Comments Add Comment

लगानी सम्मेलनको पहिलो दिनः फितलो व्यवस्थापन, जिज्ञासाविहीन लगानीकर्ता

१५ चैत, काठमाडौं । सरकारले निकै उत्साहका साथ आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुक्रबार शुरु भयो । तर, कमजोर व्यवस्थापन र लगानीकर्ताको उदासिनताले सम्मेलन अपेक्षित सफल हुनेमा आशंका उब्जिएको छ । उद्योगमन्त्रीले नै सिट  नपाएपछि कार्यक्रम हलमा बस्न पाएनन् भने उद्घाटन समारोहमा आमन्त्रित धेरै लगानीकर्ता पनि अलपत्र परे ।

लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका थिए ।

सम्मेलनमा लगानीका लागि लागत अनुमानसमेत उल्लेख गर ७७ वटा परियोजना प्रस्ताव गरिँदैछ । सम्मेलनमा ४० देशका ६ सयभन्दा बढी विदेशी लगानीकर्तासहित १ हजारभन्दा बढी सहभागी रहेको लगानी बोर्डले जनाएको छ ।

जिज्ञासाबिहीन लगानीकर्ता

उद्घाटन शत्र सकिएपछि ‘नेपालमा लगानीका सम्भावना’ विषयमा प्लेनरी नाम दिएको छलफलको सत्र थियो । यसको अध्यक्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली थिए । उनीसँगै अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज बैद्यले प्रस्तुती राखे ।

उनीहरुले भट्याइरहे, पातलो संख्यामा उपस्थित सहभागीहरुले उनीहरुको कुरा सुनिरहे  । न त्यहाँ कुनै अन्तरक्रिया भयो त, न कुनै लगानीकर्ताले नेपालका लगानीको सम्भावनाका विषयमा कुनै जिज्ञासा राखे । उद्घाटन शत्रपछि टि ब्रेक भएका कारण पनि सहभागीहरुको संख्या एकदमै न्यून थियो ।

त्यसपछि खाना खाने ब्रेक । ब्रेक लगत्तै दुईवटा समानान्तर शत्रहरु । एउटा उर्जा सम्बन्धी र अर्को सूचना प्रविधिसम्बन्धी । दुबै शत्रमा विभागीय मन्त्रीहरुले अध्यक्षता गरेका थिए । उर्जामा वर्षमान पुन र प्रविधिमा गोकुल बास्कोटा । दुबै कार्यक्रममा पूर्वनिर्धारित वक्ताहरु थिए । वक्ताहरु सबैले आ-आफ्नो धारण राखे ।

दुई समानान्तर सत्र मध्येमा अलिकति चर्चा उर्जाको भयो । यस सत्रमा उर्जाको बजार कहाँसम्म छ, नेपाललेे कहाँ-कहाँसम्म विद्युत् बेच्न सक्छ भन्ने विषयमा वक्ताहरुले धारणा राखे । यसमा पावर चाइनाका प्रवन्ध निर्देशक र बंगलादेशका इन्जिनियरले उर्जाको सम्भावना राम्रो रहेको बताए । सत्रका अध्यक्षता गरेका मन्त्री पुनले दक्षिण एशिया मात्रै नभएर अन्य मुलुकहरुमा पनि बजार विस्तार गर्ने कुरा सुनाए । विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले पनि उर्जाको सम्भावनाका विषयमा छोटकरीमै आफ्नो भनाई टुग्यांए ।

प्रविधिका विषयमा पनि वक्ताहरुले केवल एकतर्फी बोलिरहे । केहिले सुने त बाँकी मोवाइलमै मस्त देखिन्थे । कुनै लगानीकर्ताले कुनै विषयमा जिज्ञासा राखेनन् ।

त्यसपछि सञ्चालन भएका थप पर्यटन र उद्योगसम्बन्धी दुई समानान्तर सत्रमा पनि हालत यस्तै भयो । उद्योग सम्बन्धी सत्रको अध्यक्षता उद्योग मन्त्री यादवले गरेका थिए भने पर्यटनसम्बन्धी सत्रको अध्यक्षता राष्ट्रिय योजना आयोगका सदस्यले गरेका थिए ।

अन्य सत्रहरुमा विभागीय मन्त्रीहरुको अध्यक्षतामा सञ्चालन भएपनि पर्यटन सम्बन्धी छलफल हुने सत्रमा आयोगका सदस्यले अध्यक्षता गरे । पर्यटनमन्त्री नभए पनि राज्यमन्त्री थिए, तर उनलाईलाई त्यो जिम्मेवारी दिइएन ।

लगानी गर्न इच्छुक लगानीकर्ताले त केही जिज्ञासा राख्नु पर्ने हो तर, त्यो देखिएन ।

उद्योग शत्रका सहजकर्ता प्रदीपकुमार श्रेष्ठले लगानीकर्तालाई जिज्ञासा राख्न बारम्बार आग्रह गरे । उनले जिज्ञासा राख्न पाउनुलाई सुनौलो अवसरको रुपमा ब्याख्या गरे ।

एक नेपाली सहभागीले कृषि विषयमा जिज्ञासा राखे । मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले त्यसको जवाफ दिइन् । त्यसपछि एकजना पत्रकारले हुवाजिनसमक्ष प्रश्न राखे । तर कुनै विदेशी लगानीकर्ताले कुनै जिज्ञासा राखेनन् ।

व्यवस्थापन कमजोर

लगानी बोर्डको कुरा पत्याउने हो भने सञ्चारकर्मी तथा अन्य सहभागी जोड्दा १ हजार १ सयभन्दा बढीको सहभागिता सम्मेलनमा स्थलमा हुनुपर्छ ।

सम्मेलनको व्यवस्थापन भने फितलो रह्यो । सम्मेलनमा सहभागी हुन आएका धेरै पाहुनाले उभिन समेत ठाउँ पाएनन् । कार्यक्रमस्थलमै पुगेर पनि कतिपयले विदेशी पाहुनाहरुले उद्घाटन प्रत्यक्ष हेर्न पाएनन् । कार्यक्रम हुने हलमा आएकामध्ये आधा प्रवेश गर्ने वित्तिकै हल भरियो । बाँकी रहेका सबैले सम्मेलनको उद्घाटन शत्र टेलिभिजन स्त्रिmनमा हेरेर चित्त बुझाउनु पर्‍यो ।

यद्यपि, कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । पास वितरणमा भएको लापरबाहीले सञ्चारकर्मीहरुको असन्तुष्टि बाहेक सम्मेलन स्थलमा अन्य त्यस्तो केहि देखिएन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत मन्तव्य राख्दै लगानी तथा आपसी अनुभव आदानप्रदानका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । अर्थमन्त्रीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनका सहभागीहरुलाई सम्बोधन गरे । नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएको भन्दै ओलीले कुनै पनि द्विविधा नपरी लगानी लिएर नेपाल आउन आग्रह गरे ।

उद्घाटन शत्रमा प्रमुख प्रतिपक्षी कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले पनि सम्बोधन गरे । डा. महतले लगानीका लागि आग्रह नै गरे ।

उद्योगमन्त्रीको चर्चा

सम्मेलनको चर्चाका पात्र भनेे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव बनेका छन् ।

यसअघि २०१७ मा भएको लगानी सम्मेलनमा तत्कालीन उद्योगमन्त्री लगानी बोर्डका उपाध्यक्ष थिए तर, उनकै नेतृत्वमा त्यसबेला सम्मेलन सम्पन्न भएको थियो । अहिले बोर्डको उपाध्यक्ष अर्थमन्त्री छन् । त्यसैले उद्योग मन्त्री यादव भूमिकाविहीन देखिए । कतिसम्म भने उद्घाटन सत्रमा उनले बस्ने कुर्सी समेत पाएनन् ।

उद्योगमन्त्री कहाँ छन् भनेर खोज्दा यादव स्त्रिmनमा उद्घाटन समारोह हेर्न मिल्ने गरी बनाइएको हलको अन्तिम लहरमा बसिरहेका भेटिए । आफूलाई बेवास्ता गरिएकोमा उनी असन्तुष्ट रहेको प्रष्टै देखिन्थ्यो तर, पत्रकारसामू त्यसलाई पोखेनन् ।


उद्योगसम्बन्धी सत्रको अध्यक्षता गरेका उनले उपहारसमेत अस्वीकार गरेका थिए । आयोजकको तर्फबाट शत्रमा अध्यक्ष, सहजकर्ता तथा सबै वक्तालाई उपहार (मायाको चिनो) हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर मन्त्री यादवले पुरस्कार नलिने भन्दै आसनबाट उठेनन् । आयोजकका तर्फबाट उपहार लिएर गैरआवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट मन्त्रीको आसन नजिकै पुगेर आग्रह गरे । भट्टको आग्रह नमानेपछि मन्त्रालयकी सचिव यामकुमारी खतिवडा लगायतले समेत उपहार ग्रहण गर्न आग्रह गरेका थिए । तर, मन्त्री यादवले सबैको आग्रह अस्वीकार गरिदिए ।

आफू आयोजक भएका कारण उहार लिन नमिल्ने मन्त्री यादवले बताएका छन् । तर, अरु शत्रकको अध्यक्षता गरेका मन्त्रीहरुले भने यस्तो उपहार लिएका थिए ।

सरकारको अपरिपक्वता !

अर्को चर्चाको विषय भनेको म्यानमारको हो । लगानी सम्मेलनको उद्घाटन सत्रमा म्यानमारका लगानी तथा विदेश आर्थिक मामिला मन्त्री यू थाउङ टुनले सम्बोधन गरे ।

सम्मेलनका विशेष वक्ताका रुपमा निम्त्याइएका उनले आˆनो सम्बोधनमा कतै पनि म्यानमारबाट नेपालमा विदेशी लगानी ल्याउने वा ल्याउन सकिने विषय कोट्याएनन् । उनले नेपाल र म्यानमारलाई एउटै डालोमा राखेर लगानी ल्याउन आग्रह गरे उनले । चलाखीपूर्ण तरिकाबाट नेपालको मञ्चलाई म्यानमारमा पनि वैदेशिक लगानी आवश्यक छ भनेर बुझाउन उपयोग गरे ।

मन्त्री टुनले मात्रै होइन । म्यानमारका निजी क्षेत्रका प्रतिनिधिले पनि उस्तै कुरा गरे । दिउँसो भएको ‘औद्योगिक आधार र रोजगारी सिर्जना’सम्बन्धी सत्रमा पनि म्यानमारको योमा स्ट्राटेजिक होल्डिङसका कार्यकारी अध्यक्ष सर्ज पुनले त्यस्तै बठ्याइँ गरे ।

उनले सम्मेलनमा सहभागी लगानीकर्तालाई सोझै म्यानमारमा लगानी लिएर आउन आग्रह गरे । उनको त्यस्तो आग्रहपछि कार्यक्रममा सहभागीबीच हाँसो नै चल्यो । लगत्तै सत्रका सहजकर्ता पञ्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले यस विषयमा छुट्टै छलफल गरौंला भन्दै हस्तक्षेप नै गरेर कुरा मोडे ।

यसले सरकारको अपरिपक्वता प्रष्ट पारेको छ । लगानी खोज्ने मामिलामा नेपालजस्तै अवस्थामा रहेको म्यानमारलाई किन लगानी सम्मेलनमा वक्ता बनाइयो भन्ने प्रश्न उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment