्थित निवासमा लेकालीको यात्रालाई सम्भिmए ।

लेकालीको जग

हिरण्य त्यसबेला केटौले उमेरमा असन नजिकैको त्यौड भन्ने ठाउँमा उर्मिलाको घरमा डेरा लिएर बस्थे । दुवै परिवारबीच आपसी चिनजान भएकोले हिरण्यले त्यहाँ आश्रय पाएका थिए ।

त्यहाँ उही उमेरका ६/७ जना ठिटा-ठिटी जम्मा हुन्थे र फिल्मका गीतहरू गाउँथे । त्यसमा मुख्य थिए, हिरण्य, उर्मिला र उनकी बहिनी निर्मला । तीनै जना गीत गाउन भनेपछि हुरुक्कै । थपडीको तालमा रिहर्सल गर्थे ।

त्यसरी रहरमै गाउने क्रममा उर्मिलाको हुटहुटीमा हिरण्यले गिटारको केही कर्ड सिके । त्यसपछि शब्द र लयमा अब संगीत पनि थपियो ।

त्यसबेला निर्मलाले त रेडियो नेपालमा गाउन थालिसकेकी थिइन् । आफू रेडियोमा गए घरमा गाली खानुपर्ला भन्ने डरले उर्मिलाले बहिनीलाई पठाएकी थिइन् ।

अब हिरण्य र उर्मिला पनि रेडियोमा गीत गाउन कस्सिए । तर, सोचे जस्तो भएन । ‘०२२ सालमा रेडियोमा गीत गाउने कन्ट्राक्ट लिन जाँदा हामीले नातिकाजी, शिवशंकर दाइहरुसँग समेत झगडा गर्नुपर्‍यो’, उर्मिलाले सम्झिइन्, ‘उहाँ बाहिरको भएकोले कसैले चिनेकै थिएन, म काठमाडौंको भए पनि गाउँछ भनेर विश्वासै गरेनन् ।’

उनीहरुको सांगीतिक भाग्य त्यही वर्ष खुल्नु नै थियो । रेडियो नेपालले आधुनिक गीत प्रतियोगिता आयोजना गर्‍यो । नयाँ गायक-गायिका छिर्ने एउटै माध्यम त्यही थियो । प्रतियोगितामा उर्मिला र निर्मलाले हिरण्यको शब्द र शुक्रराज शाक्य -हेटौंडा) को संगीत रहेको ‘खोलाको तीर नाचेर हिँड्छ त्यो सानो जुरेली’ भन्ने गीत गाए ।

लोकलयमा रहेको त्यो गीत सुनेपछि त नातिकाजी समेत दंग परे । गीत गाउने कन्ट्राक्ट धमाधम दिन थाले ।

त्यही प्रतियोगितामा भाग लिन इलामबाट गणेश रसिक पनि आएका रहेछन् । हिरण्य-उर्मिलाको गीत सुनेपछि उनी पनि प्रभावित भएर कुरा गर्न आए । रसिकले त्यतिबेलाको अर्को चर्चित समूह ‘राल्फा’ भर्खरै छाडेका थिए ।

रेडियोमा रसिकले पनि गाउने कन्ट्राक्ट पाएकोले उनीहरुबीच भेटघाट नियमित हुन थाल्यो । दिनदिनै भेटघाट र संगीत कर्मबारे छलफल हुन थालेपछि एउटा समूह बनाएर अघि बढ्ने सल्लाह भयो । अरु सदस्य पनि जुट्दै गए ।

गीत त धेरै मान्छेले गाइराखेका छन्, तर समूह बनाएर नयाँ के दिने भन्ने भयो । ‘त्यसबेला हामी अलिक पढेलेखेका भएकोले केही सन्देश दिन सक्ने उद्देश्यमूलक समूह बनाऔं भनेर लाग्यौं’, उर्मिलाले भनिन् ।

समूहको नाम राख्दा रमाइलो

ग्रुप त बनाउने तर नाम के राख्ने भन्ने कुरा भयो । समूहमा छलफल हुँदा सुरुमा नाम आयो, ‘ट्याम्कुलो’ राखौं ।

उनीहरुले स्थानीयपन बोकेका ठेट नेपाली गीत गाउने उद्देश्य अनुसार नाम पनि ठेट पाराकै छानेका थिए ।

‘हामीले ट्याम्के नाम राखौं भन्दा तीर्थ शेरचनले ट्याम्कुलो राखौं भनेर ठट्टा गरेका थिए’, हिरण्यले भने, ‘रसिक र मलाई त त्यो पचिहाल्यो, अरुलाई पचेन ।’

हुन पनि काठमाडौंका रैथाने रहेका उर्मिला र अरुहरूलाई भोजपुरको स्थानीयतासँग गाँसिएको शब्दमा मोह हुने कुरै थिएन । सबैलाई मिल्ने गरी नाम राख्नुपर्छ भनेर सबै जना दुई/तीन दिन समूहको न्वारानमा खुब जुटे । त्यस क्रममा अनेक विचित्र नाम फुराएर खुब हँसिमजाक चल्यो ।

अन्तिममा ‘लेकाली’ शब्दमा सबैको चित्त बुझ्यो ।

हिरण्यले भने, ‘सबैजसो लेकबाट झरेको भन्ने हिसाबले र हाम्रो संगीत पनि लेकको स्वाद झल्काउने लोकलयमा आधारित भएकोले त्यो नाम जुराइयो ।’

पढेलेखेको र स्तर भएका मान्छेले ‘गाइनेको क्षेत्र’ मानिने संगीतमा लाग्नु हुन्न भनेर हेलाको दृष्टिले हेरिने बेला यो समूह झन् लोकगीतमै केन्दि्रत भएको थियो ।

जुन बेला लोकगीत के हो भन्ने समेत धेरैलाई थाहा थिएन । लोकगीत गाउने भनेर चिनिएका धर्मराजा थापा पनि कोठामा सिर्जित गीत गाउँथे भने कुमार बस्नेतले पनि मिश्रति खालका गीतबाट सुरु गरेका थिए ।

हिरण्यका अनुसार, त्यसबेला विदेशी संगीतले नेपाली गीतलाई पेलाइमा पारिरहँदा नेपाली गीत पनि कर्णपि्रय हुन सक्छन् है भन्ने उद्देश्यले लेकालीले त्यसैका लागि कस्सियो ।

लेकाली गीतका तीन स्वाद

उनीहरुले नेपालीपन बोकेका गीतहरुलाई प्रवर्द्धन गर्ने उद्देश्य राखे पनि दायरा फराकिलो बनाए । ‘नेपाली गीतलाई आफ्नै पनमा रम्न दिन लोकगीत मात्र गाएर हुँदैन भनेर हामीले तीन किसिमका गीत गायौं’, हिरण्यले व्याख्या गरे ।

एउटा, विभिन्न गाउँठाउँबाट संकलन गरिएका विशुद्ध लोकगीत ।

दोस्रो, सुन्दा लोकगीत नै लाग्ने तर सिर्जित गीत । जसलाई लेकालीले आधुनिक गीत भन्यो । त्यस्ता गीतहरुमा ‘रातो भाले क्वाएँ क्वाएँ’, ‘ए है है आज भेडाबाख्रा कता लाने’, ‘रनवन घुमी काफल पाक्यो’, ‘खोलाको तीर’ जस्ता गीत यो कोटिमा पर्छन् ।

तेस्रो, अन्तर्राष्ट्रिय प्रभावका गीतहरु । यस अन्तर्गत ‘लहरा पहरा छहराको गीत’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘बस बस रे बसुन्धरा बैनी’ जस्ता गीतहरु पर्छन् ।

लोकगीत र सिर्जित गीतसँगै विशेष अर्थ बोकेका तेस्रो प्रकारका गीत पनि लेकालीले प्रशस्त गायो । तर, रेडियो नेपाललाई नपच्ने गीतहरु भएकोले त्यतिबेला रेकर्ड नभएका गीतहरु अझैसम्म कुमारी नै छन् । जुन गीतहरु उनीहरु स्टेजमा भने गाउँथे ।

भोकले रन्थनिएर स्टेजमा कुर्लिँदा

लेकालीले समूहकै नाममा ०२४ सालमा पहिलो कार्यक्रम गरेको थियो ।

त्यसपछि विशेष छाप छोड्ने तीन वटा स्टेज कार्यक्रम गर्‍यो । ०२५ सालमा ‘छहराको गीत’, ०२७ सालमा ‘उपत्यका’ र ०२८ सालमा ‘पिँजडा’ ।

‘पिँजडा’ मा राजनीतिक चेतका गीतहरु प्रस्तुत गरिएका थिए ।

‘हरहर महादेव पानी दे
यतिले पुगेन अलि थपि दे
खरानीको डल्लो कति साह्रो
महादेवलाई पानी दिन कति गाह्रो’

पञ्चायतको त्यो बेलामा यस्तो गीत गाउँदा जनताले राजासँग अधिकार मागेको क्रान्तिकारी गीतको रुपमा बुझियो ।

‘उपत्यका’ दुई दिनको कार्यक्रम थियो । त्यसमा पनि प्रतीकात्मक गीतहरू प्रस्तुत गरिएको थियो ।

पहिलो दिनको कार्यक्रमको भोलिपल्ट सीआईडीहरु छ्याप्छ्याप्ती आए । त्यतिबेला बागमती अञ्चलका अञ्चलाधीश मकरबहादुर बान्तवा थिए । उनी थिए हिरण्यको गृहजिल्ला भोजपुरकै चिनाजाना । यसका कारण त्यतिबेला सरकारी प्रभावबाट बच्न सकेको हो भन्ने लाग्छ हिरण्यलाई ।

कार्यक्रममा हरेक गीत गाउनु अगाडि गणेश रसिकले भूमिका गाँस्दै जोशिला पंक्तिहरु बोल्थे । कसले के बोल्ने भनेर उनीहरु पहिल्यै कण्ठस्थ पार्ने गर्थे ।

‘हरहर महादेव पानी दे’ गीत प्रस्तुत गर्नु अगाडि रसिक एक चरण भूमिकामा कड्किए-

‘सुनको गजुरमुनि राज गरेर बस्ने ए महादेव, तिमी मात्र सुनको गजुरमुनि बसेर पुग्दैन । हामी भोका छौं, हामी नाङ्गा छौं, हामीलाई पनि बास चाहिन्छ, हामीलाई पनि एक गाँस भात खाने अधिकार छ ।’

त्यस्तो जोस्याउने कुराले मान्छेहरुको आङ नै जुरुक्क पाथ्र्यो । अझ त्यो गीत नै गाउँदा त मान्छेहरु ज्वालासरि दन्किए हिरण्य सम्झिन्छन्, ‘त्यसबेला त म बेरोजगार थिएँ । युवा आक्रोश पोख्दै यो गीत लेखेको थिएँ ।’

बेरोजगारीको समस्या कस्तो भने, दिउँसो खाजा खान पनि अर्काको मुख ताक्नुपर्ने अवस्था थियो । उनीहरु गीतको रिहर्सल गर्थे, थाक्थे, भोकाउँथे । तर, भोक लागेको बेला उर्मिलाको मुख ताक्थे । किनभने समूहका सदस्यहरुमध्ये उनी मात्र जागिरे थिइन्, त्यो पनि सरकारी ।

उनैले घरमा बेलाबेला लेकालीका सबै जनालाई खाजाको बन्दोबस्त गर्थिन् । ‘बेलुका मासुसँग च्यूरा खान पाउँदा स्वर्गमा पुगे जस्तो लाग्थ्यो’, हिरण्यले मीठो अतीतको सयर गरे ।

अभावको मामिलामा सबभन्दा पीडित चाहिँ गणेश रसिक थिए । हिरण्यका अनुसार रसिक सारै रिसाहा थिए त्यसबेला । जे कुरामा पनि रिसाइहाल्ने । ‘कारण के रैछ भनेर पछि बुझ्दा त बिचरा दुई-तीन दिनदेखि भोकै हुँदो रैछ । भोकै भएपछि रिस उठ्ने भइहाल्यो । भोको पेटमा गीत पनि त्यस्तै क्रान्तिकारी आइहाल्ने’, हिरण्यले भने ।

हिरण्यले रसिकको रमाइलो बयान पनि गरे, ‘उनी त्यसबेला एकदम दुब्ला थिए । साइडबाट हेर्दा मेरो नाक मात्र देखिन्थ्यो रे । रसिकलाई चाहिँ साइडबाट हेर्दा नाक समेत नदेखिने, कान मात्र देखिने रे, हात्तीको जस्तो !’

लेकाली सम्झनामा मात्र

संगीतको ध्याउन्नमा लाग्दा हिरण्यलाई अरु कुराको वास्तै थिएन । उर्मिलाको संगतमा हिरण्यले पढाइको डिग्री मात्र उकासेनन्, सरकारी जागिर समेत खाए । यो जोडीले ०२६ सालमा बिहे गर्‍यो । दुई छोरा, एक छोरी छन् र अब त नाति-नातिनाको पनि लहरा फैलिसक्यो ।

परिवारमा बाँधिँदै र साथीहरुसँग सामूहिक प्रयत्न गर्दै ०२८ सालसम्म लेकालीले संगीतमा राम्रो चलखेल गर्‍यो । त्यसपछि भने जीविका धान्ने क्रममा कोही जागिर खाने, कोही वैकल्पिक पेशामा लाग्ने क्रममा समूह भताभुंग भयो । सदस्यमध्ये धेरै जना संगीतमै रहेनन् । रसिक र भोजपुरे दम्पतीमा चाहिँ संगीतमा केही गर्ने भोक छँदै थियो । तर, त्यो भोक आ-आफ्नै भान्छा बनाएर पूरा गर्ने भए । अर्थात् उनीहरु व्यक्तिगत रुपमा छुट्टाछुट्टै गाउन थाले ।

हिरण्यले पाण्डव सुनुवारसँग मिलेर ‘बाइरोडको बाटोमा धूलो उडाउँदै’, ‘खोला बाङ्गो हुन्छ’, ‘शहर जाउँला नि धन कमाई ल्याउँला’ जस्ता गीत गाए । रसिक भने राष्ट्रिय गीततिर लागे । उनी अझै पनि सक्रिय छन् ।

भोजपुरे दम्पती चाहिँ सोच्छन्, ‘अब सक्रिय हुन सकिएला जस्तो लाग्दैन ।’

हुन पनि हिरण्य ७४ वर्ष लागिसकेका छन् । यो उमेरमा आलस्यभन्दा उमेरको थकानले गाँजेको छ ।

जुनसुकै कुराले गाँजे पनि लेकालीका ती झिल्के दिनहरु र लोकलयको अलग्गै चिनारी झल्काउने गीतहरु भने सम्झनामा अटेसमटेस छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment