+
+
Shares

विशेष महाधिवेशन पक्षधरको शंका : केन्द्रीय समितिको म्याद थप्ने खेल

भन्छन्- मंसिरभित्रै विधिवत महाधिवेशन, नयाँ कार्यसमिति चयन अपरिहार्य

केन्द्रीय कार्यसमितिले जारी केन्द्रीय कार्यसमिति बैठक १३ कात्तिकसम्मका लागि स्थगित गरेपछि अगुवा नेताहरूमा आगामी मंसिरमा महाधिवेशन नहुने आशंका बढेको देखिन्छ ।

केशव सावद केशव सावद
२०८२ कात्तिक २ गते १६:२०

२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने मत बलियो हुँदै गर्दा विशेष महाधिवेशन पक्षधर नेताहरू पार्टीको केन्द्रीय कार्यसमितिप्रति सशंकित बनेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म बोलेका केन्द्रीय सदस्यहरूले आगामी मंसिरमै १५ औँ महाधिवेशन आयोजना गर्नुपर्नेमा जोड दिइरहे पनि विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान सञ्चालन गरेका अगुवा नेताहरू ढुक्क देखिँदैनन् ।

पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनको शोकमा कांग्रेसले देशभरका पार्टी कार्यालयहरू बन्द गरेर शोक मनाइरहेका बेला उनीहरूले आइतबार पत्रकार सम्मेलन गरेर केन्द्रीय कार्यसमितिप्रति आशंका व्यक्त गरेका छन् ।

केन्द्रीय कार्यसमितिले जारी केन्द्रीय कार्यसमिति बैठक १३ कात्तिकसम्मका लागि स्थगित गरेपछि अगुवा नेताहरूमा आगामी मंसिरमा महाधिवेशन नहुने आशंका बढेको देखिन्छ ।

पत्रकार सम्मेलनमा युवा नेता मनोजमणि आचार्यले आगामी बैठक छठपछि डाकिएको र कहिले सकिनेसमेत टुङ्गो नभएकाले वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने देखिएको बताए । ‘केन्द्रीय कार्यसमिति म्याद थप्न तर्फ उद्यत रहेको प्रष्ट देखिन्छ,’ उनले भने, ‘वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ ।’

राष्ट्रिय राजनीति अत्यन्त तीब्रताका साथ अगाडि बढिरहेको समयमा विलम्ब गर्ने, अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाई गर्ने छुट कसैलाई नभएको अभियानका अगुवा नेताहरूको निष्कर्ष छ ।

प्रतिनिधि सभाको २१ फागुनमा हुने भनिएको निर्वाचनअघि नै महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेर जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशनको माग गरिएको उनीहरू बताउँदै आएका छन् ।

‘यसभन्दा उत्तम हामीसँग अर्को विकल्प छैन । तसर्थ, यस मागप्रति गम्भीर रहन र कार्यान्वयन तर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको व्यहोरा पुनः स्मरण गराउन चाहन्छौँ,’ पत्रकार सम्मेलनमा नेता आचार्यले भने ।

कांग्रेसले पार्टीभित्र नयाँ जनादेश लिएर नवनिर्वाचित केन्द्रीय कार्यसमितिमार्फत् विगतका तीनवटा निर्वाचनमा हाँकेको इतिहास उनले स्मरण गराए । ‘त्यही भएर अहिले पनि आगामी मंसिरभित्र विधिवत महाधिवेशन गरि नयाँ कार्यसमितिको चयन आजको अपरिहार्यता हो ।’

पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित अधिकारको अवमूल्यन गर्ने, टार्ने र छल्ने छुट कसैलाई पनि नभएको विशेष महाधिवेशन पक्षधरहरूको छ ।

१४ औं महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिको असफलताका कारण नेपाली राजनीतिमा भएका विभिन्न घटनाहरूको पृष्ठभूमिका कारण कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीलाई नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेको उनीहरूको ठहर छ ।

विशेष महाधिवेशनका लागि अभियान सञ्चालन गरेका अगुवाहरूले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूलभावना, मर्म र क्षेत्राधिकारविपरीत केही नेताहरूले आफ्नो धारणा राखेको भन्दै उनीहरूले आपत्ति जनाए ।

‘केन्द्रीय सदस्यहरूका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्यसमिति पार्टीको मूल जिम्मेदारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौँ,’ नेता आचार्यले भने, ‘अतः विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरी कार्यान्वयनतर्फ अघि बढ्न आग्रह गर्दछौँ ।’

पत्रकार सम्मेलनमा कांग्रेस खोटङका पूर्वसभापति सुवास पोखरेलले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नाम नै लिएर विशेष महाधिवेशनको माग गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हेपेको दाबी गरे । उनले ५३ प्रतिशत पार्टी सदस्यहरूको एजेन्डालाई कम नआँक्न र महतलाई आफूहरूको मागलाई ‘रिफरेन्स’ प्रस्तावमात्र नभन्न आग्रह गर्दै मर्यादामा बस्न चेतावनी दिए ।

‘कांग्रेसका प्रवक्ता प्रकाशरण महत दाइले यो रिफरेन्स प्रस्ताव हो भनिरहनुभएको छ,’ पोखरेलले भने, ‘यो रिफरेन्स प्रस्ताव होइन, यो ५३ प्रतिशत मान्छेहरूको एजेन्डा हो । यसलाई तपाईं हेप्दै हुनुहुन्छ ।’ उनले प्रवक्ता महतलाई महाभारतका पात्र शकुनीको जस्तो कपटी भाषा प्रयोग नगर्न चेतावनीसमेत दिए ।

‘महाभारतका शकुनीको जस्तो कठीन कपटी भाषा पस्किँदै हुनुहुन्छ । त्यो हामी ध्यानपूर्वक हेरिरहेका छौँ,’ पोखरेलले चेतावनीयुक्त भाषा प्रयोग गर्दै भने, ‘षड्यन्त्र नगर्न, कपटी पासा राजनीतिमा नफाल्न, साथीहरूको मर्यादा राख्न, मर्यादामा बस्न पनि म प्रकाशशरण महतलाई भन्दछु ।’

हस्ताक्षर संकलन अभियानको अगुवाइ गरेका नेता गुरूराज घिमिरेले केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा बैठक लम्ब्याएको आरोप लगाए । ‘पार्टी केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा केन्द्रीय समितिको बैठक लम्ब्याएको छ,’ उनले भने, ‘हामी यसरी किन बैठक सारिरहेका छौँ, आज जनमानसले प्रश्न गरिरहेको छ ।’

नेता घिमिरेले केन्द्रीय कार्यसमितिसामु नियमित र विशेष महाधिवेशन गर्ने दुईवटा बाटोमात्रै रहेको स्मरण गराए । आफूलाई प्रजातान्त्रिक गुरुकुलको प्रचार्य ठान्ने दल कांग्रेसका मुख्य नेताहरू नै आफ्नो भूमिका निर्वाहमा चुकेका भन्दै उनले आक्रोश व्यक्त गरे ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत १५ औँ महाधिवेशन आयोजना गर्ने विषयमा कसैको फरक मत नरहे पनि तिथि–मितिबारे विभिन्न मतहरू रहेको बताउँछन् । केन्द्रीय कार्यसमितिमा बैठकमा बृहत छलफल गरेर समान निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

‘महाधिवेशनमा जाने कुरामा दुई मत भएन । पारदर्शी ढंगबाट सबैको सहभागिता सुनिश्चित गरेर विधि–प्रक्रिया र राष्ट्रिय निर्वाचनलाई मध्यनजर गर्दै कुन समयमा गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा विभिन्न मतहरू छन्,’ महतको भनाइ छ, ‘यसबारेमा हामी बृहत छलफल गर्छौँ र समान निष्कर्षमा पुग्छौँ भन्ने विश्वास छ ।’

उनले महाधिवेशन आयोजनाका लागि आफूहरूले बढी समय लिन नचाहेको पनि दाबी गरे । प्रवक्ता महतले विशेष महाधिवशेन नभएर नियमित महाधिवशेन नै आयोजना गरिने पनि बताए । कांग्रेसको महाधिवेशनका कारण २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन प्रभावित नहोस् भन्नेतर्फ आफूहरू सकेत रहेको उनको भनाइ छ ।

‘हामी ज्यादा समय लिन चाहन्नौँ । विशेष महाधिवेशनको कुरो छैन, महाधिवेशन नै हो । १५ औँ महाधिवेशन गर्ने हो,’ उनले भने, ‘त्यो महाधिवेशन गर्दा वडादेखि केन्द्रसम्म विधि–प्रक्रिया छ, सक्रिय सदस्यता टुंग्याउनुपर्ने छ, त्यसको लागि कति समय लाग्छ र कति न्यूनतम समयमा हामी गर्न सक्छौँ । सँगसँगै राष्ट्रिय निर्वाचन प्रभावित नहोस्, त्यसका प्रति पनि हामी गम्भीर छौँ ।’

आगामी मंसिरभित्रै महाधिवेशन गर्न सकिने स्वरहरू पनि पार्टी नेताहरूको रहेको महतले बताए । ‘मंसिर भित्र महाधिवेशन गर्न सकिन्छ भन्ने साथीहरू पनि हुनुहुन्छ । नयाँ साथीहरूलाई पनि सहभागी गराउनुपर्छ । नवयुवा (जेनजी) लाई पनि सक्रिय सदस्यता दिनुछ, पुरानाको नवीकरण टुंगिएको छैन । त्यसलाई पनि पूरा गर्नुछ । फेरि वडादेखि नै अधिवेशनको प्रक्रिया पनि टुंग्याउनुर्छ । त्यसले गर्दा यो समय यथेस्ट हुँदैन भन्ने पनि साथीहरूको भनाइ छ,’ उनले भने ।

प्रवक्ता महतले कांग्रेसले विशेष महाधिवेशन आयोजना नगर्नेबारे भने प्रष्ट पारे । ‘विशेष महाधिवेशन भनेको त पदावधि नसकिदैँ मध्य–मध्य समयमा विशिष्ट परिवेश आयो, कुनै विशेष परिवेशमा छलफल गर्नुपर्‍यो, नेतृत्वमा पनि प्रश्न उठ्यो भने गर्ने हो,’ उनले भने, ‘अहिले त हाम्रो कार्यसमितिको पदावधि नै सकिन थालिसकेको छ । डेलिगेट्सको त सकिनै सक्यो ।’

गत असोज १० गते नै अधिकांश महाधिवेशन प्रतिनिधिहरूको अवधि समाप्त भइसकेको अवस्थामा नयाँ क्रियाशील सदस्यसमेत जोडेर महाधिवेशन गर्दा पार्टीमा समग्र वर्ग, क्षेत्र, र आयु समूहसमेतको प्रतिनिधित्व गर्नुपर्ने भएका कारण महाधिवेशन नै गर्नुपर्ने महतले बताए ।

तर, विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियानको अगुवा गरेका नेता घिमिरे महाधिवेशन प्रतिनिधिको कार्यकालबारे संस्थापन पक्षीय नेताहरूले गर्दै आएको टिप्पणीलाई ‘काइते तर्क’ को संज्ञा दिन्छन् । उनले आइतबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिको कार्यकाल सकियो भनेर काइते तर्क गरिरहेको बताए ।

‘केन्द्रीय कार्यसमितिको विधानमा कार्यकाल तोकिएको छ । महाधिवेशन प्रतिनिधिको कार्यकाल तोकेको मैले विधानमा कतै पनि देखिनँ,’ पत्रकार सम्मेलनमा नेता घिमिरेको भनाइ थियो, ‘सडक, राष्ट्र र पार्टीको आवश्यकताअनुसार महाधिवेशन प्रतिनिधिको कार्यकाल जति पनि रहन्छ । महाधिवेशन प्रतिनिधिको कार्यकाल सकियो भन्ने काइते तर्क हो, यसमा हामी सहमत छैनौँ ।’

कांग्रेसको विधानमा पार्टीका विभिन्न संरचनाहरूको कार्यकाल चार वर्ष रहने उल्लेख गरिए पनि महाधिवेशन प्रतिनिधिको कार्यकाल खुलाइएको छैन । १४ औँ महाधिवेशनमा सहभागी भएका महाधिवेशन प्रतिनिधिमध्ये झण्डै ५३ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाविधेशनको माग गरेका छन् ।

२९ असोजमा दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेको दाबी गर्दै विधानको धारा १७ (२) अनुसार नेता घिमिरेले पार्टी केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका थिए ।

उक्त धारामा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।’

विशेष महाधिवेशन पक्षधर समूहले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएको एक दिनअघि (२८ असोज) बाट कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो ।

३० असोजबाट छलफल सुरू भएको बैठकमा अहिलेसम्म बोलेका केन्द्रीय सदस्यहरू र प्रदेश कार्यसमितका चार सभापतिमध्ये अधिकांशले आगामी मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । विभिन्न १० वटा एजेन्डा पेस भएको कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठक १३ कात्तिकमा बस्ने छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?