News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा संघीय निकाय पर्यटन विभागमा दर्ता होटल तथा रिसोर्ट संख्या ३ सय ४९ पुगेको छ र तीमा १६ हजार ३ सय ५० कोठा छन्।
- पर्यटन विभागले पाँचतारे होटल संख्या २८, चारतारे ४०, तीनतारे ३७, दुईतारे ४९ र एकतारे ४४ रहेको तथ्यांक सार्वजनिक गरेको छ।
- पर्यटन विभागले होटल वर्गीकरण मापदण्ड २०७६ मा सुधार गर्दै ग्रिन हस्पिटालिटीका लागि नयाँ मापदण्ड बनाउन सरोकारवालासँग सुझाव मागेको छ।
१० चैत, काठमाडौं । नेपालमा संघीय निकाय (पर्यटन विभाग) मा दर्ता होटल तथा रिसोर्ट संख्या ३ सय ४९ पुगेको छ ।
पर्यटन विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरि साढे ३ सय होटल तथा रिसोर्ट दर्ता भएका छन् । यी होटल/रिसोर्टमा १६ हजार ३ सय ५० कोठा छन् । जसमा २५ हजार ८ सय ८१ शय्या छ ।
यस अनुसार नेपालमा पर्यटक स्तरभन्दा माथिल्लो स्तरका होटलको क्षमता प्रतिरात २५ हजार ८ सय ८१ पर्यटक धान्न सक्ने बनेको छ ।
देशभरि रहेका होटलमध्ये पाँचतारेको संख्या २८ पुगेको छ । यी होटलमा ३ हजार ६ सय २४ कोठा र ५ हजार ३ सय ४० शय्या रहेको विभागको तथ्यांक छ ।
चारतारे होटल ४० पुगेको छ । चारतारे होटलमा २ हजार ८ सय ६४ कोठा र ४ हजार ३ सय १५ शय्या रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै तीनतारे स्तरको होटल ३७ पुगेको छ । यी होटलमा २ हजार २ सय ५६ कोठा छन् । जसमा ३ हजार ७ सय ८४ शय्या रहेको विभागले जनाएको छ ।

दुईतारे स्तरका होटल देशभरि ४९ पुगेको छ । यी होटलमा १ हजार ८ सय ७१ कोठा र ३ हजार २ सय ४१ शय्या छ । एकतारे स्तरका होटल ४४ छन् । जसमा १ हजार २८ कोठा र १ हजार ७ सय ७९ शय्या रहेको तथ्यांक छ ।
देशभरि पाँचतारे डिलक्स होटल भने ३ वटा छ । जसमा ५ सय ५५ कोठा र ६ सय २० शय्या रहेको विभागले जनाएको छ । लक्जरी बुटिक/हेरिटेज होटल (पाँचतरे स्तर) संख्या समेत ३ छ । जसमा २ सय ४५ कोठा र ४ सय ५५ शय्या छ ।
त्यसैगरी डिलक्स/हेरिटेज (चारतारे स्तर) का होटल ५ पुगेका छन् । जसमा ३ सय ५ कोठा र ४ सय ३९ शय्या रहेको विभागले जनाएको छ । नर्मल हेरिटेज बुटिक (तीनतारे स्तर) संख्या १ छ । जसमा ९२ कोठा र ९९ शय्या छन् ।
यस्तै साधारण रिसोर्ट संख्या १ सय २७ छ । जसमा २ हजार ८ सय १२ कोठा र ४ हजार ७ सय ४८ शय्या छ । डिलक्स रिसोर्ट ९ वटा छन् । जसमा ४ सय ५२ कोठा र ६ सय ६३ शय्या छ । लक्जरी रिसोर्ट ३ छन् । जसमा २ सय ४६ कोठा र ३ सय ९८ शय्या रहेको तथ्यांकले देखाएको छ ।
वर्गीकरण मापदण्ड नयाँ बनाइँदै
पर्यटन विभाग होटल वर्गीकरणमा नयाँ मापदण्ड बनाउने तयारीमा जुटेको छ । अहिले २०७६ सालको मापदण्ड कार्यान्वयनमा छन् । पर्यटन विभागका अनुसार यो मापदण्डमा समयानुकूल परिमार्जनको तयारी छ । सोहीकारण विभागले सरोकारवालासँग राय/सुझाव माग गरेको छ ।
विभागले सूचना प्रकाशित गर्दै विद्यमान मापदण्ड २०७६ मा सुधार गर्नुपर्ने पक्ष, ग्रिन हस्पिटालिटीका लागि आवश्यक सूचक र होटलको भौतिक पूर्वाधार र सेवाको गुणस्तर वर्गीकरणबारे समेत सुझाव मागिएको छ ।
वर्तमान विश्व पर्यटन बजारमा बढ्दो वातावरणीय सचेतना र दिगो विकासको आवश्यकता मध्यनजर गर्दै सरकारले ग्रिन हस्पिटालिटीका आधारमा नयाँ मापदण्ड बनाउन लागेको विभागको भनाइ छ ।
प्रतिक्रिया 4