+
+
Shares

कांग्रेसका पाँच प्रदेश सभापति नयाँ केन्द्रीय समिति बैठकमा आए, बलायर र शाही आएनन्

हालसम्म सातमध्ये ५ प्रदेश सभापति नयाँ कार्यसमितिको पक्षमा खुलेर केन्द्रीय समिति बैठकमै आएर आफ्ना धारणा राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १६:४०

१० चैत, काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय सानेपामा चलिरहेको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चुनिएको नयाँ केन्द्रीय समितिलाई शेरबहादुर देउवा नेतृत्वको निवर्तमान केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यले स्वीकारेका छैनन् ।

त्यो बेला बहुसंख्यक जिल्ला कार्यसमितिका सभापति र प्रदेश समितिले विशेष महाधिवेशन नै स्वीकारेका थिएनन् । यद्यपि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई आधिकारिता दिएपछि थापा त्यही कार्यसमितिको नेतृत्वमा कांग्रेस चुनावमा गएको थियो । यद्यपि निर्वाचन आयोगको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

यसैक्रममा चुनाव सकिएलगत्तै कांग्रेसभित्रको विवाद बल्झिने देखिएको छ । विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिले केन्द्रीय समिति बैठक गरिरहँदा पुरानो संस्थापन पक्षसहित नेता डा. शेखर कोइराला पक्षधर नेताहरू पुरानै कार्यसमितिको बैठक बस्ने तयारी गरिरहेको समाचार आइरहेका छन् ।

यस्तोमा पहिले पुरानो संस्थापननिकट रहेका अधिकांश प्रदेश सभापति भने नयाँ केन्द्रीय समितिका पक्षमा खुलेका छन् । हालसम्म सातमध्ये ५ प्रदेश सभापति नयाँ कार्यसमितिको पक्षमा खुलेर केन्द्रीय समिति बैठकमै आएर आफ्ना धारणा राखेका छन् ।

कुन प्रदेश सभापतिले के भने ?

पुरानो संस्थापन निकट रहेका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ नयाँ केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । उनी बागमती प्रदेशका मुख्यमन्त्री पनि हुन् ।

‘विशेष महाधिवेशनको हामी विपक्षमा थियौँ होला,’ केन्द्रीय समिति बैठकमा उनले भने, ‘तर फागुन २१ को निर्वाचनमा डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशशरण महत, मीनेन्द्र रिजाल रिजाल, किशोरसिँह राठौरजस्ता विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई कुनै कन्जुस्याइँ नगरी नयाँ नेतृत्वले टिकट दिएको थियो ।’ अब चुनावपछि विवाद गरिरहन जरुरी नभएको उनले बताए ।

उनले सभापति थापालाई अर्को पक्षसँग कुराकानी गर्न पनि सभापति बानियाँले आग्रह गरे । उनले भने, ‘सभापति ज्युले अर्को पक्षसँग कुरा गरेर अदालतको मुद्दा पनि फिर्ता लिने वातावरण बनाउनुपर्छ । सबै मिलेर १५ औँ महाधिवेशनतिर एक भएर लाग्नुपर्छ ।’

अब सबैलाई मिलाउने जिम्मा नयाँ सभापति थापाको काँधमा आएको उनले बताए ।

यस्तै पुरानो संस्थापनसँगै निकट मानिने मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले नयाँ सभापति थापाको पक्षमा सिंगो मधेश उभिएको बताए । ‘जुन उत्साह साथ विशेष महाधिवेशन भयो, त्यही उत्साह राखेर सभापति अघि बढ्नोस्,’ केन्द्रीय समिति बैठकमा उनले भने, ‘तपाईँको साथमा पूरै मधेस प्रदेश उभिनेछ । म दृढताका साथमा तपाईँसँग उभिनेछु ।’ पार्टीलाई नयाँ परिस्थितिमा लग्ने हो भने सबै १५ औँ महाधिवेशनतर्फ एकढिक्का भएर लाग्नुपर्ने उनले बताए ।

यस्तै कोशी प्रदेश सभापति उद्धव थापाले अहिलेको अवस्थामा सभापति गगन थापाले राजीनामा दिनु उपयुक्त नभएको बताएका थिए । केहीदिनअघि उपसभापति विश्वप्रकाश शर्माले अध्यक्षता गरेको बैठकमा उनले अब नयाँ कार्यसमितिकै नेतृत्वमा अघि जानुको विकल्प नभएको बताएका थिए ।

‘पार्टीभित्र विवाद हुनु अनौठो होइन । तर अब नयाँ नेतृत्वको बारेमा विवाद गरेर समय फाल्नु गलत हुन्छ,’ कोशी सभापति थापाले भनेका थिए ।

यस्तै गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनीका प्रदेश सभापति अमरसिँह पुन भने विशेष महाधिवेशनदेखि नै सभापति थापाका पक्षमा खुलेका थिए ।

पाँच प्रदेश सभापति नयाँ केन्द्रीय समितिको बैठकमा उपस्थित भएर धारणा राख्दा कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर भने दुवै बैठकमा अनुपस्थित रहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?