+

ब्याटरले समय खेर फाले अब पाँच रन पेनाल्टी, यस्ता छन् आईसीसीको नयाँ नियम

२०८३ असोज  १५ गते १९:३६ २०८३ असोज १५ गते १९:३६

१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलको गति बढाउनेसहित विभिन्न विषयमा नयाँ खेल शर्त लागू गरेको छ । अक्टोबर १ वा त्यसपछि सुरु हुने सबै अन्तर्राष्ट्रिय सिरिजमा नयाँ नियम लागू हुनेछ ।

नयाँ नियमअनुसार पुरुष क्रिकेटमा ब्याटरले निर्धारित समयभित्र बल सामना गर्न तयार नभए पहिलो पटक चेतावनी दिइनेछ । दोस्रो पटक अन्तिम चेतावनी दिइनेछ भने तेस्रो तथा त्यसपछि प्रत्येक पटकको गल्तीमा विपक्षी टोलीलाई पाँच रन पेनाल्टी दिइनेछ। पटक–पटक समय खेर फालेमा आचारसंहिताअनुसार थप कारबाहीसमेत हुन सक्नेछ ।

महिला क्रिकेटमा प्रयोग हुने बलको आकार र तौलमा पनि नयाँ सीमा तोकिएको छ । अब पुरुष, महिला र जुनियर क्रिकेटका लागि फरक–फरक आकार तथा तौलका बलको मापदण्ड लागू हुनेछ ।

मैदानमा बलिङ टोलीले बल स्टम्पतर्फ पठाएर रन रोक्ने वा रनआउट गर्ने प्रयासलाई मात्र ‘ओभरथ्रो’ मानिनेछ । बल रोक्ने वा अर्को फिल्डरलाई पास गर्ने क्रममा भएको मिसफिल्डलाई ओभरथ्रो नमानिने गरी नियम स्पष्ट पारिएको छ ।

त्यस्तै, बल ‘अन्तिम रूपमा स्थिर’ भएको विषयमा अम्पायरलाई थप निर्णयाधिकार दिइएको छ । अब बल अन्तिम रूपमा स्थिर भएको मान्न बल अनिवार्य रूपमा बलर वा विकेटकिपरकै हातमा हुनुपर्ने छैन ।

रनआउट वा स्टम्पिङका क्रममा फिल्डरले बल समातेको मान्न बलमाथि पूर्ण नियन्त्रण हुनुपर्नेछ । स्टम्प भाँचिँदा हातले बललाई छोएको मात्र अवस्थामा बल समातेको मानिने छैन ।

टेस्ट क्रिकेटमा पिंक बलको प्रयोग

टेस्ट क्रिकेटमा खराब प्रकाशका कारण खेल रोकिने समय घटाउन दिनको समयमा पिंक बल प्रयोग गर्ने परीक्षण व्यवस्था गरिएको छ । दुवै टोलीको सहमतिमा खेल सुरु हुनुअघि पिंक बल प्रयोग गर्ने निर्णय गर्न सकिनेछ ।

एकपटक पिंक बल प्रयोग गर्ने निर्णय भएपछि खेलभरि त्यही बल प्रयोग गर्नुपर्नेछ । खेल सुरु भइसकेपछि निर्णय परिवर्तन गर्न वा रातो बलबाट पिंक बलमा परिवर्तन गर्न पाइने छैन ।

दिनको खेलको अन्तिम ओभरमा विकेट गिरेकै कारण खेल स्वतः समाप्त नहुने व्यवस्था पनि गरिएको छ । मौसम तथा खेलको अवस्था अनुकूल भए अन्तिम ओभर पूरा नभएसम्म खेल जारी राख्न सकिनेछ ।

एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा पनि परिवर्तन

टी–२० अन्तर्राष्ट्रियमा अब १५ मिनेटको निश्चित इनिङ ब्रेक हुनेछ । समय गुमेको अवस्थामा यसलाई न्यूनतम १० मिनेटसम्म घटाउन सकिनेछ ।

एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा ड्रिंक्स ब्रेकका क्रममा मुख्य प्रशिक्षक वा उनले तोकेको प्रतिनिधिलाई मैदानमा प्रवेश गर्न दिने व्यवस्था गरिएको छ ।

त्यस्तै, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा लेग–साइड वाइडसम्बन्धी परीक्षणलाई स्थायी नियममा समावेश गरिएको छ ।

आईसीसी पुरुष क्रिकेट समितिका अध्यक्ष सौरभ गांगुलीले नयाँ परिवर्तनले खेलको आधुनिक आवश्यकतालाई सम्बोधन गर्दै नियमको स्पष्टता र निरन्तरता कायम गर्ने बताएका छन् ।

नयाँ नियमहरू अक्टोबर १ वा त्यसपछि सुरु हुने अन्तर्राष्ट्रिय सिरिजमा लागू हुनेछ। यसअघि नै सुरु भइसकेका सिरिज भने पुरानै नियमअनुसार सञ्चालन हुनेछन् ।

आईसीसी क्रिकेट नियम नियम परिवर्तन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय