Comments Add Comment

विमलेन्द्रलाई केपी ओलीको चेतावनीः यस्ता गृहमन्त्री धेरै देखेका छौं (भिडियोसहित)

एमालेले संविधान संशोधन प्रस्ताव पारित हुने नदिने

१८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री विमलेन्द्र निधीलाई आफूले सम्झाउन चाहेको बताएका छन् ।

एमालेले फागुन २१ देखि आयोजना गर्न लागेको मेचीकाली अभियानबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने-‘अलिकति मैले हाम्रो देशका माननीय उपप्रधानमन्त्री र गृहमन्त्रीज्युलाई सम्झाउनुपर्छ जस्तो लाग्या छ । म उहाँलाई सम्झाउन चाहन्छु ।’

एमाले अध्यक्ष ओलीले गृहमन्त्री निधीलाई चेतावनीको भाषामा भने-‘गृहमन्त्री भनेको देशको हुन्छ, पार्टी विशेषको हुँदैन, भूगोल विशेषको हुँदैन । म उहाँलाई सम्झाउन चाहन्छु ।’

ओलीले अगाडि थपे- ‘नेकपा एमाले उहाँलाई मन पर्छ कि पर्दैन बेग्लै कुरा हो । यस देशको, जनताले छानेर पठाएको, प्रतिपक्षको संवैधानिक हैसियत भएको र वहाँभन्दा अगाडि सरकारको नेतृत्व गरेको पार्टी हो । यसको संवैधानिक हैसियत छ । यो भवितव्यमा आइपरेको होइन । यो वहाँले सम्भिmनु राम्रो हुन्छ । म वहाँलाई सम्झाउन चाहन्छु, उहाँको कर्तव्य शान्ति सुव्यवस्था कायम गर्ने हो , उत्तेजना फैलाउने होइन । गृहमन्त्रीले तदनुसार नै व्यवहार गर्नुपर्छ ।’

गृहमन्त्री निधीले एमालेलाई लखेट्नुपर्छ भनेर उत्तेजक अभिव्यक्ति दिएको आरोप एमालेले लगाउँदै आएको छ । यसबारे एमालेले मंगलबार आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निधीको अभिव्यक्तिप्रति विरोध र आपत्ति जनाइसकेको ओलीले बताए ।

पूर्वगृहमन्त्रीसमेत भइसकेका एमाले अध्यक्ष ओलीले सरकारलाई भने- ‘कुनै अपि्रय घटना घटेमा त्यो उक्साहटका निम्ति गृहमन्त्री जवाफदेही हुनुपर्ने भन्ने कुरा गरेका छौं । यस कुरालाई माननीय गृहमन्त्रीजी, लाइट्ली नलिनोस् । वहाँमात्रै होइन, वहाँभन्दा धेरै अगाडिका गृहमन्त्रीहरु हामीले देख्या छौं । हेक्का रहोस् ।’

एमालेले आयोजना गरेको मेची काली अभियान कसैका विरुद्ध लक्षित नरहेको अध्यक्ष ओलीले बताए । उनले भने-‘हामी कुनै कार्यक्रम अवरोध गर्दैनौं, हाम्रो त्यस्तो नीति छैन । कसैका सभा, कसैका जुलुस, कसैका र्‍याली, कसैका कार्यक्रम, कुनै हामी काहीँ पनि बिथोल्दैनौं । हामी अवरोध खडा गर्दैनौं । अवरोध खडा गर्नु, बिथोल्नु असंवैधानिक, गैरकानूनी उद्दण्ड व्यवहार हो, जसलाई एमाले स्वीकार्दैन । त्यो फेरि हामीले सम्झाउनुपर्ने हुन्छ ।’

संविधान संशोधन पारित हुँदैन

एमाले अध्यक्ष ओलीले संसदमा संविधान संशोधन दर्ता गर्न र सैद्धान्तिक छलफल गर्न केही लचकता अपनाइए पनि त्यसलाई पारित हुन नदिने अडान दोहोर्‍याए ।

संविधानमा अहिलेको स्वरुपमा २ नम्बर प्रदेश बनाउँदा गल्ती भएको ओलीले बताए । त्यसैगरी विगतमा कांग्रेसको कुरा मानेर पाँच नम्बर प्रदेशमा पनि गल्ती गरेको बताउँदै उनले भने- अब हामीबाट यस्तो गल्ती हुँदैन ।

कार्यक्रममा सहभागी एमाले महासचिव ईश्वर पोखरेलले मेचाीकाली अभियान कसैको विरुद्धमा नभएर मधेस र पहाडलाई जोड्नका लागि आयोजना गरिएको बताए ।

सो अभियानबारे बोल्दै पार्टी अध्यक्ष ओलीले पनि यो अभियान एमालेको अगुवाइमा भएता पनि राष्ट्रिय अभियान भएको बताए ।

पार्टी सचिव योगेश भट्टराईले फागुन २३ गते मेची पुलबाट सुरु हुने अभियान १५ दिनपछि महेन्द्रनगर पुगेर समापन हुने जानकारी दिए । कार्यक्रममा पार्टीका नेता कार्यकर्ताका साथै स्वतन्त्र रुपमा कलाकारहरु पनि सहभागी हुने भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यो पनि पढ्नुहोस्

ओलीले भने- वक्तृत्वमा प्रथम हुनुछैन, चुनावमै भेटौंला (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment