Comments Add Comment

कोलकत्तामाथि दिल्लीको रोमाञ्चक जित, सन्दीपको उत्कृष्ट बलिङ

Photo Credit : आईपीएल

१७ चैत, काठमाडौं । सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्समाथि रोमाञ्चक जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा दिल्लीले कोलकत्तामाथि सुपर ओभरमा जित हात पारेको हो । कोलकत्ताले दिएको १८६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८५ रन नै बनाएपछि खेल सुपर ओभरमा मोडिएको थियो ।

सुपरओभरमा दिल्लीले एक विकेटको क्षतिमा १० रन बनाउन सफल भयो । ११ रनको चुनौती पछ्याएको कोलकत्ताले ७ रन मात्रै बनाउन सफल भएपछि दिल्लीले खेल जितेको हो ।

१८६ रनको चुनौती पछ्याउने क्रममा दिल्लीका पृथ्वी शावले उत्कृष्ट ब्याटिङ गरे । उनी शतक प्रहार गर्नबाट एक रनले चुके । ५५ बलको सामना गरेका पृथ्वीले १२ चौका र तीन छक्का प्रहार गर्दै ९९ रन बनाए । त्यस्तै, कप्तान श्रेयस ऐयरले ४३ रन बनाए । बलिङतर्फ कुलदीप यादवले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । कोलकत्ताको सुरुवाती इनिङ्स भने ध्वस्त भएको थियो । १६ रन हुदा पहिलो विकेटको रुपमा सन्दीपले निखिल नाइकलाई एल्बिडब्लु आउट गराएपछि कोलकत्ताको विकेट पतन सुरु भएको थियो ।

७.१ ओभरमा ६१ रन हुदा नै ५ विकेट गुमाएको कोलकत्ता निकै धराबमा परेको थियो । तर कप्तान दिनेश कार्थिक र आन्द्रे रुसेलले पारी सम्हालेका थिए । कप्तान दिनेशले ३६ बलमा ५० रन बनाए भने रुसेलले विष्फोटक ब्याटिङ गर्दै २८ बलमै ६२ रन जोडे ।

अघिल्ला दुई खेलमा बेन्चमै रहेका सन्दीपले कोलकत्ताविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले दिल्लीका लागि सबैभन्दा राम्रो बलिङ गरे । चार ओभरमा २९ रन खर्चिएर एक विकेट लिएका सन्दीपले आफ्नै ओभरमा शुबमान गिललाई रनआउट पनि गराए । त्यस्तै, दिल्लीका लागि हर्षल पटेलले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment