Comments Add Comment

कान्छा गाविस अध्यक्ष महेश बस्नेतको अनुभवः युवाले टिकट पाउने चान्स छैन

'६० कटेपछि प्रमुख खाने, अहिलेलाई वडाध्यक्ष पनि नछाडने'

२३ चैत, काठमाडौं । भक्तपुरको गुण्डु गाविसको अध्यक्षमा ०५४ सालको स्थानीय निर्वाचनमा विजयी हुँदा महेश बस्नेत भर्खर २२ वर्ष पुग्दै थिए । यसबीचमा उनी युथफोर्स र युवा संघको अध्यक्ष हुँदै उद्योगमन्त्री समेत भइसके ।

तर, २० वर्षपछि अर्को स्थानीय चुनाव हुनै लाग्दा महेश बस्नेतको उमेरका युवाले गाउँपालिकाको अध्यक्ष होइन, वडाध्यक्षमा समेत उम्मेदवार बन्न हच्किनुपर्ने अवस्था आएको छ । महेश बस्नेतका पालामा गाउँपालिका र नगरपालिकामा भिड्नेहरु अहिले फेरि उही कुर्सी ताकिरहेका छन् ।

आजभन्दा २५ वर्ष अघि ०४९ सालमा मेयर र अध्यक्ष भएका नेता नै फेरि पनि सोही पदका प्रमुख दाबेदार बन्दा यसबीचमा जन्मिएका र राजनीतिमा लागेका युवाले मतदाता र मत माग्ने अभियन्ता मात्रै बन्नुपर्ने अवस्था देखिँदैछ ।

विसं. ०५४ सालमा देशभरका करीव ४ हजार गाविस अध्यक्षमध्ये कान्छो अध्यक्ष बनेका एमाले नेता महेश बस्नेत यसपटक आफू अध्यक्ष बन्दाकै उमेरका युवाले कुनै पनि पार्टीबाट टिकट पाउने लक्षण देखिरहेका छैनन् ।

राजनीतिक दलहरु उम्मेदवार छनौटको मापदण्ड तय गर्न व्यस्त रहेका बेला युवा नेताहरु कुनै पनि दलको रोजाइमा परेका छैनन् । यस्तो किन हुँदैछ ?

कान्छा गाविस अध्यक्ष बस्नेतको अनुभव उनकै शब्दमाः

कानुनले झण्डै अध्यक्ष हुन दिएन

विसं. ०५४ जेठमा स्थानीय चुनाव हुँदा म २२ वर्ष पुगेको थिएँ । त्यसबेला निर्वाचन ऐनअनुसार उम्मेदवार हुन २५ वर्ष उमेर पुग्नुपर्ने थियो । म गाउँमा मनमोहन अधिकारी सरकारले आफ्नो गाउँ आफैं बनाउँ मार्फत ३ लाख बजेट गएपछि,त्यसको परिचालन गर्ने सर्वदलीय संयन्त्रमा बसेर काम गर्दै थिएँ । गाउँकमिटीको सचिव समेत थिएँ ।

हाम्रो गाउँमा एमाले तेस्रो शक्ति थियो । मेरो उमेर नपुग्ने भएपछि अहिले रेडियो नेपालमा कार्यरत ईश्वर थापालाई अध्यक्षको उम्मेदवार बनाइयो । उहाँ ०४९ मा पनि अध्यक्ष उठेर हार्नुभएको थियो ।
संयोग कस्तो पर्‍यो भने तत्कालीन लोकेन्द्रवहादुर चन्द प्रधानमन्त्री र बामदेव गौतम गृहमन्त्री भएको सरकारले अध्यादेश मार्फत स्थानीय निकायमा उम्मेदवार हुन २१ वर्ष पुगे हुने व्यवस्था गर्‍यो । अनि त मलाई गाउँको अध्यक्ष उठ्न सबैले दबाव दिए ।

ठूलो रिस्क मोलेर एमाले कमजोर भएको ठाउँमा अध्यक्ष उठेँ र जितेँ पनि । पछि निर्वाचन आयोगको रेकर्ड अनुसार सबैभन्दा कान्छो गाविस अध्यक्ष मै भएँछु । देशभर मेरो चर्चा त्योबेलै भयो ।

युवाले भविश्य सोच्छः पाकोले भेटेका बेला छाड्दैन

म अध्यक्ष भएपछि गुण्डुको भौतिक पूर्वाधार विकासमा धेरै काम गरियो । १३ लाख बजेटको काम ६ लाखमै गर्न थाल्यौं । स्थानीय सहभागिता राम्रो भयो । ६०/६५ वर्षका हजुरबा समानका वडाध्यक्षहरुसँग काम गर्नुपर्ने । गाविस सचिव काकाजस्तो उमेरका ।

सीडीओ साबहरुले पनि केटो देख्ने । तर, मैले आफ्नो उमेरभन्दा पाको ढंगले नै काम गरेँ । कसैसँग उमेरकै कारण असहज महशुस भएन । आफ्ना अगाडि ५०/६० वर्षको राजनीतिक जीवन रहेकाले कहिँ कतै कमजोरी हुन्छ कि भनेर सधैं जोगिएँ । किनकि गाविस अध्यक्षमै गडबडी भयो भने बाँकी राजनीतिक जीवन त समाप्तै हुन्थ्यो ।

युवालाई गाउँ र नगरको प्रमुख उपप्रमुख र वडाध्यक्षको जिम्मेवारी दिँदा वास्तवमा राम्रो काम हुन सक्छ भन्ने म आफैं उदाहरण हो । किनकि बुढा भइसकेकाहरुका लागि अगाडिको बाटो हुँदैन, यही नै मेरो अन्तिम गन्तव्य हो भनेर तलमाथि गर्न सक्छन् । तर युवाले अब १०/२० वर्षपछि आफू जाने माथिल्लो ठाउँहेरिरहेको हुन्छ । त्यसैले उसले भविश्य सम्झेर पनि गलत काम गर्नुअघि दश पटक सोच्नुपर्छ ।

मेरो जीवनको संयोग नै भनौं, गाविस अध्यक्षमा पनि देशभरको कान्छो अध्यक्ष बनेर काम गरेँ । गाविस अध्यक्ष जितेको करीव १८ वर्षपछि मन्त्री हुँदा पनि जेष्ठ प्रधानमन्त्री सुशील कोइरालाको क्याबिनेटको कान्छो मन्त्री हुन पुगेँ । म आफ्नै अनुभवका आधारमा भन्छु- युवालाई कामको जिम्मेवारीप्रति जति संवेदनशीलता र उर्जा हुन्छ, पाको मान्छेमा कमै हुन्छ । किनकि युवाले मैले योभन्दा धेरै माथि जानु छ भन्ने सोचेर लोभलालचमा फस्नुअघि सोच्छ ।

अहिले पाइएन भने कहिल्यै पाइँदैन भन्ने सोच युवामा कमै हुन्छ । २२ वर्षको उमेरमा अध्यक्ष नभएको भए सायद मेरो राजनीतिक यात्रा यति चाँडै माथि पुग्ने थिएन ।

यदि ०५४ मा उमेरकै कारण मैले उम्मेदवार बन्न नपाएको भए सायद गाउँ वा जिल्लाको राजनीतिमा सीमित भएर बसेको हुन्थेँ। अहिले पनि म त्यही गाउँ वा अहिले बनेको एउटा नगरपालिकाको प्रमुख, उपप्रमुख वा वडाध्यक्ष बन्न आफ्नै पार्टीभित्र संघर्ष गरिरहेको हुन्थेँ होला ।

यसपटक युवाको चान्स देखिन्न

कुनै गडबडी भएन भने अब बैशाख ३१ गते स्थानीय तहको चुनाव हुन्छ । यसपालि उम्मेदवारका आकांक्षीहरुको नाम सञ्चारमाध्यम र सामाजिक सञ्जाल तथा पार्टीभित्रका फोरमहरुमा जसरी आइरहेको छ, त्यो हेर्दा युवाले अवसर पाउने सम्भावना म देखिरहेको छैन ।

युवा भनेर हामीले ४० वर्ष उमेर समूहसम्मलाई मानेका छौं । त्यो उमेर समूहका युवाले ठूला पार्टीबाट टिकट पाउने सम्भावना म कमै देख्छु । पाइहाले पनि पार्टी संगठन कमजोर भएको र जित्ने निश्चित नभएको तथा हार्ने खालका ठाउँमा पूराना नेताले उठ्न नचाहेको खण्डमा मात्र युवालाई दिने होला । जित्ने ठाउँमा पूराना बिसौं वर्ष पार्टीमा काम गरेका नेताहरुबीचमै प्रतिस्पर्धा छ ।

हाम्रै पार्टीको कुरा गर्ने हो भने मदन भण्डारी ३५/३६ को उमेरमा महासचिव भइसक्नुभएको थियो । माधव नेपाल, केपी ओली, ईश्वर पोखरेललगायतका नेताहरु पनि ४० को उमेरमा सांसद भइसक्नुभएको थियो । तर, अहिले उहाँहरुले ४०/४५ उमेरका हामीजस्ता नेता कार्यकर्तालाई केटाकेटी नै देख्नुहुन्छ ।

उहाँहरुले आफू बुढो भएको महशुस नगर्नु भएको हो वा हामी केटाकेटीनै भएर हो ? यसले के संकेत गर्छ भने ४० वर्षमुनिका युवाहरु अहिले टिकट दिनका लागि नेतृत्वको नजरमा परिसक्नुभएको छैन ।

पार्टीको टिकट दिने निकायमा ५० भन्दा तलका नेता छैनन् । युवालाई देऊ भनेर पार्टीभित्र दबाव दिने अवस्था पनि कुनै पार्टीमा देखिन्न ।

माथिल्लो तहकाले उमेर वा लोकपि्रयता हेर्ने भन्दा पनि आफू अनुकुल वा आफ्नो गुटको कार्यकर्ता छान्ने हो । त्यहाँभित्र पनि भागबण्डा हुन्छ ।

निर्णय गर्ने नेतामा युवालाई अघि बढाउँ भन्ने सोच देखिन्न । मलाई लाग्छ, अपवाद बाहेक यसपटक महानगर, उपमहानगर र नगरपालिका र गाउँपालिका प्रमुखमा फ्रेस युवाले टिकट पाउन गा्रहो छ ।

यस्तो किन भयो ?

युवाले यसपटक पाउँदैनन् भन्ने कुराले निराशा पनि जगाउन सक्छ । तर, यसमा देशको राजनीतिक अस्थिरता र लोकतन्त्र चलायमान नहुनु मुख्य कारण हो । २० वर्षदेखि स्थानीय चुनाव भएको छैन । वर्षौंसम्म पार्टीमा लागेका नेताहरुले कुनै चुनावमा प्रतिस्पर्धा गर्न नपाएर नेतृत्व जाम भएको छ । जिल्ला अध्यक्ष वा जिल्लाका इञ्चार्जहरु नै जहाँ भेट्यो त्यहिँको प्रमुख बन्न चाहिरहेका छन् । किनकि नेताहरु जनतामा जाँचिनै पाएका छैनन् ।

पार्टीको नेतृत्व तहमा उनीहरुनै छन् । टिकट दिने वा टिकट सिफारिस गर्ने ठाउँमा भएकाले नै पहिले आफूले पाएपछि युवालाई तिमीहरुको पालो पछि आउँछ भन्दैछन् ।

युवाले पनि आफ्नै आँखा अगाडि वर्षौसम्म पार्टीको नेतृत्व गरेर बसेको नेतालाई तिमीले छाड अब हाम्रो पालो भन्न सक्दैन ।

६० कटेसी मेयर/अध्यक्ष खाउँला !

यसबीचमा कम्तिमा तीनवटा स्थानीय चुनाव भएको भए म अध्यक्ष जुन उमेरमा बनेँ त्यो उमेरमा अरु पनि बन्न सक्थे । तर, अहिले त यस्तो भइसकेको छ कि ४० कटेसी रमाउँला भन्ने गीत जस्तै ६० कटेसी मेयर र अध्यक्ष खाउँला भनेर राजनीति गर्नुपर्ने अवस्थामा युवा कार्यकर्ता छन् ।

मुख्यतः यसबीचमा चुनाव नहुनुको ग्यापले गर्दा युवालाई अघि आउन समस्या भयो । राजनीतिमा नयाँ बसन्त आएन । त्यसैले पुराना पात झरेर नयाँ पालुवा पलाउनै पाएनन् ।

धेरै टाढा जानुपर्दैन, यदि क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सर्वोच्च अदालतले २८ वर्षे उमेर हद नलगाएको भए यसपटक ५० वर्षसम्मका नेता त स्ववियुकै सभापतिका दाबेदार हुने थिए । किनकि उनीहरुका लागि अन्त ठाउँनै भएन । अब क्याम्पसमा सभापति बन्न नपाएकाहरुले गाउँपालिका पनि नपाउने अवस्था छ ।

त्यसैले युवाहरुलाई मेरो सुझाव छ- मेयर वा अध्यक्ष नै पाउने अवस्था छैन । तत्काल वडा प्रमुख भने पनि नछाड्नुस् । वडा पनि अहिलेको स्थानीय तहमा ठूलो पद हो । पहिलेको गाविस अध्यक्ष भन्दा वडाध्यक्षको अधिकार धेरै छ । त्यसैले वडाध्यक्षबाट भने पनि सुरु गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment