Comments Add Comment

डिपिएल क्रिकेटमा कञ्चनपुरको पहिलो जित, चौराहा ११ रनले पराजित

३१ चैत, काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आइकोनिकले लिगमा पहिलो जित आत्मसाथ गरेको छ ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको चौराहाले लिगमा लगातार दोस्रो पराजय ब्यहोरेको हो । कञ्चनपुर यसअघिका दुवै खेलमा पराजित भएको थियो ।

सेती अञ्चल प्रहरी मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०५ रनको झिनो योगफल बनाएको थियो । ओपनर सागर पुन र सुनील धमलाले राम्रो सुरुवात गरेपनि कञ्चनपुरको मध्यक्रमले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । सागरले २० र सुनीलले ३९ रन बनाएका थिए ।

सिद्धान्त लोहनीले सातौं नम्बरमा आएर २० बलमा २७ रन बनाएपछि कञ्चनपुरले १०० रनको आँकडा पार गरेको थियो । कप्तान बिनोद भण्डारी र प्रेम तामाङ शून्यै आउट भएका थिए ।

चौराहाका लागि रामनरेश गिरी र आरिफ शेखले २/२ विकेट लिए भने सुशान भारी र प्रेम तामाङले १/१ विकेट लिए ।

१०६ रनको झिनो लक्ष्य पछ्याए पनि पारस खड्काको टोली चौराहा १७.४ ओभरमा ९४ रनमै समेटियो । एपेण्डिक्सको शल्यक्रियाबाट फर्किएपछि लयमा आउन संघर्षरत पारसको ब्याटबाट निस्किएको २३ रन चौराहाका खेलाडीले बनाएको सर्बाधिक रन हो । आरिफ शेखले २२, पृथु बास्कोटाले १९ र अनिल मण्डलले १२ रन जोडेपनि अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । चौराहाका ४ ब्याट्सम्यान शून्यमै आउट भएका थिए ।

चौराहाको इनिङ ध्वस्त पार्ने क्रममा अभिनाश कर्णले ३ विकेट लिए । म्यान अफ द म्याच बनेका उनले ३ ओभरमा १२ रन खर्चिए । ललितसिंह भण्डारी र चन्द्र साउदले २/२ विकेट लिए । सुनील धमला र सिद्धान्त लोहनीको नाममा एक एक विकेट रहृयो ।

कञ्चनपुरले यसअघि सम्पन्न दुई खेलमा रुपन्देही र काठमाडौंसँग पराजय ब्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment