Comments Add Comment

नवलपरासीको धौवादी फलाम खानीमा ड्रिलिङ, परिमाण पत्ता लाग्ने

१६ फागुन, काठमाडौं । नवलपरासीको धौवादीमा फेला परेको फलाम खानीको उत्खननका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । गतवर्ष नवलपरासीको धौवादीको १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परेको थियो ।

यो खानीबाट कति परिमाणमा फलाम उत्खनन् गर्न सकिन्छ भन्नेबारे थप अध्ययन सुरु भएको हो । सरकारले धौवादी फलाम खानीका बारेमा दोस्रो चरणमा अध्ययन थालेको खानी तथा भूगर्भ विभागमा महानिर्देशक रामप्रसाद घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

अहिले विभागको विशेषज्ञ र प्राविधिकसहितको टोली धौवादीमा ब्यस्त छ । जसले धौवादीमा ड्रिलिङ गरेर फलामको उत्खनन् सम्भाव्यता र त्यसको परिमाण एकीन गर्ने काम गर्दैछ ।

पहिलो चरणमा गरिएको अध्ययनमा त्यहाँ दुई करोड टनको फलाम खानी रहेको पुष्टि भइसकेको छ । नवलपरासीको पूर्वमा धौवादी र पश्चिममा देउराली गाविसको नाम्जाकोट हुँदै दक्षिणमा रुम्से र उत्तरमा नरमको ल्हापेसम्म फलाम खानी भेटिएको छ ।

वि.सं. ०६८ सालामा कोइलाखानीका लागि आएको खानी तथा भूगर्भ विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी पत्ता लगाएको थियो । त्यसको चार वर्षपछि मात्रै सरकारले यसको औपचारिक अध्ययन अघि बढाएको थियो ।

यो पनि पढ्नुस्ः नवलपरासीमा पत्ता लाग्यो सेनवंशीय फलाम खानी ! (तस्वीरसहित)

गतवर्षको अध्ययनमा त्यहाँको कच्चा पदार्थमा ५८ प्रतिशतसम्म फलाम निकाल्ने तत्व भेटिएको थियो । फलाम खानीका लागि ६० प्रतिशत हेमटाइडवेर उत्तम र ३० देखि ६० प्रतिशत मुनि मध्यमखालको मानिन्छ ।

धौवादीको खानीमा च्यानल ग्याप कम रहेको भित्रैसम्म भित्रैसम्म फलाम भेटिएको पुष्टी गतवर्ष नै भएको थियो ।

अहिलेको अध्ययनले भने त्यहाँबाट कतिवर्षसम्म कुन परिमाणमा फलाम उत्खनन् हुनसक्छ भन्ने पत्ता लाग्ने महानिर्देशक घिमिरेले बताए । गतवर्ष धौवादी ३ पोखरीको क्षेत्रलाई केन्ऽविन्दु बनाएर अध्ययन गरिएको थियो ।

उक्त क्षेत्र पूर्व-पश्चिम राजमार्गको कावासोती नगरपालिका-१६, डण्डा र मध्यविन्दु नगरपालिका चोरमाराबाट १३ किलोमिटर उत्तरतर्फ पर्छ ।
यो खानीको ६ वटा ब्लकमा २ सयवटा सेक्सन विभाजन गरेर अध्ययन भएको छ ।

यसपटकको अध्ययनमा ड्रिलिङ गरेर निकालिएको मेटल परीक्षणका लागि भारत र चीन अथवा तेस्रो मुलुकमा पठाइनेछ ।

हाल दुई किलोमिटर क्षेत्रमा मात्रै अध्ययन गरिए पनि बाँकी ८ किलोमिटर क्षेत्रमा भने अध्ययन हुन बाँकी छ ।

यो खानी क्षेत्रमा परापूर्वकालमा परम्परागत शैलीमा फलाम खानीको उत्खनन् गरेका ३ वटा सुरुङ छन् । स्थानीयले खानी उत्खनन तत्काल थाल्न माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment