Comments Add Comment

माओवादीले बनायो स्थानीय चुनावको उम्मेदवार छनौट कार्यविधि

देव गुरुङको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन

२५ फागुन, काठमाडौं । माओवादी केन्द्रले स्थानीय तहका लागि उम्मेदवार छनौट गर्ने कार्यविधि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको कार्यविधिलाई नै माओवादी केन्द्रले स्वीकृत गरी सार्वजनिक गरिएको हो ।

माओवादी केन्द्रले कार्यविधि अनुसारको निर्वाचन परिचालन समितिसमेत गठन गरेको छ । माओवादी केन्द्रले नेता देव गुरुङको नेतृत्वमा १३ सदस्यीय आन्तरिक कमिटी गठन गरेको छ । समितिमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, गोपाल किराँती, पम्फा भुसाल, लीलामणि पोखरेल, मणि थापा, शक्ति बस्नेत, विश्वभक्त दुलाल लगायत नेता छन् ।

उक्त समितिले निर्वाचन परिचालन कार्यविधी तयार गर्ने, निर्वाचन रणनीति तयार गर्ने र निर्वाचन प्रचार-प्रसारको व्यवस्था गर्ने लगायतको कामहरु गर्ने नेता मणि थापाले जानकारी दिएका छन् ।

तीन तहको उम्मेदवार छनौट विधि

उम्मेदवार छनौट गर्दा एक पदमा लागि तीन जनाको नाम आफूभन्दा माथिल्लो कमिटीमा प्रस्ताव गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । उम्मेदवार छनौट गर्दा हरेक एक पद बराबर तीनजना वैकल्पीक उम्मेदवार प्रस्ताव गर्नुपर्नेछ । जस्तै गाउँपालिका प्रमुखका लागि ३ जना, उपप्रमुखका लागि ३ जना, सदस्यका लागि तीन जना । त्यसरी आएका नामका आधारमा त्यसभन्दा माथिल्लो कमिटीले एक कुशल उम्मेदवार छनौट गरी आफूभन्दा एकतह माथिल्लो कमिटीबाट स्वीकृत गराउनु पर्नेछ । त्यसपछि मात्र स्थानीय तहको आधिकारिक उम्मेदवार छनौट हुने माओवादी केन्द्रको कार्यविधिमा उल्लेख छ ।

वडा प्रमुख वा सदस्यको उम्मेदवार छनौट विधि

स्थानीय तहको चुनावमा गाउँपालिका/नगरपालिकाको वडा प्रमुख/सदस्यका लागि टिकट लिन वडा पार्टी कमिटीले एक पद बराबर तीन जनाको नाम गाउँ पार्टी कमिटीमा सिफारिस गर्नेछ । र गाउँ पार्टी कमिटीले उक्त नामावलीमध्येबाट एक जना उम्मेदवार अनुमोदन गरी जिल्ला कमिटीको स्वीकृत लिनुपर्नेछ । त्यसपछि मात्र वडाले उम्मेदवार पाउनेछ ।

गाउँ/नगरपालिका प्रमुख वा सदस्यहरुका लागि

माओवादी केन्द्रको तर्फबाट गाउँपालिका वा नगरपालिका प्रमुख/सदस्य हुन प्रदेश कमिटीको अनिवार्य स्वीकृति लिनुपर्नेछ । गाउँपालिका वा नगरपालिका पार्टी कमिटीले एक पद बराबर तीनजना उम्मेदवारको नाम जिल्ला पार्टी कमिटीमा सिफारिस गर्नेछ । जिल्लाले त्यसमध्ये एकजना योग्य उम्मेदवार अनुमोदन गरी उक्त उम्मेदवार छनौटको आधार सहित स्वीकृतिका लागि प्रदेश कमिटीमा पठाउनु पर्नेछ । प्रदेश कमिटीले प्रस्तावित उम्मेदवारको नाम स्वीकृत गरेमा मात्र उक्त उम्मेदवारले गाउँपालिका/नगरपालिकाको उम्मेदवारको रुपमा स्थानीय चुनाव लड्न पाउने छ ।

यस्तै उपमहानगरपालिकाको मेयरका लागि पनि प्रदेश कमिटीको स्वीकृति चाहिने छ । जिल्ला कमिटीले अनुमोदन गरेपछि प्रदेश कमिटीले त्यसको आधार हेरेर मात्र उम्मेदवार बनाउन सक्नेगरी माओवादी केन्द्रले कार्यविधि बनाएको छ ।

महानगरपालिकाको मेयर बन्न पार्टी केन्द्रको स्वीकृत

माओवादी केन्द्रले महानगरपालिकाको मेयरको उम्मेदवार तोक्ने जिम्मा भने केन्द्रीय समितिलाई दिएको छ । महानगरपालिकाको उम्मेदवार बन्नका लागि जिल्ला कमिटीले सिफारिस गरेर प्रदेश कमिटीले अनुमोदन गर्नुपर्नेछ । त्यस्तो व्यक्तिलाई पार्टी केन्द्रले अध्ययन गरी स्वीकृत गरेपछि मात्र महानगरपालिकाको उम्मेदवार बन्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment