
१७ चैत, काठमाडौं । लगानी सम्मेलनमा तमोर जलाशययुक्त आयोजनाका लागि लगानी प्रस्ताव आएको छ । यो आयोजनामा झण्डै १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी गर्ने प्रस्ताव गर्दै आवेदन परेको हो ।
विदेशी लगानीकर्ताले नै चासो देखाएपछि यो आयोजनाको निर्माण अघि बढ्ने अपेक्षा त पलाएको छ, तर आशंका पनि उत्तिकै छ ।
नेपाल विद्यत प्राधिकरणका अधिकारीका अनुसार यो आयोजना बनाउन सहज स्थिति छैन । यो आयोजनालाई पूर्ण क्षमतामा बनाउने हो सरकारले नै निकै महत्वपूर्ण कदमहरु चाल्नुपर्ने उनीहरु बताउँछन् । किनभने यो आयोजनाको डुबान क्षेत्रमा नै अहिले साना आयोजना बनेका छन्, बन्दै पनि छन् ।
७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनासमेत अध्ययनका क्रममा छ । अध्ययनका लागि एशियाली विकास बैंकले सहयोग उपलब्ध गराएको छ ।
थोरै घर परिवारलाई मात्रै चित्त बुझाएर बनाउन सकिने भएकाले आयोजना निर्माणमा विदेशीको चासोसमेत बढ्दै देखिएको छ । पाँचथर र ताप्लेजुङमा आयोजनाको पक्षमा दबाव समिति समेत बनेको छ ।
२ सय मिटर उचाइको बाँध बनाएर यो आयोजनाबाट ७ सय ६२ मेगावाट बिद्युत उत्पादन गर्न सकिने प्राधिकरणका एक अधिकारीले बताए । तर, बाँध अग्लाउादा २५ सय मेगावाटसम्म उत्पादन गर्न सकिन्छ ।
सन् १९८५ मा नै जापानी सरकारले यो परियोजनाबारे अध्ययन गरेको थियो । जाइकाले लुम्बुघाट नजिकै करिब १५० मिटर उचाईको बाँध बाँधेर सात सय मेगावाट विजुली उत्पादन गर्न सकिने सुझाव दिएको थियो ।
पाँचथर र तेह्रथुमको सीमा क्षेत्रमा २१ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजना बनेको छ । ३७ मेगावाटको काबेली ‘ए’ को निर्माण पनि भइरहेको छ ।
तर, यो दुबै आयोजनाका कारण जलाशययुक्त तमोर आयोजना नै गुम्ने खतरा पनि उत्तिकै छ । विद्युत प्राधिकरणले प्रस्ताव गरेको तमोर देशकै लागि रणनीतिक महत्वको आयोजना पनि हो । तर, तमोर आयोजनाको प्रस्तावित क्षेत्रमा नै तल्लो हेवा र काबेली आयोजना छन् ।
यदि विदेशी लगानीकर्ता आएर निर्माण अघि बढाउने हो भने काबेली र हेवा गुमाउनु पर्ने हुन्छ । किनकी तमोर जलाशययुक्त आयोजना हो र २५ सय मेगावाट विद्युत उत्पादनका लागि आवश्यक जलासय बनाउँदा काबेली र हेवाको विद्युत गृह नै डुवानमा पर्छ ।
‘दुबै आयोजना सरकारले नै उत्पादन अनुपति दिएर निजी क्षेत्रले बनाएका हुन् । तमोर बनाउने हो भने सरकारले दुबै आयोजना निर्माणकर्तालाई क्षतिपूर्ति दिएर हटाउनुपर्छ,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने,’होइन भने ५३ मेगावाटका लागि २५ सय मेगावाटसम्मको क्षमता राख्ने तमोर बनाउन सकिँदैन ।’
सो क्षत्रेका स्थानीयले ५३ मेगावाटका लागि तमोर आयोजना नै नबन्ने अवस्था ल्याउन नहुनेमा जोड दिँदै आएका छन् ।
स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष एक कार्यक्रममा भनेका थिए,’तल्लो हेवा त बन्नै लागिसक्यो । काबेली भर्खरै सुरु भएको छ, अब ५३ मेगावाटले २५ सय मेगावटको आयोजना डुबाउने अवस्था आयो, यो हुनु हुँदैन । २५ सय मेगावाटले नै ५३ मेगावाट डुबाऔं, यो राष्ट्रको हितमा हुन्छ ।’
जापानी सहयोग नियोग जाइकाले गरेको प्रारम्भिक अध्ययनलाई बेवास्ता गर्दै सरकारले प्रस्तावित तमोर जलाशयभित्र पर्ने गरी दुईवटा आयोजनालाई उत्पादन अनुमतिपत्र दिँदा यो समस्या आएको हो ।
कसरी बन्छ तमोर ?
तमोर आयोजनाको बाँध तेह्रथुमको ओख्रे र पाँचथरको स्याबरुम्बाको सीमा भएर बग्ने लम्बुदोभानबाट डेढ किलोमिटर तल बन्नेछ । यो आयोजना पूर्वपश्चिम ४ सय केभीको प्रसारणलाइनबाट ७५ किलोमिटरको दूरीमा छ । यो आयोजना बुढीगण्डकी बनाउन भन्दा आधा सस्तो पर्छ । करिब १२५ परिवारलाई पुनर्बास गराउँदा नै पर्याप्त हुन्छ ।
आयोजना मोरङ, सुनसरी औद्योगिक क्षेत्र र प्रस्तावित दमक औद्योगिक करिडोरसँग नजिक छ । जलाशययुक्त आयोजना भएकाले यो आयोजना बने सुख्खायाममा यसले अधिक उत्पादन दिन सक्नेछ ।
आयोजनामा २०५ मिटरको ड्याम बनाए ७६२ मेगावाट बिजुली उत्पादन हुने प्राधिकरणको अध्ययनले देखाएको छ । त्यसलाई बढाएर ३ सय मिटर र्पुयाए तमोरबाट २५ सय ६५ मेगावाट बिजुली उत्पादन हुनेछ ।
तमोरमा २०५ मटिर बाँध लगाउँदा जम्मा १२६ घरपरिवारमात्रै विस्थापित हुनेछन् । यो जलाशयमा जम्मा डुबानमा पर्ने जग्गामध्ये ५ प्रतिशत मात्रै खेती योग्य हुनेछ । यो आयोजना बुढीगण्डकी भन्दा आधा लगानीमै बन्ने अनुमान छ ।
बुढीगण्डकीमा २५ सय ४९ मिलियमन अमेरिकी डलर लगानी गर्दा ३३ सय ८३ गिगावाट आवर बिजुली प्राप्त हुन्छ । तर, तमोरमा १२ सय १७ मिलियन अमेरिकी डलर लगानी गर्दा ३३ सय ५५ गिगावाट आवर विजुली उत्पादन हुन्छ । त्यसैले यो आनयोजना अघि बढाउन ढिलाई गर्न नहुनेमा स्थानीयले जोड दिएका छन् ।
प्रतिक्रिया 4