४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार हुन ३५३ जनाले आवेदन दिएका छन् । रास्वपाले गएराति सार्वजनिक गरेको सूचीमा पार्टीका सचिवालय र केन्द्रीय सदस्यबाट १५ जनाले समानुपातिकतर्फ आवेदन पेश गरेका छन् ।
केन्द्रीय नेताहरू लिमा अधिकारी, प्रतिभा रावल, रमेश प्रर्साइ, अरनिको पाँडे, क्रान्तिशिखा धिताल, मेघ आले, विजय जैरु, टिका संग्रौला, खुश्बु सरकार श्रेष्ठ, नन्दन यादव, इश्रा मुल्ला मिया, कुसुम महर्जन, एलिजा गुरुङ, प्रमिला कुलुजु र निशा मेहताले समानुपातिक उम्मेदवार हुन आवेदन दिएका छन् ।
प्रतिनिधि सभा निर्वाचन ऐन अनुसार दलहरूले समानुपातिकको बन्द सूची बुझाउँदा समावेशिताको आधारमा पेश गर्नुपर्ने हुन्छ । निर्वाचन ऐनका आधारमा रास्वपाले समानुपातिक तर्फ आवेदन पेश गर्न आव्हान गरेको थियो । दलहरूले समानुपातिकको बन्दसूची बुझाउँदा समावेशिताका लागि दलित, आदिवासी, खसआर्य, मधेसी, थारू र मुस्लिमको प्रतिनिधित्व हुने गरी बुझाउनुपर्ने हुन्छ । ऐनको प्रावधान अनुसार संकलित नामहरूको सूची प्रकाशित गरिएको छ ।
समानुपातिकतर्फ उम्मेदवार हुन इच्छा राखेर सबैभन्दा बढी आवेदन बागमतीबाट परेको छ भने कम आवेदन कर्णालीबाट परेको छ । कोशीमा ६०, मधेसमा ६१, बागतमीमा ९४, गण्डकीमा ४३, लुम्बिनीमा ४४, कर्णालीमा २१ र सुदूरपश्चिममा ३० जनाले आवेदन दिएका छन् ।
सहप्रवक्ता रमेश प्रसाईंले खस आर्य क्लस्टरबाट ताप्लेजुङबाट आवेदन परेको छ । सुनसरीबाट केन्द्रीय सदस्य निशा मेहता मधेसी क्लस्टरबाट आवेदन दिएकी छन् । उपनिर्वाचनमा इलाममा पराजित मिलन लिम्बु पनि समानुपातिकको उम्मेदवारका लागि इच्छा देखाएका छन् । उनको नाम जनजाति आदिवासीबाट क्लस्टरमा छ ।
विवेकशील साझाबाट रास्वपा आएका प्रकाशचन्द्र परियार (सुनसरी) बाट दलित क्लस्टरमा आवेदन परेको छ । संविधान सभामा समानुपातिक सांसद बन्न एमालेलाई पैसा बुझाएको भनेर विगतमा विवादित बनेकी राज्यलक्ष्मी गोल्छा (मोरङ)ले मधेशी क्लस्टरमा आवेदन दिएकी छन् । गायिका सत्यकला राईको आदिवासी जनजाति क्लस्टरमा आवेदन परेको छ ।
मधेशबाट ६१ जना समानुपातिकको उम्मेदवार हुन चाहेका छन् । केन्द्रीय सदस्य डा. नन्दन यादवले आवेदन दिएका छन् भने जेजनी अगुवा पुरुषोत्तम सुप्रभात यादव पनि रास्वपाबाट समानुपातिक उम्मेदवार हुन चाहेका छन् । जेनजी अगुवा यादवले २३ भदौको प्रदर्शनका लागि प्रशासनसँग अनुमति मागेका थिए ।
सबैभन्दा बढी इच्छुक बागमती प्रदेशबाट देखिएका छन् । कोषाध्यक्ष लिमा अधिकारीले खस आर्य क्लष्टरबाट र सह कोषाध्यक्ष बसुमाया तामाङ समानुपातिको उम्मेदवार हुन इच्छुक देखिएका छन् । केन्द्रीय सदस्य अरनिको पाँडे खस आर्य क्लस्टरमा आवेदन दिएका छन् । पाँडे योजना आयोगको पूर्व सदस्य समेत हुन् । गत निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दिने घोषणा गरेका उनले चुनावी प्रतिस्पर्धा भने गरेनन् । केन्द्रीय सदस्य खुश्बु सरकार श्रेष्ठ जनजाति क्लष्टरमा ललितपुरबाट आवेदन परेको छ ।

विवेकशील साझा पार्टीको पूर्व अध्यक्ष समीक्षा बाँस्कोटा र महासचिव रञ्जु दर्शनाले खस आर्यतर्फ आवेदन दिएका छन् । यही प्रदेशबाट समानुपातिक नाममा पूर्व सञ्चारकर्मी प्रमोद न्यौपानको नाम छ । नेपाली कांग्रेस चितवनका पूर्व नेता जगन्नाथ पौडेलले समानुपातिक उम्मेदवारको आकांक्षी छन् । वैदेशिक रोजगारबाट फर्केर रास्वपाका राजनीतिमा सक्रियहरूमा बागमतीबाट आकांक्षीको संख्या बढी छ । विदेशबाट फर्केर रास्वपाको केन्द्रीय राजनीतिमा संलग्न यमप्रसाद श्रेष्ठ, प्रदीप तिमिल्सेना (साजन), दीपक विश्वकर्मा लगायतले समानुपातिक उम्मेदवारका हुनका लागि नाम दर्ता गराएका छन् ।
गण्डकीबाट ४३ जनाको आवेदन पेश भएको छ । केन्द्रीय सदस्यहरू मेघ आले, इश्रा मुल्ला मिया र एलिजा गुरुङले समानुपातिकमा उम्मेदवार चाहेका छन् । आलेर गुरुङ जनजाति र मिया मुस्लिम क्लष्टरबाट नाम दर्ता गराएका छन् ।
लुम्बिनीबाट ४४ जनाले उम्मेदवारीका लागि इच्छा देखाएका छन् । केन्द्रीय सदस्य क्रान्तिशिखा धितालको खस आर्य क्लस्टरबाट आवेदन परेको छ । रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवारका आकांक्षी ज्ञानु पौड्याल र पुनमकुमारी अग्रवाल आगामी चुनावमा समानुपातिकतर्फ आकांक्षी देखिएका छन् । जेनजी विद्रोह लगत्तै संसद विघटन भएको हुँदा उपनिर्वाचन भने हुन सकेन ।
सुदूरपश्चिमबाट केन्द्रीय नेतामा तीन जना समानुपातिकतर्फ उम्मेदवारको आकांक्षी छन् । यस प्रदेशबाट ३० जनाको आवेदन परेकोमा सहप्रवक्ता प्रतिभा रावल, विजय जैरु र टिका संग्रौला (ज्वाला) को इच्छुक देखिएका छन् ।
रास्वपाले गत निर्वाचनमा समानुपातिक सांसद रहेकालाई यसपटक नदोहोर्याउने विधि बनाएको छ । उम्मेदवार छनोटका लागि रास्वपाले कार्यतालिका बनाएको छ । जसअनुसार पुस ३ गते (हिजो) आवेदकहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।
आजका लागि (पुस ४) प्रारम्भिक उम्मेदवार उपर दाबी विरोधको समय तोकिएको छ । शनिबार सबै प्रदेशमा आकांक्षी उम्मेदवारसँग छलफल गर्ने कार्यतालिका बनाइएको छ । आकांक्षी उम्मेदवारहरूसँग छलफल गर्नका लागि केन्द्र र प्रदेशका नेताहरूलाई सहजकर्ता तोकिएको छ ।
कोशीमा विपिन कुमार आचार्य, निशा डाँगी, अशोककुमार चौधरी र सरिन तामाङलाई जिम्मेवारी तोकिएको छ । मधेसमा मनिष झा, राजन गौतम, बिन्दबासिनी कंसाकार र तपेश्वर यादवले जिम्मेवारी प्राप्त गरेका छन् । बागमतीमा विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, रामकृष्ण भट्टराई र उपेन्द्र पाण्डेलाई तोकिएको छ । गण्डकीमा शिशिर खनाल, असिम शाह, शिव नेपाली, मोहन थापा र राजन गौतमलाई सहजकर्ताको जिम्मेवारी दिइएको छ । लुम्बिनीमा गणेश पराजुली, क्रान्तिशिखा धिताल, लक्ष्मी तिवारी र देवराज पाठकलाई तोकिएको छ । कर्णालीमा हरि ढकाल, बिनिता कठायत र मदन खड्काले आकांक्षी उम्मेदवारसँग छलफल गर्ने छन् भने सुदूरपश्चिममा दिपकराज बोहरा, ध्रुव गिरी, र प्रकाश बिष्टले जिम्मेवारी पाएका छन् ।
समानुपातिकतर्फ आकांक्षीहरूसँग पुस ६ देखि उम्मेदवार छनोट विधि अन्तर्गत ‘लिडसीप एकडडेमी र पोलिटिक प्राक्सी मिटिको मापन’ गरिने भएको छ । पुस १२ र १३ मा इच्छुक आकांक्षीहरूका लागि क्षेत्रमा प्रारम्भिक निर्वाचन गर्ने गरी कार्यतालिका बनाइएको छ । पुस १४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने रास्वपाले जानकारी गराएको छ ।
समानुपातिकतर्फ उम्मेवार हुन आवेदन दिएका तर प्रत्यक्षतर्फको उम्मेदवार हुने गरी परिवर्तन गर्न इच्छुकका लागि अवसर पनि रास्वपाले दिएको छ । त्यसका लागि आवेदन दिन चाहेमा भोलि (पुस ५) गते साँझ ५ बजेसम्मको समयावधि तोकिएको छ ।
समानुपातिक उम्मेदवारको आवेदनका लागि रास्वपाले ५० हजार रुपैयाँ शुल्क तोकेको छ ।
प्रतिक्रिया 4