+

आईसीसी क्रिकेट विश्वकपको समूह विभाजन, खेलतालिका सार्वजनिक

२०८३ असोज  १५ गते २२:०५ २०८३ असोज १५ गते २२:०५

१५ असोज, काठमाडौं । दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् २०२७ को आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेलतालिका सार्वजनिक भएको छ ।

दक्षिण अफ्रिकाको केप टाउनमा बिहीबार आयोजित एक कार्यक्रमका बीच समूह विभाजनसँगै खेलतालिका सार्वजनिक गरिएको हो ।

समूह विभाजन अनुसार समूह ‘ए’ मा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाबे र क्वालिफायरबाट आउने एक टोली रहेका छन् ।

समूह ‘बी’ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनोटबाट आउने अर्को टोली परेका छन् ।

समूह चरणको पहिलो खेलमै भारत र अस्ट्रेलिया खेल्ने छन् । सन् २०२३ विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई नै हराउँदै छैटौंपटक उपाधि जितेको थियो ।

पूरा खेलतालिका

यस्तो छ फर्म्याट

नयाँ विश्वकप ढाँचाअनुसार ओडीआई वरियताका शीर्ष ८ टोलीसँगै सहआयोजक दक्षिण अफ्रिका र जिम्बाबेले सिधै मुख्य समूह चरणमा स्थान बनाएका छन् । त्यसमा छनोट प्रतियोगिताको विजेता थपिँदा मुख्य चरणमा ११ टोली निश्चित हुनेछन् ।

छनोट प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो हुने टोलीले भने विश्वकपको पहिलो चरण ‘सुपर सिरिज’ खेल्नुपर्नेछ । यस चरणमा तीन टोलीबीच दुई-दुई खेलको प्रतिस्पर्धा हुनेछ र त्यसको विजेताले मात्र मुख्य समूह चरणमा स्थान बनाउनेछ। बाँकी टोली दुई खेलमै विश्वकपबाट बाहिरिनेछन् ।

मुख्य चरणमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ, जुन् विभाजन माथि उल्लेख गरिएको छ । प्रत्येक समूहका शीर्ष तीन टोलीसँगै दुवै समूहमध्ये उत्कृष्ट अर्को एक टोली ‘सुपर ७’ चरणमा पुग्नेछन् ।

राउन्ड रोबिन फर्म्याटमा हुने सुपर ७ बाट शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

विश्वकप छनोटमा १० टोली रहनेछन् । यसमा सहआयोजकबाहेकका ओडीआई वरियताका दुई पूर्ण सदस्य राष्ट्र, लिग–२ क्रिकेटका शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट आउने चार टोली सहभागी हुनेछन् ।

विश्वकप छनोट प्लेअफमा लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । त्यहाँबाट शीर्ष चार टोलीले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

नेपाली क्रिकेट टोलीले विश्वकप छनोटका लागि प्लेअफ खेल्ने प्रबल सम्भावना छ । प्लेअफबाट छनोटमा स्थान बनाएर त्यो पार गरेमा नेपालले मुख्य समूह चरणमा स्थान बनाउन सक्छ ।

विश्वकप छनोट विजेताले सोझै समूह चरणमा इन्ट्री पाउनेछ भने छनोट जित्न नसके पनि चौथो स्थान सम्मका टोलीले अर्को मौकाबाट समूह चरणमा स्थान बनाउन सक्छन् ।

आईसीसी क्रिकेट विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय