Comments Add Comment

साँइलीः गीतको लोकप्रियतालाई फिल्ममा क्यास गर्ने जुक्ति

फिल्म समीक्षा

हेमन्त रानाले सुरिलो भाकामा गाएको ‘चालिस कटेसी रमाउँला’को बाइप्रोडक्ट हो, फिल्म साइँली । कालिप्रसाद बास्कोटाले ‘वैदेशिक कमाईले चालिस कटेसी रमाउनेहरु’को गीत तयार नगरेको भए रामबाबु गुरुङको मगजमा ‘साँइली’को गर्भधान हुन्थ्यो ? यो एक अनुत्तरित प्रश्न हो । कतिपय अवस्थामा अर्थहीन पनि ।

‘कवड्डी’ फेम निर्देशकको विशेषता चाहि के भने, उनी आफु हुर्केको समाज र आफुले गुजारेको समयलाई घतलाग्दो ढंगले सिनेम्याटिक भाषामा बदल्छन् । ग्रामिण समाज, जातिय थीति, लाहुरे धङ्धङ्ती, वैंशालु तन्नेरीलाई पृष्टभूमीमा राखेर कुनै मुद्दाको उत्खनन गर्नु उनको प्राइभेट खुबी हो । अर्को कुरा, रामबाबु आफ्नो उत्पादनलाई मौलिक लेपन दिन र त्यसलाई बजारसँग जोड्न पनि चतुर छन् ।

सुक्रबार सार्वजनिक फिल्म ‘साँइली’ एक त्यस्तै उत्पादन हो, जो रैथाने स्वादको भएर पनि ‘फास्टफुड’ जस्तै बिकाउ छ ।

कस्तो छ कथा ?

साइँली (मेनुका प्रधान) फिल्मको केन्दि्रय चरित्र हुन्, जसले कथालाई डोहोर्‍याउँछ । उनी गाउँको हुनेखानेकी छोरी । साँइलीलाई अनायसै मन पराउँछ पीते अर्थात पीतम्बर (गौरव पहारी)ले ।

पीतम्बरको मायामा पग्लिन कति समय लाग्दैन साँइलीलाई । गाउँघर चाहर्दै हिँड्ने पीतम्बरलाई साँइलीको बुवा फुर्तिमान (माओत्से गुरुङ) आफ्नो ज्वाई बनाउन राजी छैनन् । बरु पीतम्बरका पिता (प्रकाश घिमिरे)ले भाखा नाघिसक्दा पनि आफ्नो ऋण चुक्ता नगरेको झोंक फेर्न चाहन्छन् उनी ।

पछिल्लो समय चिप्लिदै गएको नेपाली फिल्महरुको लस्करमा राखेर हेर्दा ‘साँइली’ सन्तोषजनक लाग्न सक्छ । तर, रामबाबु गुरुङ-दयाहाङ राईको गठबन्धनले उत्पादन गर्ने फिल्मको यो स्तर चित्तबुझ्दो छैन ।

चलनचल्तीको ‘लभस्टोरी’मा झै उनीहरुको प्रेममा केटीको बुवा तगारो बनेका छन् । अर्कै युवासँग साँइलीको विवाह गर्ने सुरसार भइरहँदा साँइली चाहि पीतम्बरको साथ लागेर सुँइकुच्चा ठोक्छिन् ।

यतिबेला उनीहरुको विवाह र ऋण चुकाउनका लागि अर्को पात्रको प्रवेश हुन्छ, जो खासमा म्यानपावर दलाल हुन् ।

उनकै करकाप र फकाई-फुल्याईमा पीतम्बर राम्ररी मधुमाश मनाउन नपाई विदेश जानुपर्ने बाध्यतामा पुग्छन् । यद्यपी प्रशासनिक त्रुटीको कारण पीतम्बरको पासपोर्ट नबन्ने भएपछि पढेलेखेकी साँइलीले विदेशिने सुर कस्छिन् ।

पीतम्बरले हस्तक्षेप गरिरहँदा पनि साँइली किन विदेशिने मुडमा पुग्छिन् ? त्यसपछि उनीहरुको सम्बन्ध कसरी अगाडि बढ्छ ?

२ घण्टा १० मिनेट लामो प्रसंग र घटनाहरुले यीनै जिज्ञासाको पटाक्षेप गर्छ ।

यहाँ आपुग्दा छुटाउनै नहुने अर्को नाम छ, बीरे (दयाहाङ राई) । पीतम्बरको साथी बीरेले कथाको वहकावमा खास उतार-चढाव ल्याउँदैन, तर उनको उपस्थिती कम्ता घतलाग्दो छैन । लाहुरे पृष्टभूमीमा हुर्किएका बीरे एक डुकुलन्ठ्याङ हुन्, जो भविष्यबाट भयभित छैनन् । न उनलाई विदेश जानु परेको छ, न कसैको प्रेममा निर्लिप्त हुनुपरेको छ । आफ्नो मर्जीमा जीवन गुजार्ने बीरे भोको पेटले ‘देशभक्तिको’ नारा त ओकल्दैनन्, तर घरआँगन छाडेर विदेशिनै पर्छ भन्ने कुरामा बहकिएका पनि छैनन् ।

किन हेर्ने ?

फिल्म ‘साँइली’की सुत्रधार साँइलीको स्वभाव र मनोविज्ञानलाई यहाँ उल्लेख गर्नुपर्छ । लक्ष्मीप्रसाद देवकोटाको सर्वकालिन कृति ‘मुनामदन’ जति पटक पढेपनि उनको धीत मरेको छैन ।

मुना र मदनको ‘प्लेटोनिक लभ’ मा नपरेपनि एक युवाको समर्पणमा पग्लिएकी छिन् ।  एक्लो एवं बुढो पिताको ‘मन दुखाउने’ उनको रहर होइन । तर, आफ्नो लागि ‘ज्यान दिन तयार’ युवासँग नै राम्ररी घरजम हुनसक्छ भन्ने निक्र्यौलमा पुगेर उनले पिताको ‘ईगो’ ध्वस्त बनाउँदै आफुभन्दा कम हैसियतका युवासँग विवाह गर्छिन् । तर परिस्थीतीले कसरी कोल्टे फेर्छ भने, साँइली विदेशिन बाध्य हुन्छिन् ।

यहाँ साँइलीको कर्म र ‘मुनामदन’प्रतिको उनको आशक्तिलाई निर्देशकले एकदमै अर्थपूर्ण अनि मार्मिक ढंगले जोड्ने यत्न गरेका छन् । फिल्म ‘साँइली’को अनेक तानाबानालाई कुशलतापूर्वक लगाम खिच्ने सार-तत्व त्यही हो ।

निर्देशक गुरुङ ‘साँइली’मा वैदेशिक रोजगारीले बनाएको यस्तै घाउ-खटिरा उप्काउँछन् । फिल्मको बलियो पक्ष भनेको यसको कन्टेन्ट हो, जो सामयिक र जैविक छ ।

फिल्ममा पात्रहरु तगडा छन् । दयाहाङ राई, मेनुका प्रधानले फिल्मलाई गतिशिल बनाएका छन् । नव अभिनेत्री केनिपा सिंह, जो साँइलीकी साथी बनेकी छिन्, उनको अभिनय र उपस्थिती बलियो छ । साँइला अर्थात गौरव पहारीका लागि उनले निर्वाह गरेको भूमिका सुहाउँदो छैन । अति भावुक, प्रेमिल र लाचार युवाको भूमिकामा सुहाएपनि गाउँले चरित्र टिठलाग्दो छ ।

फिल्ममा दर्के झरी, मेघ गर्जनलाई दुःख र अत्यासको विम्ब बनाएर पाश्र्व ध्वनी एवं दृश्यमा राखिएको छ । फिल्मको पाश्र्व ध्वनी, सिनेम्याटोग्राफीले कथाको वहकावलाई भंग गरेको छैन ।

रामबाबुको फिल्म किनपनि रसिक लाग्छ भने उनले पात्र चयन, उनीहरुको लवज, मेकअप, लुगाफाटो, बानी-ब्यहोरा आदिलाई लाउड, कृतिम वा अस्वभाविक हुन दिदैन ।

के छ कमजोर पक्ष ?

पछिल्लो समय चिप्लिदै गएको नेपाली फिल्महरुको लस्करमा राखेर हेर्दा ‘साँइली’ सन्तोषजनक लाग्न सक्छ । तर, रामबाबु गुरुङ-दयाहाङ राईको गठबन्धनले उत्पादन गर्ने फिल्मको यो स्तर चित्तबुझ्दो छैन ।

सिनेम्याटिक क्राफ्टको हिसाबले रामबाबुले यसलाई त्यसरी खिपेका छैनन्, जति खिप्ने ठाउँहरु बाँकी थिए । एकसरो कथा भन्ने हतारमा निर्देशकले आफ्नो शिल्प देखाउन चुकेका छन् । फिल्मले वैंशालु जोडीको नोकझोंक र वैदेशिक रोजगारीको कथा त भन्छ, तर उनीहरुको सामाजिक धरातल, कला-संस्कृति, भाषा-शैलीलाई सर्लक्कै छाडेको छ । यस हिसाबले ‘साँइली’लाई एक सांस्कृतिक उत्पादन होइन, केवल बिकाउ बस्तु मात्र मान्नुपर्ने हुन्छ ।

साँइला अर्थात गौरव पहारीका लागि उनले निर्वाह गरेको भूमिका सुहाउँदो छैन । अति भावुक, प्रेमिल र लाचार युवाको भूमिकामा सुहाएपनि गाउँले चरित्र टिठलाग्दो छ ।

प्राविधिक हिसाबले, शिल्पको हिसाबले त ‘साँइली’ कमजोर छ नै, विषयगत त्रुटीहरु पनि प्रशस्तै छन् ।

फिल्म केन्दि्रय द्वन्द्वमा प्रवेश नगर्दै पुरातन फम्र्याटको लभ-रोमान्समा अलमलिएको छ, धेरैबेर । ऋणको प्रंसगले नै फिल्मको कथामा बढी उतारचढाव ल्याउने हो । तर, पीतम्बरका पिताले कति ऋण लिएका थिऐ ? पिताको थाप्लोमा त्यतीका ऋण भएको कुरा लक्का जवान छोराले कसरी सुँइको समेत पाएका छै्रनन् ? ऋणी र साहुका छोराछोरी आपसमा कति अपरिचित र अन्जान थिए ? ऋण चुकाउनका लागि विदेश जानुपर्ने निर्विकल्प परिस्थिती कसरी बन्यो ?

यी कुराहरुलाई सतहमा छाडेर कथामा ट्वीस्ट एवं मोडहरु ल्याउँदा, त्यो उति विश्वसनिय बनेको छैन । म्यानपावर दलालीको प्रवेश एवं उपस्थिती उत्तिकै नाटकिय छ ।

केटा र केटीको भेट हुने, माया-पिरती बस्ने चलन पुरानै लाग्छ । अझ पुरानो त उपनाम राखेर प्रेमपत्र लेख्ने । स्मार्टफोनको जुगमा प्रेमपत्र लेख्ने, हाट-बजारमा भेट्न बोलाउने, चौतारीमा प्रेम साट्ने जस्ता प्रसंगहरु समय सुहाउँदो लाग्दैन ।

साँइली सामान्य उल्झनबाट उम्केर विदेशिन्छन् । ऋण चुक्त गरेर र्फकन्छन् । तर दर्शकलाई यस्तो लाग्न सक्छ, साँइली ‘भिजिट भिषा’ च्यापेर बिदेशिए र लगत्तै फर्किए । उनी गएको र फर्किएको समयावधी देखाउन नसक्नु अर्को कमजोरी हो । उनी त्यतीका बर्ष बसेर घरको ऋण चुक्ता गरिरहँदा पीतम्बरसँग उनको संवाद भएन ? के पीतम्बरले उनको सोधिखोजी गरेनन् ? पीतम्बरका पिताले यसबारे केही कुरा गरेनन् ?

पीतम्बरको चरित्र चित्रण असुहाउँदो छ । एकातिर उनी हिरोइज्म देखाउन खोज्छन्, निर्देशकले उनलाई टिठलाग्दो बनाउने चेष्टा गरेका छन् । केटीको लागि मरिहत्ते गर्ने र ‘मर्द’ हुनुको इँगोले तुरुन्तै अर्को केटीलाई अंगाल्ने उनको चरित्र र मनोविज्ञान आफैमा बाझिएको छ ।

उदेगलाग्दो के पनि भने, ति सम्पूर्ण गाउँ नै श्रीमतीविहिन झै लाग्छ । सबै पुरुष एक्ला छन् । फुर्तिमान, पीतम्बरका पिता, म्यानपावर दलालदेखि बीरेसम्म एक्लाएक्लै हुनु विरक्तलाग्दो छ ।

रामबाबु ‘कवड्डी’ पछिका फिल्महरुमा बढी बजार निर्देशिक मानसिकताले ग्रसित बन्दैछ भन्ने उदाहरण हो, साँइली । हेमन्त रानाले गीतको लोकपि्रयतालाई क्यास गर्ने जुक्ति त फुराएका छन् तर रामबाबु स्वयम्को हकमा यसले उनको खास हित गर्ने लक्षण देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment