Comments Add Comment

मोरङका ९ वटा नगरपालिकामा को-को उठ्दैछन् ?

बिराटनगरको मेयरमा एमालेका जिल्ला अध्यक्षको समेत दाबी

७ चैत, बिराटनगर । स्थानीय तहको निर्वाचन हुने दिन नजिकिँदै जाँदा मोरङमा चुनावी माहोल चुलिएको छ । चिया पसल र चोक-चोकमा दलको लोकप्रियतादेखि सम्भावित उमेद्वारबारे पक्ष/विपक्षमा बहस हुन थालेको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र सम्बन्धित गाउँपालिका र नगरपालिकामा नेतृत्व तोक्ने कामसँगै मेयर र उप-मेयर तथा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउने गृहकार्यमा जुटेका छन् ।

सबैभन्दा पहिले जिल्लाकै आकर्षण मानिएको एकमात्रै उप-महानगरपालिका बिराटनगरको मेयर र उप-मेयरको सम्भावित उम्मेदवारको खोजी हुन थालेको छ ।

काठमाडौंपछिको दोस्रो जनघनत्व

राजधानीपछिको सबैभन्दा बढी ९ वटा निर्वाचन क्षेत्र रहेको जिल्ला हो मोरङ । यहाँ एक उपमहानगरपालिका छ भने ८ वटा नगरपालिका र ८ वटा गाउँपालिकासहित कुल १७ वटा स्थानीय तह छन् । मोरङमा स्थानीय चुनावमा ५ लाख भन्दा बढी मतदाताले सहभागिता जनाउँदैछन् ।

बिराटनगर उपमहानगरपालिकासहित ९ नगरपालिकामा ९८ वडा छन् भने ८ वटा गाउँपालिकामा ६१ वटा वडाहरु छन् । एक नम्बर प्रदेशकै सबैभन्दा बढी मतदाता रहेको मोरङ जिल्लामास्थानीय तह निर्वाचनमा ८२९ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । दलित र अल्पसंख्यकबाट थप ३४ जना मनोनित गरेपछि जिल्लामा जनप्रतिनिधिहरुको संख्या ८६३ पुग्ने छ ।

सबै दलका जिल्ला पार्टी नेतृत्वले सिफारिस गरेकै उम्मेदवारलाई केन्द्रले अनुमोदन गर्नेछ । मोरङ जिल्लाको एक उपमहानगरपालिकासहित ८ नगरपालिकाको मेयर र उपमेयरका लागि विभिन्न पार्टीमा रहेका जिल्ला तहका नेताहरु बढी आकांक्षी देखिएका छन् ।

मुख्यतः नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेका सम्भावित उम्मेदवारको चर्चा बढी हुने गरेको छ । मधेसवादी दलहरु निर्वाचनमा सहभागी नहुने बताइरहेका छन् । राप्रपा भने जिल्ला निर्वाचन कार्यालयमै दर्ता छैन ।

कुन नगरपालिकामा कसको चर्चा छ भन्नेबारे अनलाइनखबरले जिल्लास्थित दलका नेताहरुसँगको सोधपुछपछि अनलाइनखबरले तयार पारेको एक रिपोर्टः

बिराटनगर उपमहानगारपालिका

पूर्वी नेपालकै व्यापारिक केन्द्रका रुपमा मानिने विराटनगर मुख्यत पूर्वी नेपालकै ऐतिहासिक राजनीतिक थलोको रुपमा समेत परिचित छ । वीपी कोइरालादेखि गिरिाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायतको राजनीतिक थलोको रुपमा बिराटनगरलाई चिनिन्छ ।

नयाँ संरचना अनुसार साविकको वैजनाथपुर गाविस पुरै र वुधनगर १,३ ५ वडा समावेश भएको बिराटनगर उपमहागरपालिका ७७ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ ।

कुल २ लाख १४ हजार ६ सय ६३ जनसंख्या रहेको बिराटनगर उपमहानगरपालिकामा १ लाख १४ हजार १ सय ७६ मतदाता छन् । स्थानीय तह पुनसंरचना सँगै थपिएका गाविस र वडाहरुका कारण मतदाता संख्या बढेको हो ।

पार्टीहरुभित्रको गुटगत राजनीति एवं केन्द्रीय नेताहरुको हस्तक्षेपदेखि जिल्ला नेतृत्वहरुको ईच्छाबमोजिम फरक-फरक व्यक्तिको नाम उप-महानगरपालिकाको मेयर र उप-मेयरमा चर्चामा छ ।

सबैभन्दा बढी केन्द्रीय नेताहरुको हस्तक्षेप हुने नेपाली कांग्रेसमा यतिबेला थुप्रै व्यक्ति सम्भावित मेयरको उमेद्वारका रुपमा चर्चामा छन् ।

नेपाली कांग्रेसका तर्फबाट मोरङ कांग्रेसका सचिव नागेश कोइराला, नगर सभापति भीम पराजुली, फुलकुमार लालवानी र विश्वनाथ रिजालको नाम मेयरका रुपमा चर्चामा छ ।

कोइरालालाई मेयरमा अघि सार्न केही केन्द्रीय नेता लागेका छन् भने मोरङका पूर्वसभापति अमृत अर्यालले फूलकुमार लालवानीको नाममा समर्थन गर्ने संकेत दिएका छन् । केन्द्रीय राजनीतिमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको लबिङ भन्दा भिन्न नेता कृष्ण सिटौलाको लविङ्गमा रहेका नगरका सभापति पराजुली पनि उत्तिकै चर्चामा छन् ।

नेपाली कांग्रेसबाट उपमेयरमा सुनिता घिमिरे, प्रमिला थापा, रेखा पराजुली, विजेता अधिकारी, सुनकुमारी कार्की विन्दा कार्की, रीता पोख्रेल चर्चामा छन् ।

नेपाली कांग्रेसजस्तै एमालेभित्र पनि बिराटनगर उप-महानगरपालिकाको मेयरमा धेरैको नाम चर्चामा आएको छ । एमालेबाट मेयरमा एमाले मोरङ अध्यक्ष विनोद ढकाल, पूर्व अध्यक्ष महेश रेग्मी र एमालेका नगर इञ्चार्ज सागर थापाको नाम चर्चा छ ।

त्यसैगरी एमालेबाट उपमेयरमा शिल्पा कार्की र लीला रिजालको नाम चर्चामा छ ।

माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिकाको मेयर पदका लागि भोगेन्द्र यादवलाई अगाडि सार्ने घोषणा गरिसकेको छ । उपमेयरका लागि नमिता न्यौपानेको नाम सिफारिस गर्ने माओवादीले तयारी गरेको छ । यादव माओवादी केन्द्र बिराटनगरका इञ्चार्ज समेत हुन् । उपमेयरकी उम्मेदवार न्यौपाने बिराटनगर माओवादी केन्द्रकी संयोजक हुन् ।

उर्लाबारी नगरपालिका

नयाँ संरचना अनुसार उर्लाबारी नगरपालिका मधुमल्ला ७ र ९ र राजघाट गाविस गाभेर बनाइएको छ । उत्तरपूर्वी मोरङमा पर्ने उर्लाबारी नगरपालिका कुल जनसंख्या ५४ हजार ६ सय ९६ छ । ७४.६२ किलोमिटर क्षेत्रफलमा फैलिएको उर्लाबारी नगरपालिकामा ३५ हजार १० जना मतदाता छन् ।

उर्लावारीको मेयरमा नेपाली कांग्रेसबाट वीरवल थापा र जयधर्म आर्चायको नाम चर्चामा छ । कांग्रेसबाटै अर्का आकांक्षी खड्ग फागो र भोलामान श्रेष्ठ पनि चर्चामा छन् ।

उपमेयरमा अहिलेसम्म कांग्रेसबाट शोभा पालुङ र सीता कार्की आकांक्षी देखिएका छन् ।

त्यसैगरी उर्लाबारीको मेयरमा नेकपा एमालेबाट भुपाल जिमी, मानबहादुर श्रेष्ठ, उमाकान्त गौतम, अग्नि भट्टराई र पुष्प ढकालको नाम चर्चामा छ ।

एमालेबाट उपमेयरमा मीना पौडेल र विद्या चाम्लिङको नाम चर्चामा छ ।

उर्लाबारीमा माओवादी केन्द्रबाट मेयरका रुपमा राजेन्द्र पौडेल, प्रेम मिभक, अनुप राजवंशी र पूरा ताजपुरियाको नाम चर्चामा रहेको छ ।

लेटाङ नगरपालिका

नयाँ संरचना अनुसार भोगटेनी गाविसका २ देखि ११ वडासम्म र जाँते गाविसका १,२,५,६ देखि ९ सम्म लेटाङ नगरपालिकामा गाभिएका छन् । त्यसैगरी वारङ्गी गाविस पनि लेटाङमै गाभिएको छ । अधिकांश पहाडी भूभाग रहेको लेटाङ नगरपालिकाको कुल जनसंख्या ३२ हजार ५३ रहेको छ । २१५.२३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा २१ हजार ४ सय २० मात्रै मतदाता छन् ।

लेटाङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट दीपकचन्द्र राई, शंकर राई र राजकुमार लामाको नाम चर्चामा छ ।

मेयरमा एमालेबाट भूपेन्द्र लावती, घनश्याम खतिवडा, भूमि मगर र शान्ति लिम्बूको नाम चर्चामा छ ।

त्यसैगरी माओवादी केन्द्रबाट लेटाङको मेयरमा एक मात्र आकांक्षीका रुपमा गोपाल नेपालीलाई अघि सारिएको छ ।

पथरी शनिश्चरे नगरपालिका

नयाँ संरचना अनुसार साविकको पथरी शनिश्चरे ननगरपालिका र हसन्दह गाविस जोडेर पथरी शनिश्चरे नगरपालिका बनाइएको हो । कुल ६२ हजार ४ सय ४० जनसंख्या रहेको पथरी शनिश्चरे नगरपालिकाले ७९.८१ वर्ग किलोमिटर क्षेत्रफलमा ओगटेको छ । यहाँको कुल मतदाता संख्या ४० हजार ५ सय ५५ छ ।

पथरी शनिश्चरे नगपालिकामा नेपाली कांग्रेसबाट गणेश खडका, किरण थापा र माधव कोइरालाको नाम चर्चामा छ ।

एमालेबाट मेयरमा रामकुमार बस्नेत, मोहन तुम्वा र तिलक वान्तवा चर्चामा छन् । एमालेबाट मोहन न्यौपाने र कृष्णा राई पनि मेयरका आकांक्षी हुन् । त्यसैैगरी माओवादी केन्द्रबाट मेयरबा रुपमा जहरमान लिम्वू, विकास मगर र योशदा खतिवडाको नाम चार्चामा छ । त्यसैगरी नेत्र पोख्रेल पनि माओवादीबाट मेयरका आकांक्षी हुन् ।

बेलबारी नगरपालिका

नयाँ संरचना अनुसार साविकको बेलबारी नगरपालिकामा डँागीहाट र बाहुनी गाविस समेटिएका छन् । कुल ६५ हजार ८ सय ९२ जनसंख्या रहेको वेलवारी नगरपालिकामा ४२ हजार ९ सय २ जना मतदाता छन् । १३२.७९ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको बेलबारी नगरपालिकामा मेयरका आकांक्षी धेरै देखिएका छन् ।

बेलबारीको मेयरमा नेपाली कांग्रेसबाट राजकुमार लिम्बु, नगेन्द्र कट्टेल र रुकमणि धिमालको नाम चर्चामा छ । कांग्रेसबाटै यज्ञ ढकाल पनि मेयरका आकांक्षी हुन् ।

एमालेबाट बेलबारीको मेयर पदका लागि डीपी राई, ज्ञानेन्द्र सुवेदी, इरान राई र राजकुमार बस्नेतको नाम चर्चामा छ । त्यस्तै, माओवादी केन्द्रबाट तिलक राई, पशुराम सुवेदी, रामप्रसाद राई र पुष्प चौधरीको नाम चर्चामा छ ।

सुन्दरहरैंचा नगरपालिका

नयाँ संरचना अनुसार साबिकका कोशीहरैंचा र सुन्दरदुलारी नगरपालिकालाई गाभेर सुन्दरहरैंचा नगरपालिका निर्माण भएको छ । कुल ८० हजार ५ सय १८ जनसंख्या रहेको सुन्दरहरैचा नगरपालिकामा ५३ हजार ८ सय ७६ जना मतदाता छन् । यसको क्षेत्रफल ११०.१६ वर्ग किलोमिटरमा फैलिएको छ ।

सुन्दरहरैंचा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट शिव ढकाल, लोकप्रसाद संगौला, गोपाल थापा र चैतन्य सापकोटाको नाम चर्चामा छ ।

त्यस्तै, नेकपा एमालेबाट अजम्बर राई, केदार गुरागाई र अर्जुन अधिकारीको नाम चर्चामा छ । एमालेबाट शिक्षक पितकुमार श्रेष्ठको नाम पनि मेयरका रुपमा चर्चामा छ ।

माओवादी केन्द्रबाट नवराज चापागाई, मित्रसेन योञ्जन र कुमार राईको नाम मेयरका रुपमा चर्चामा छ ।

रतुवामाई नगरपालिका

नयाँ संरचनाअनुसार साविकको बरंडगा गाविसका १, ४, ५ र ७ नम्बर वडाहरु, झुर्किया, महादेवा, गोविन्दपुरका १,३,४,७ वडा र सिजुवा गाविस एवं इटहरा गाविस मिलाएर रतुवामाई नगरपालिका निर्माण गरिएको हो ।

कुल ५५ हजार ३ सय ८० जनसंख्या रहेको रतुवामाई नगरपालिका १४२.१५ वर्गकिमी क्षेत्रफल फैलिएको छ । यहाँको मतदाता संख्या ४२ हजार ४ सय छ ।

रतुवामाई नगरपालिको मेयरमा नेपाली कांग्रेसबाट नागेश्वर सिंह, खड्ग चुम्वाङ र रविन राईको नाम चर्चामा छ । एमालेबाट विश्वनाथ राय, रुपनारायण मिश्र, टेकेन्द्र पमु, शिवनारायण राजवशी र गोपी चापागाईको नाम चर्चामा छ ।

रतुवामाई नगरपालिकाको मेयरमा माओवादीबाट प्रकाश पौडेल, सुनिल सिंह र जुब्बा सोरेनको नाम चर्चा छ ।

सुनवर्षी नगरपालिका

साविकको रंगेली नगरपालिकाका ९, १० र ११ नम्बर वडाहरुका साथै अमरदह, गोविन्दपुर र बरंडगाका केही वडाहरु र डाइनिया गाविसलाई गाभेर सुनवर्षी नगरपालिका बनाइएको छ । यो नगरपालिकाको कुल जनसंख्या ५० हजार ७ सय ५८ छ । यस नगरपालिकामा २८ हजार ८ सय ९१ जना मतदाता छन् । यसको क्षेत्रफल १०६.४ वर्गकिमी छ ।

यस नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट शिवनारायण सिंह, कालीप्रसाद दास र रमानन्द साहको नाम चर्चामा छ ।

त्यस्तै नेकपा एमालेबाट हसन इमामवक्स, गोपाल थापा, बोधराज वुढाथोकी, डिल्ली बिमली र वत्तराज राजवंशीको नाम चर्चामा छ ।

सुनवर्षीको मेयरमा माओवादी केन्द्रबाट जयन्त दास, श्रवण राजवंशी र सुन्दर तामाङ्गको नाम चर्चामा छ ।

रंगेली नगरपालिका

नयाँ संरचना अनुसार साविक रंगेली नगरपालिकाका १ देखि ८ नं वडामा बबियाबिर्ता र दर्वेशा गाविसलाई गाभेर रंगेली निर्माण भएको हो । कुल ५२ हजार १३ जनसंख्या रहेको रंगेली नगरपालिकामा ३० हजार ३ सय ९१ जना मतदाता छन् । यसको क्षेत्रफल १११.७८ वर्गकिलोमिटर छ ।
रंगेली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल सेडाई, मोदराज घिमिरे र जगनाथ मण्डलको नाम चर्चामा छ । कांग्रेसका रामनारायण मण्डल र सुमन कुँवर पनि मेयरका आकांक्षी हुन् ।

रंगेली नगरपालिमाका एमालेका तर्फबाट मेयर पदमा सन्तोष शाह, मनोज अग्रवाल र दिनेश ठाकुरको नाम चर्चामा छ ।

त्यसैगरी माओवादी केन्द्रबाट दिलिप बगडिया, रामचन्द्र मण्डल र डिल्ली घिमिरेको नाम चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment