
१६ चैत, काठमाडौं । भारतीय मुथुट ग्रुपले नेपालमा वित्तीय क्षेत्रमा लगानी भित्र्याउने भएको छ । ग्रुप अन्तरगतको मुथुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा साझेदारी गर्ने गरी लगानी ल्याएको छ । यो फाइनान्स भारतमा सुन धितो राखेर कर्जा दिन निकै चर्चित छ ।
कम्पनीले करिब ४० करोड लाख रुपैयाँ बराबरको लगानी गरेको थियो । मुथुट फाइनान्सका अध्यक्ष एमजी जर्ज मुथुटलाई युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त चौधरीबीच लगानी ३९ करोड ९० लाख बराबरको लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
मुथुत ग्रुपका अध्यक्ष लगानी सम्मेलनमा भाग लिन नेपाल आएका छन् । ग्रुपले यअघि नै नेपाली फाइनान्स क्षेत्रमा लगानी ल्याउने समझदारी गरेको थियो । लगानी सम्मेलनको अवसर पारेर चौधरी ग्रुपले मुथुटलाई नेपाल ल्याएर लगानी पक्का गराएको हो ।
मुथुत ग्रुपले प्रतिकित्ता २१ लाख कित्ता सेयर किनेको छ । १ सय ९० रुपैयाँका दरले मुथुत फाइनान्सलाई लगानी गराइएको हो ।
युनाइटेड फाइनान्समा अध्यक्ष बसन्त चौधरीले मुथुत फाइनान्सको नेपाल प्रवेशलाई गर्व गर्ने अवसर भनेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दूरदर्शी सरकार रहेको कारण मुथुट फाइनान्सलाई नेपाल ल्याउन सम्भव भएको बताएका छन् ।
उनले यो समझदारीले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबारबाट काठमाडौंमा शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै मुथुटले लामो समयपछि नेपालमा दिगो सरकार बनेका कारण लगानीयोग्य वातावरण बनेको बताएका थिए ।
‘यो सम्मेलने पनि नेपाल आर्थिकरुपमा बलियो बन्न प्रयत्न गरिरहेको पुष्टि गर्छ’, उनले भनेका थिए, ‘१९८२ मा पहिलो पटक म नेपाल आएको थिएँ, त्यो समय र अहिले धेरै भिन्नता पाएँ, नेपालले धेरै गर्न सक्छ, उनले भने ।
वैदेशिक लगानी भित्र्याउन नेपालको आतुरता लगानीकर्ताहरुलाई गरिएको स्वागत, सत्कारले पनि पुष्टि गर्ने उनले बताए । विमानस्थलदेखि यहाँसम्मको सेवा सत्कारले नेपालको वैदिशक लगानीको भोक प्रष्ट थाहा हुन्छ, यहाँहरु वैदेशिक लगानी भित्र्याउन जे पनि गर्न तयार हुनुहुन्छ भन्ने बुझिन्छ’, उनले भने ।
नेपालको तीव्र आर्थिक विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धताको उनले पटक पटक प्रशंसा गरेका थिए ।
भारतको केरलमा मुख्यालय रहेको मुथुट समूहका ६७ करोड ग्राहक छन् । यो समूहलाई युनाइटेड फाइनान्सले रणनीतिक साझेदारका रुपमा नेपाल भित्र्याएको हो । भारतमा गोल्ड लोनमा मुथुट समूह सबभन्दा ठूलो मानिन्छ ।
प्रतिक्रिया 4