Comments Add Comment

सरकारलाई धन्यवाद दिँदै एमालेले भन्यो-हाम्रो अडान सही साबित भयो

'अब सबै चुनावतर्फ लागौं, संशोधनको नयाँ झमेलामा नलागौं'

२९ चैत, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सीमांकन हेरफेर सहितको संविधान संशोधन बिधेयक फिर्ता हुनुलाई आफ्नो अडानको जित भएको ठहर गरेको छ । साथै अब अर्को बिधेयक ल्याएर चुनाव अनिश्चित गर्नेतर्फ नलाग्न सरकारलाई आग्रह गरेको छ ।

सरकारले गत मंसिर २४ गते संसदमा दर्ता गरेको ५ नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्ताव सहितको संविधान संशोधन बिधेयक मंगलबार फिर्ता लिएको थियो । एमालेले शुरुदेखि नै यो बिधेयक छलफल र पारित गर्न नसकिने भन्दै फिर्ता लिन सरकारलाई दबाव दिइरहेको थियो ।

बिधेयक फिर्ता भइसकेपछि अनलाइनखबरसँग कुरा गर्दै एमाले संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङले भने, ‘ढिलै भए पनि सरकारले बिधेयक फिर्ता गरेर ठीक कदम चालेको छ । यसका लागि धन्यवाद । यसबाट एमालेको अडान सही साबित भएको छ । जनताको सही अर्थमा जित भएको छ ।’

एमालेले अब अर्को संविधान संशोधन बिधेयकको लफडामा नपर्न सरकारलाई सुझाव दिएको छ ।

मधेसी मोर्चालाई आफैं मस्यौदा लिएर आऊ भने पनि र उनीहरुकै मस्यौदा पारित भए पनि निहुँ खोजिरहने भन्दै नेम्वाङले अनावश्यक झमेलामा नफस्न सरकारलाई आग्रह गरे । नेम्वाङले भने, ‘के हुँदा चाहिँ मधेसी मोर्चा चुनावमा भाग लिन्छ ? हामीले सरकारलाई सोधेका छौं । हामीलाई त के विश्वास छ भने मधेसी मोर्चाका नेताहरुलाई तपाईहरु आफैं सहमतिको मस्यौदा लिएर आउनुस् हामी पारित गरिदिन्छौं भने पनि उहाँहरु मान्नु हुन्न ।’

नेम्वाङले राष्ट्रियसभा सदस्यको निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख उपप्रमुखलाई हटाउने सरकारको प्रस्ताव एमालेलाई स्वीकार्य नहुने प्रष्ट पारे । उनले सीमांकन आयोग गठन गर्ने कुरा भने संविधानले व्यवस्था गरेकाले सरकारलाई सुझाव दिने गरि गठन हुन सक्ने बताए ।

कानुनमन्त्रीको भनाइप्रति आपत्ति

यसैबीच नेम्वाङले संविधान संसोधन विधेयक फिर्ता लिने क्रममा सरकारको तर्फबाट कानुनमन्त्रीले बोलेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

कानुनमन्त्री अजयशंकर नायकले एमालेलाई प्रमुख प्रतिपक्षको भन्दा पनि राष्ट्रिय भूमिका निर्वाह गर्न र नयाँ निकासका लागि सहमतिमा आउन आग्रह गरेका थिए ।

कानुनमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको नेम्वाङले बताए । उनले भने, ‘प्रमुख प्रतिपक्ष आफैंमा राष्ट्रिय भूमिका हो । संविधानले नै त्यो भूमिका दिएको छ । संवैधानिक परिषदमा विपक्षी दलको नेता बरिष्ठतम सदस्य हुने व्यवस्था छ । मन्त्रीले आपत्तिजनक कुरा बोलेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment