
१६ चैत, काठमाडौं । गैह्र आवासिय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महताेले जतिसक्दो छिटो नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । लगानी सम्मेलन अन्तर्गत नेपालमा लगानीको सम्भावना र अनुभव आदान प्रदान सत्रमा उनले यस्तो सुनौलो अवसर पछि नआउने बताए ।
‘यस्तो समय धेरै दिन रहँदैन, म लगानीकर्तालाई भन्न चाहन्छु , समयमै आउनुस्, यो मौका नछुटाउनुस्’, उनले भने । लगानीका लागि नेपालमा प्रशस्त सम्भावना र अवसरहरु रहेको भन्दै उनले साना–साना कुरामा नअल्झिन आग्रह गरे ।
‘समस्या नै नहुने भन्ने हुँदैन, जुन देशमा पनि साना साना समस्याहरु आउन सक्छन् नै, तर, त्यस्ता साना साना समस्याका बारेमा बहस गरेर बस्न जरुरी छैन’, महतोले भने ।
महतोले साना–साना समस्यामा नरुमल्लिन भन्दा हलमा सहभागीहरुबीच हाँसो चलेको थियो । नेपालको सरकार, कर्मचारी, राजनीतिक दलका नेता एकदमै सहज रहेको भन्दै महतोले ढुक्कसँग लगानी गर्न आग्रह गरे ।
‘नेपालको सरकार, नेता, कर्मचारी यति सजिलो छन् तपाईंले सजिलै भेटेर आफ्ना कुरा राख्न सक्नु हुन्छ’, उनले भने । महतोले नेपालका बारेमा नराम्रो चर्चा नगरिदिन सहभागीहरुलाई आग्रह समेत गरेका थिए ।
नेपालमा अहिले लगानी गर्दा ३/४ वर्षमा ठूलो मुनाफा आर्जन गर्न सकिने भन्दै उनले लगानीकर्ता विश्वस्त पार्ने प्रयास गरे । लगानीका लागि नेपालको सरकारले सप्लायर्सलाई ग्यारेन्टी दिएको भन्दै उनले यस्तो विश्वमा कतै नरहेको दाबी गरे ।
नेपालमा लगानी गर्ने यो नै उत्तम समय भएको भन्दै उनले विदेशी लगानीकर्ताले यहाँ आएर कमाएको मुनाफा लैजान कुनै समस्या नरहेको बताए । उनले भने, ‘कमाएको नाफा लैजान सकिँदैन कसैले भन्न सक्दैन, म चुनौती दिन्छु ।’
प्रतिक्रिया 4