
१ कात्तिक, काठमाडौ । शुक्रबार सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय नसच्चिए ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी रोकिएको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नै भण्डारीको सदस्यता नवीकरण नभए फरक मत राख्ने जानकारी दिएका थिए । ‘पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण नगर्ने निर्णयबारे मैले फरक मत राखिसकेको छु । यहाँबाट सच्याउने निर्णय नहुनुसाथ मेरो फरक मतले काम गर्छ,’ पोखरेलले बैठकमा भनेका थिए ।
विद्याको सदस्यता नवीकरण नगर्ने निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले केन्द्रीय कार्यालयमै फरक मत दर्ता गरिसकेका थिए । स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत छँदैथियो ।
नेताहरूका अनुसार यो केन्द्रीय कमिटीबाट ठूलै संख्यामा केन्द्रीय सदस्यहरूले फरक मत राख्ने तयारी चलेको थियो । ‘केन्द्रीय कमिटीबाट विद्या भण्डारीको सदस्यताबारे निर्णय लिने जानकारी पार्टी अध्यक्षले दोस्रो विधान महाधिवेशनकै क्रममा दिनुभएको थियो । त्यसैले हामी आशावादी थियौं,’ भण्डारी निकट एक नेता भन्छन्, ‘यदि यो बैठकबाट पनि नवीकरण नगर्ने निर्णय नसच्चिए सर्वसम्मत निर्णय हुन नदिनेमा हामी प्रष्ट थियौं ।’
तर बैठक समापन गर्ने क्रममा अध्यक्ष केपी शर्मा ओलीले दिएको मन्तव्यपछि नोट अफ डिसेन्ट लेख्ने तयारी रोकिएको उनी बताउँछन् । ‘निर्णय सुनाउने क्रममा अध्यक्षले जे भन्नुभएको छ, त्यसलाई हामीले विद्या भण्डारीको सदस्यता नवीकरण गरिने रूपमा बुझेका छौं,’ उनी भन्छन् ।
बैठकका सहभागीहरूका अनुसार ओलीले भण्डारीबारे लामै व्याख्या गरेका थिए । विगतमा विद्यालाई अप्ठ्यारो पर्दा आफैंले सहयोग गरेको सन्दर्भमा उपचारदेखि राष्ट्रपति सिफारिससम्मका विवरण ओलीले सुनाएका थिए ।
‘अहिले धेरै हिमायती भएर आउनुभयो, अप्ठ्यारो बेलामा मैले नै उहाँलाई सहयोग गरेको हुँ,’ ओलीले भनेका थिए, ‘तर अहिले गाह्रो परिस्थितिमा नआउनुस् भनेको हुँ । विवादित नहुनुस् भनेको हुँ ।’
एमालेका एक शीर्ष नेताका अनुसार, विद्या भण्डारीको सदस्यताबारे ओलीका तीन सन्देश थिए । ‘पहिलो– सदस्यता नवीकरण गोजीमै राख्नुपर्थ्यो । हल्ला गर्नु हुन्थेन । दोस्रो– पार्टीमा सक्रिय हुँदा पनि सहयोगी भूमिकामा रहेको भए हुन्थ्यो । तर अध्यक्ष बन्न जाने भन्नुभयो,’ उनी भन्छन्, ‘तेस्रो– सदस्यता नभइ नहुने हो भने प्रक्रियामा जान सकिन्छ । निवेदन त आउनु पर्यो नि ।’
निवेदन आएपछि प्रक्रिया अगाडि बढ्ने सन्देश ओलीले बैठक हललाई दिए ।
‘निवेदन भनेको नयाँ सदस्यताका लागि होइन । त्यस्तो प्रक्रियामा विद्या भण्डारी जानु हुन्न, र यो कुरा केपी ओलीले पनि बुझ्नु भएको छ,’ भण्डारी निकट अर्का नेता भन्छन्, ‘सदस्यता नवीकरणकै निवेदन लिएर प्रक्रियामा जाने हो । यसबारे अब छलफल हुन्छ ।’
बैठकका नेताहरूलाई ओलीले सदस्यता नवीकरणबारे विद्यासँग आफैं कुरा गर्ने पनि बताए । ‘फोन पनि गर्नु भएको रहेछ (विद्या भण्डारीले), मैले मिस गरेछु,’ बैठकमा ओलीले भनेका थिए, ‘अब आफैं भन्छु ।’ टेलिफोन संवादमा भरसक पार्टीमा नफर्कन आग्रह गर्ने पनि ओलीले बताए । तर आग्रह मान्नु भएन भने प्रक्रियामा लैजाने ओलीको भनाइ थियो ।
‘सदस्यताको लागि कुनै निवेदन दिनुभएको छैन । दिएपछि कमिटीले गर्छ, दबाब दिएर हुँदैन, प्रक्रियामा जानुपर्छ भनेर अध्यक्षले भन्नुभएको छ,’ ती नेता भन्छन् ।
अर्थात् नवीकरणका निम्ति निवेदन आएपछि निर्णय लिने ओलीको संकेत पछि ‘नोट अफ डिसेन्ट’ लेख्ने प्रक्रिया स्थगित भएको नेताहरूले बताएका छन् ।
‘अरुको हकमा फरक हो, तर पूर्वराष्ट्रपतिको हकमा निवेदन आएपछि सदस्यता नवीकरण गर्ने भन्नुहुन्छ भने त्यो पनि मान्नुपर्छ भनेर पनि हामीले तयारी रोक्यौं,’ ती नेता भन्छन् ।
हुनपनि ओलीले विद्या भण्डारीले अस्ति नै अध्यक्ष बन्ने हो भनेर टेलिफोन अन्तर्वार्ता नदिएको भए अहिले एमालेको पार्टी संयोजक बनाउन सकिने सम्भावनबारे समेत ओलीले बताएका थिए । ‘आफैं विवादित हुनुभयो, नत्र अहिले संयोजक बनाउन हुन्थ्यो भनेर पनि बोल्नु भएको थियो,’ बैठकमा सहभागी अर्का नेताले भने ।
तर कतिपय एमाले नेताहरू भने ओलीको यही बोलीका आधारमा विद्या भण्डारीको सदस्यता नवीकरण हुन सम्भावना देख्दैनन् । ‘यसपटक विद्या भण्डारीको पक्षमा धेरै नेताहरू देखिए । सदस्यता नवीकरणको पक्षमा पदाधिकारीमा बहुमत छ, केन्द्रीय सदस्यहरू पनि थुप्रै थपिनुभयो,’ एक पदाधिकारी भन्छन्, ‘यस्तो प्रतिकूलता थप नबढोस्, र केन्द्रीय कमिटीको निर्णयमा फरक मत नआओस् भनेर केपी ओलीले त्यस्तो बोले जस्तो लाग्छ ।’
४५ वर्ष पुरानो पार्टी सदस्यता, अनि पार्टी अध्यक्ष हुन हरेक हिसाबले योग्य व्यक्तिको सदस्यता नवीकरणमा प्राविधिक विषयको कुरा उठाउनुले ओलीको नियत बुझ्न सकिने उनी बताउछन् । ‘थप प्रतिकूलता नहोस् भनेर नेताहरूलाई इंगेज गराउने खोजे जस्तो लाग्यो । नत्र रिटपूर्वक काम भयो वा भएन भनेर हेरिरहनुपर्ने यो विषय (विद्याको सदस्यता नवीकरण) होइन,’ उनी भन्छन् ।
केन्द्रीय कमिटीमा विद्याको पक्षमा उभिने नेताहरूको संख्या हेर्दा पनि ती पदाधिकारीको शंकामा बल पुग्छ । भण्डारीको सदस्यता नवीकरण गरिनुपर्ने पक्षमा ममता गिरी, राम अवतार, रविन कोइराला, रमेश पौडेल, नविना लामा, प्रभा बराल, रचना खड्का, युवराज बास्कोटा, दीपा शर्मा, मञ्जु देवी गुरुङ, प्रकाश शाह, झपट रावल, दिवाकर देवकोटा, तुलसा दाहाल, रामप्रित पासवान, माधव अर्याल, गणेश पहाडी र केदार न्यौपानेहरूले बलियो अडान लिएका थिए ।
पहिलो दिनको बैठकको तुलनामा दोस्रो र तेस्रो दिन क्रमश: विद्याको पक्षमा खुल्ने नेताहरू बढेका थिए । पहिलो दिन सरिता न्यौपाने, सर्मिला कार्की, सोम मिश्र, हरि राई र विद्या सुन्दर शाक्यले मात्र बोलेका थिए । ‘तेस्रो दिनसम्म आइपुग्दा हामी ६०/७० जना पुग्यौं,’ भण्डारी पक्षमा खुलेकी एक नेतृ भन्छिन्, ‘प्रष्ट नाम नभनेपनि विद्याको सदस्यता नवीकरण नगर्ने निर्णयमा असन्तुष्टि जनाएर बोल्ने नेताहरू अझ धेरै थियो ।’
एमाले बैठकमा यतिका धेरै संख्याका नेताहरूले ओलीलाई सम्झाएको पहिलो घटना थियो । यसअघि पदाधिकारीहरूले ओलीसँग मतभेद राखेपनि केन्द्रीय सदस्यहरूले भिन्न मत राख्न सकेका थिएनन् । तर जेनजी पुस्ताको विद्रोहपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा ओलीले पद छोड्नुपर्नेदेखि विद्या भण्डारीबारे गरिएको निर्णय सच्याउनुपर्नेसम्मका आवाज उठेको छ ।
प्रतिक्रिया 4