Comments Add Comment

मैतीमायाको भोगाइ : १२ वर्षमा बिहे, ३५ वर्षमा ९ सन्तान

भन्छिन्- भातमा पल्केर १२ बर्षमै बिहे गरे !

९ चैत, चितवन । अघिपछि सन्तानको लावालस्कर लगाउँदै मैतीमाया चेपाङ नागरिकता बनाउन इच्छाकामना गाउँपालिकाको-१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय भाराङसम्म आइपुगिन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले सुरू गरेको एकीकृत घुम्ती शिविरमा नागरिकताका लागि २ घण्टा लगाएर जैथलिकी मैतीमाया यहाँसम्म आएकी थिइन् । आएपछि उनी थुचुक्क बसिन् ।

‘कुखुराको माउलाई चल्ला’ ले वरपर घेरेजस्तै छोराछोरीले उनलाई वरपर घेरेर बसे । शिविरमा आएका पाँच सन्तानमध्ये कुनै काखमा नै बसे भने कोही यताउता अढेस लागे ।

आफैं कैची घुसाएर कपाल काटिएका टाउका । नाकबाट बगिरहेको सिँगान । शरीरमा फोहोर मैला उस्तै । आ-आफ्नै ध्याउन्नमा थिए ती अवोध बालबच्चा ।

३५ वर्षको उमेरसम्म पनि अनागरिक बनेकी मैतीमायालाई नागरिकता पाइने आशाले यहाँसम्म डोर्‍याएको थियो ।

उनका बुवा गर्भमा नै छँदै बितेको र आमा अन्यत्रै लागेपछि मैतीमायाको नागरिकता बन्न सकिरहेको थिएन । ३५ वर्षको उमेरसम्म नागरिकताको प्रमाणपत्र नभए पनि उनीसँग ९ सन्तानको ‘प्रमाणपत्र’ भने छ ।

१२ बर्षको उमेरमा नै बिहे गरेकी मैतीमायाको कोखबाट ९ सन्तान जन्मिसकेका छन् । सात सन्तान जीवित छन् भने, दुईजना सानैमा बिते । के कारणले दुई छोराको मृत्यु भयो भन्ने कुराको पत्तो स्वयं मैतीमायालाई छैन । परिवार नियोजनका बारेमा पनि मैतीमायालाई कुनै जानकारी छैन ।

भात र अन्य खानेकुरा खान पाइन्छ भनेर पल्केर नै १२ बर्षमै बिहे गरेँ’ मैतीमायाले वाल्यकाल सम्झिँदै भनिन्

मैतीमायाले जस्तै धेरैभन्दा धेरै सन्तान जन्माएका कारणले गर्दा स्वास्थ्य अवस्था समेत चेपाङ वस्तीका महिलाहरुको कमजोर हुने गरेको पाइन्छ । ‘भगवानले दिएजति हात थाप्नुपर्दछ’ भन्ने मानसिकता अझै पनि विद्यमान छ चेपाङ समुदायमा ।

यी वस्तीहरुमा बालमृत्युदर र मातृमृत्युदर पनि उच्च छ । धेरै सन्तान जन्माउनुका पछाडि ‘बाँच्नेहरु बाँच्छन्, मर्नेहरु मर्छन्’ भन्ने धारणा पनि चेपाङ गाउँमा छ  ।

मैतीमायाले ९ सन्तानका लागि झण्डै ७ वर्षजति त गर्भवती नै भएर बिताएकी छिन् ।

मैतीमायाकी ठूली छोरी २० अहिले वर्ष पुगिसकिन् । उनको पनि बिहेबारी भैसक्यो । ठूलो छोरा १३ वर्षको पुग्यो । चार कक्षामा पढ्छ ।  सबैभन्दा सानो छोरा ४ वर्ष पुग्दैछ ।

छोराछोरीले दुःख नपाउन् भन्दै स्कूल पठाएको मैतीमायाले अनलाइनखबरलाई बताइन् ।

तर, जेठो छोराको पढाइ पनि नियमित छैन । साना भाइहरु हेर्नुपर्ने भएकाले उनी कहिलेकाहीँ मात्रै स्कुल पुग्छन् । सन्तान धेरै भएकाले काम गर्न पनि नसकिरहेको मैतिमायालाई अनूभूति हुने गर्छ । हैरान र दुःखको त कुनै सीमा नै छैन ।

दिनभर काममा जानुपर्ने भएकाले ठूला सन्तानका भरमा सानासाना बालबच्चा घरमा छाडेर जानुपर्ने बाध्यता छ उनको ।

मैतीमाया गाउँघरमा नै ढुंगागिट्टी बोक्ने काम गर्छिन् । श्रीमानको काम यस्तै छ । आफूले लगाएको खेतीबाट ६ महिनासम्म मात्रै मुस्किलले खान पुग्छ । बाँकी ६ महिना बेसाएरै खाने हो ।

कुनै बेला खानेकुरा नभएर गिठ्ठा भ्याकुरको समेत भर पर्नुपरेको उनको गुनासो छ । यो आम चेपाङवस्तीकै साझा समस्या बन्दै आएको छ ।

हिजोआज गाउँमा नै काम पाउन थालिएको छ । दिनभर काम गरे वापत पाँच सय रुपैयाँ आउँछ । त्यहीबाट खानेकुरा किनेर बालबच्चा र आफूहरुको पेट धान्दै आएको मैतीमायाले सुनाइन् ।

चैत बैशाखदेखि असारसम्म खानेकुराको अभाव सबैभन्दा बढी हुने गरेको छ । खानेकुराको जोहो गर्नका लागि नै सबै समय खर्चिनुपरेको मैतीमायाको भनाइ छ ।

परिवार नियोजन गर्न नरुचाउने चेपाङ महिलाहरू ७/८ वटा बच्चा जन्माउनुलाई स्वाभाविक ठान्छन् । स्याहार अभावले बच्चा मर्ने भएकाले जगेडा बच्चा जन्माउने यो समुदायमा चलन छ

‘भातमा पल्केर  १२ बर्षमै बिहे गरेँ !’

कुराकानीकै क्रममा मैतीमायाले आफ्नो ‘प्रेमकथा’ सुनाइन् ।

१२ बर्षको कलिलो उमेरमा नै बिहे गर्नुका पछाडिको कारण भात खान पाइन्छ भन्ने रहेछ । मैतीमायाका बा उनी गर्भमा छँदै विते । आमा अर्कैसँग पोइला गइन् । बुवा बितेर आमा पोइला गएपछि टुहुरो जस्तै बनेकी मैतीमाया ठूलो बाको घरमा बस्न थालिन् ।

ठूलो बुबाको घरमा पनि खानेकुरा केही हुन्थेन । गिठ्ठा भ्याकुर खाएर बाँच्नुपर्ने बाध्यता थियो । अहिलेका श्रीमानको घरमा भात खान पाइन्थ्यो । अन्यत्र काम गरेर खोजेरै भए पनि भात खान पाइन्थ्यो उनको घरमा ।

‘भात र अन्य खानेकुरा खान पाइन्छ भनेर पल्केर नै १२ बर्षमै बिहे गरेँ’ मैतीमायाले वाल्यकाल सम्झिँदै भनिन्, ‘उतिबेला नै उनीहरुको घरमा नाङ्लो बेचेर पैसा आउँथ्यो । खानै नपाएका कारण थाहा नपाउने उमेरमै बिहे गरें ।’

नागरिकता बनाउन आइपुगेकी मैतीमायासँग इच्छाकामनाबाट बेलाबेलामा सुन्तला र नासपति बेच्न आएको अनुभव पनि छ ।

जगेडा सन्तान जन्माउने चलन 

परिवार नियोजन गर्न नरुचाउने चेपाङ महिलाहरू ७/८ वटा बच्चा जन्माउनुलाई स्वाभाविक ठान्छन् । स्याहार अभावले बच्चा मर्ने भएकाले जगेडा बच्चा जन्माउने यो समुदायमा चलन छ ।

विकट स्थानमा बसोवास रहेकाले स्वास्थ्य चौकीसम्म आधारभूत स्वास्थ्यको उपचार पहुँचबाट उनीहरु बञ्चित बन्दै आएका छन् । गर्भवती र सुत्केरी महिलाहरुका लागि त झनै यो समस्याग्रस्त विषय बन्ने गरेको छ ।

एकातिर बर्षेनीजस्तो सन्तान जन्माउनुपर्ने बाध्यता छ भने अर्कोतिर पेटभरि खान र बेला बेलामा स्वास्थ्य जाँच गराउन पनि सक्दैनन् उनीहरुले । बर्षेनी सन्तान जन्माउँदा शरीर कमजोर बनेकै हुन्छ ।

सानो उमेरमा नै बिहे गर्ने, परिवार नियोजनका अस्थायी र स्थायी साधानहरुका बारेमा थाहा नहुँदा बच्चा धेरै जन्मिने र शरीर बेलैमा कमजोर हुने गरेको छ ।

प्रजननमा महिलाको अधिकारका विषय शहरमा उठ्ने गरे पनि चेपाङ महिलाहरुका लागि ‘लंकामा सुन छ कान मेरो बुच्चै’ जस्तो भएको छ । कलिलो उमेरमा नै बिहे हुनु, शरीरको राम्रो विकास नहुँदै सन्तान जन्माउन बाध्य हुनु, उपचार र पोषिलो खाना नपाउनु, गर्भवती अवस्था र सुत्केरी भएलगत्तै पनि आराम गर्नुको सट्टा गह्रुंगो भारी बोकेर हिँड्नु जस्ता बाध्यता छन् ।

धेरैजसो सन्तानहरु जन्मेर पनि धेरै समय बाँच्दैनन् । खाने कुराको अभावले गर्दा बाँचेकाहरु पनि कुपोषित छन् । आमाले नै पेटभरि खान नपाउने अवस्थामा बच्चाको स्वाथ्य राम्रो हुने भन्ने कुरा पनि भएन ।

चेपाङ समुदाय अति पिछडिएको जातिमा पर्छ । चितवन जिल्लामा मात्रै झण्डै २९ हजार चेपाङहरु रहेका छन् । देशभर करिब ७० हजारको हाराहारीमा रहेका चेपाङमध्ये ४८ प्रतिशत मात्रै शिक्षित छन् ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर १ मा ९० प्रतिशत चेपाङ समुदायको बसोबास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment