Comments Add Comment

टी-२० का ‘नेपाली आइकोन’लाई आईपीएलमा किन न्यून मूल्य ?

आईपीएलदेखि आइपीएलसम्मः सन्दीपको एक चक्र पूरा

९ चैत, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले दोस्रोपटक इन्डियन पि्रमियर लिग -आईपीएल) खेल्न भारतमा छन् । उनी गत वर्ष दिल्ली डेयरडेभिल्समा आवद्ध भएका थिए, जुन अहिले दिल्ली क्यापिटल्स बनेको छ ।

आईपीएलमा दोस्रो सहभागीतासँगै सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेट लिग यात्रा एक चक्र पुरा भएको छ । करिब एक वर्षको यो यात्रामा उनले ६ वटा देशमा टी-२० लिग र एउटा टी-१० लिग खेले र सबैमा आफ्नो छाप छोड्न सफल भए । गत वर्ष आईपीएलमा भाग लिँदा उनी अन्तर्राष्ट्रिय क्रिकेट प्रेमीहरुका लागि अपरिचित थिए । त्यही प्रतियोगितामा दोस्रोपटक भाग लिन जाँदा उनले एक टी-२० मा नेपाली आइकनको छवि बनाइसकेका छन् । एउटा एसोसिएट क्रिकेट राष्ट्रबाट उदाएको १८ वर्षे ठिटोको यो अविश्वसनीय सफलता हो ।

गत संस्करणमा आफ्नो टिमको प्लेइङ ११ मा पर्न सन्दीपले १० औं म्याचसम्म प्रतिक्षा गर्नुपरेको थियो । प्ले अफमा उक्लिने सम्भावना जिवित रहँदासम्म दिल्लीले सन्दीपलाई खेलाउन चाहेन । त्यतिबेला सन्दीपका नेपाली फ्यानहरु निराश बनिसकेका थिए । जब दिल्लीको सम्भावना समाप्त भयो, बाँकी तीनवटा म्याच उसँग थियो । त्यतिबेला उसले सन्दीपलाई मौका दियो ।

सन्दीपले आईपीएलको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका थिए । रोय च्यालेन्जर्स बैंगलोरविरुद्धको सो म्याचमा उनले बिराट कोहली र एबी डेभिल्लर्स जस्ता ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । टिमका बलरहरुमध्ये सबैभन्दा किफायती बलिङ गर्नुका साथै उनले एक विकेट पनि लिए । यद्यपि सो म्याच दिल्लीले हारेको थियो ।

त्यसपछिका २ म्याचमा दिल्लीले शक्तिशाली २ टिमलाई हरायो र दुवै जितमा सन्दीपले महत्वपूर्ण भूमिका निभाए । उनले तीन म्याचमा कुल ५ विकेट लिए । यही प्रदर्शनपछि सन्दीप अन्तर्राष्ट्रिय लिगहरुको आकर्षण बने । त्यसयता प्रत्येक देशमा आयोजना हुने टस्-२० प|mेन्चाइज लिगको हिस्सा बन्दै आएका छन् सन्दीप । र प्रत्येक लिगसँगै उनको बलिङ तिखारिँदै छ ।

यसपालिको आईपीएलमा सन्दीपले सम्भवत पहिलो म्याचमै मौका पाउन सक्छन् । क्रिक इन्फो डट कमले दिल्लीको सम्भावित प्लेइङ ११ मा सन्दीपलाई समावेश गरेको छ । टिमको स्पिन बलिङ सन्दीपमा धेरै निर्भर रहने उसको विश्लेषण छ । त्यसैले कम्तिमा अघिल्ला २-३ म्याचमा सन्दीपले खेल्न सक्ने सम्भावना प्रचुर देखिन्छ । त्यसपछि भने उनको प्रदर्शनमा धेरै कुरा निर्भर हुने छ ।

सन्दीपको टिममा अमित मिश्र र अक्षर पटेल जस्ता भारतीय स्पिनर छन् । त्यसमाथि विदेशी खेलाडी ४ जना मात्रै प्लेइङ सेटमा राख्न पाइन्छ । त्यसैले टिममा नियमित स्थान बनाउन उनलाई पक्कै चुनौतिपूर्ण छ ।

उत्कृष्ट प्रदर्शनको सिलसिला

आईपीएलपछि क्यारेबियन लिग -सीपीएल) मा सन्दीप ५ हजार डलर (करिब ६ लाख रुपैयाँ) मा खरिद गरिए । सीपीएलमा पनि सन्दीपले राम्रो प्रदर्शन गर्न सफल भए । सेन्ट किट्स एन्ड नेभिस प्याटि्रयट्सबाट बलिङ गरेका उनले पाँच खेलमा ७ विकेट लिए । प्रतियोगितामा उनी ‘ब्रेक थ्रु स्टार’ घोषित भए ।

त्यसपछि ग्लोबल टी-२० क्यानाडामा भाग लिए । त्यसमा उनी ४० हजार डलर -करिब ५० लाख रुपैयाँ) मा किनिएका थिए । यस प्रतियोगितामा पनि सन्दीपले निराश पारेनन् । उक्त प्रतियोगितामा मेडन ओभर बलिङ गर्ने सन्दीप पहिलो बलर बनेका थिए । प्रतियोगितामा खेलेका ५ म्याचमा उनले आठ विकेट लिए ।

सन्दीपले अफगानिस्तान पि्रमियर लिगमा पनि खेले । १५ हजार डरलमा उनलाई नंगरहार लियोपाडर््सले खरिद गरेको थियो । प्रतियोगितामा सन्दीपको प्रदर्शन उल्लेख्य रह्यो । यद्यपि, यसमा उनले एउटा मात्र म्याच खेले र २ विकेट लिए ।

यूएईमा आयोजित टी-१० लिगमा पनि सन्दीप अनुवन्ध भए । ९ दिनको छोटो प्रतियोगिताका लागि केरला किङ्सले सन्दीपलाई ३० हजार डलरमा किनेको थियो । औसत प्रदर्शन गरेका सन्दीपले ६ म्याच खेल्दा ६ विकेट लिएका थिए ।

सन्दीपले खेलेको महत्वपूर्ण लिग हो अष्ट्रेलियाको बिग ब्यास । लिगमा मेलबर्न स्टार्सले सन्दीपलाई ६० हजार डलर -करिब ७० लाख रुपैयाँ) मा किनेको थियो । यो उनले अहिलेसम्म कुनै पनि लिगका लागि लिएको उच्च रकम हो । प्रतियोगितामा सन्दीपले आफ्नो उपयोगिता सिद्द गर्न सफल भए । प्रतियोगितामा उनले ८ म्याच खेलेर ११ विकेट लिएका थिए ।

सन्दीपले बंगलादेशको बंगलादेश पि्रमियर लिग -बिपिएल) र पाकिस्तान सुपरलिग पनि खेले । दुवै लिगमा उनी कतिमा अनुबन्ध भए भन्ने सार्वजनिक भएको छैन । बीपीएलमा सिल्हेट सिक्सर्सबाट ६ खेल खेलेका उनले ४ विकेट मात्र लिए । खेलेका लिगहरुमा सन्दीपको सबैभन्दा कमजोर प्रदर्शन यही थियो ।

पछिल्लो पटक सन्दीपले खेलेको लिग हो, पीसीएल । यसमा सन्दीपले लाहोर कलन्दरबाट खेलेका थिए । कुल सात म्याच खेलेका उनले ७ विकेट लिए । यो प्रतियोगितामा सर्वाधिक विकेट लिने २० बलरको सूचीमा सन्दीप एक मात्रै विदेशी बलर थिए । उनी दशौं नम्बरमा थिए ।

सबैजसो लिगहरुमा सन्दीपको उत्कृष्ट प्रदर्शन भए पनि उनले कुनै पनि टिमलाई उपाधिसम्म पुर्‍याउन भने सकेनन् । मेलबर्न स्टार्सलाई छोडेर कुनै पनि टिम फाइनलमा पुग्न असफल रहे । बीबीएलमा मेलबर्न स्टार्स उपबिजेता बन्यो ।

किन बढेन मूल्य ?

आईपीएल विश्वकै सबैभन्दा महंगो र भव्य टी-२० फ्रेन्चाइज लिग हो । अन्य देशका लिगको तुलनामा आईपीएलमा खेलाडीलाई अत्यधिक पारिश्रमिक प्रदान गरिन्छ ।

सन्दीपलाई गत वर्ष आईपीएलले न्यूनतम मूल्य २० लाख भारु (३२ लाख नेपाली रुपैयाँ) मा खरिद गरेको थियो । त्यतिबेला उनले कम मूल्य पाउनु स्वभाविकै थियो किनकी उनी त्यतिबेला लो प्रोफाइलका खेलाडी थिए । दिल्लीले सन्दीपलाई खरिद गर्नु नै ठूलो कुरा थियो ।

अहिले टी-२० फ्रेन्जचाइज लिगका स्टार बलरको रुपमा चिनिएका छन् सन्दीप । उनको तुलना अफगानिस्तानका रसिद खानसँग हुन थालेको छ । एकपछि अर्को लिगमा सफलता हासिल गर्दै जाँदा यसपालि आईपीएलमा दिल्लीले उनलाई कति रकम दिन्छ भन्ने कौतुहलता थियो । दुर्भाग्यवस सन्दीपले यसपाली पनि आईपीएलमा पाउने रकम भनेको २० लाख भारु मात्रै हो । अर्थात् उनी प्रतियोगितामा सर्वाधिक सस्ता खेलाडीको सूचीमै छन् ।

दिल्लीले सन्दीपसँग ३ वर्षको कन्ट्राक्ट गरेको छ । प्रत्येक वर्ष २० लाख दिने गरी सम्झौता गरिएको हो । यदि दिल्लीले उनलाई रिलिज गरेर अर्को टिममा आवद्ध भएको खण्डमा उनले उच्च मूल्य पाउन सक्थे । तर सस्तो र उत्कृष्ट खेलाडीलाई दिल्लीले रिलिज गर्ने प्रश्न नै थिएन । त्यसैले उनी रिटेन भए । र, तीन वर्षको बीचमा मूल्य बढाउनुपर्ने वाध्यता दिल्लीसँग थिएन ।

यसरी सस्तो भनिएको पीसीएल र बीबीएल जस्ता सस्तो लिगहरुभन्दा पनि आईपीएल जस्तो महंगो लिगमा सन्दीपले कम मूल्य पाएका छन् । दिल्लीले नै रिटेन गर्नु परेको खण्डमा अर्को वर्ष पनि उनको मूल्य बढ्ने छैन ।

सन्दीपसँगै खेल्ने भारतीय स्पिनर अक्षर पटेलले ५ करोड पाएका छन् । यसैगरी अर्का भारतीय स्पिनर अमित मिश्रले चार करोड भारु लिएका छन् ।

तर, आईपीएलमा एउटै टिमबाट खेल्दा भाउ नबढ्ने भन्ने चाहिँ होइन । उदाहरणका लागि अफगानिस्तानका रसिद खानलाई लिन सकिन्छ । उनलाई २०१७ को अक्सनमा सनराइजर्स हैदरावादले ४ करोड भारुमा किनेको थियो । तर, सोही टिमबाट यसपाली उनले ९ करोड पाएका छन् । यो कसरी भयो त ?

आईपीएलको नियम बारम्बार परिवर्तन हुने गर्छ । पछिल्लो नियमअनुसार आठवटै टिमले प्रत्येक सिजनमा बढिमा पाँच खेलाडी रिटेन गर्न सक्ने प्रावधान छ, जसमा दुई विदेशी खेलाडी रिटेन गर्न सकिन्छ । रिटेन दुई प्रकारले हुन्छ । पहिलो सिधै रिटेन गर्ने । दोस्रो प्रतिस्पर्धामा गएर भिटो प्रयोग गर्ने अर्थात् राइट टु म्याच ।

टिमले सोझै रिटेन गर्‍यो भने खेलाडीसँग त्यही टिममा बस्नुभन्दा अर्को विकल्प हुँदैन । तर, राइट टु म्याचमा गएको खण्डमा मूल्य बडाबड हुन्छ ।

के हो त राइट टु म्याच ?

राइट टु म्याच एउटा यस्तो विकल्प हो, जसमा सम्वन्धित खेलाडी नयाँ अक्सनमा जति मूल्यमा विक्री हुन्छ, सो मूल्य आफैंले दिएर खरिद गर्ने । उदाहरणका लागि यदि सन्दीपलाई दिल्लीले रिटेन नगरेको भए उनी अक्सन पुलमा जाने थिए । अक्सनमा क्रममा मानौं उनलाई कलकत्ता नाइट राइडर्सले सबैभन्दा बढि ५ करोड मूल्य लगायो । यस्तो अवस्थामा यदि दिल्लीले पनि पाँच करोड नै तिर्न तयार भएमा सन्दीपलाई लिने पहिलो अधिकार उसको हुन्छ । यदि त्यति तिर्न सक्दिन भनेमा उनी कलकत्तामा जान्छन् ।

तर, सन्दीपलाई दिल्लीले अक्सनमा नलगी सिधै रिटेन गरेपछि उनको मूल्य बढ्ने ढोका बन्द भएको हो ।

सन्दीपकै स्तरका अफगानिस्तानका युवा बलर मुजिब जद्रानलाई किङ्ग ११ पञ्जाबले ४ करोड भारुमा किनेको छ । तर, यसो भनिरहँदा सन्दीपलाई दिल्लीले अघिल्लो आईपीएलमा ब्रेक दिएर लगाएको गुन चाहिँ बिर्सिनु हुँदैन ।

अरुको पालो कहिले ?

सन्दीप लामिछानेलाई आइपीएलमा गएपछि ठानिएको थियो कि अब नेपाली क्रिकेटरका लागि ढोका खुल्यो । आईपीएल नै नभए पनि अन्य देशका क्रिकेट लिगहरुले नेपाली खेलाडीमा आँखा लगाउनेछन् । तर, अहिलेसम्म त्यस्तो भएको छैन । सन्दीपलाई पछ्याउने दोस्रो खेलाडी कोही निस्केको छैन । एसोसिएटस्तरमा चर्चित नेपाली टिमका कप्तान पारस खड्कालाई समेत कुनै टिमले चासो दिएका छैनन् ।

अफगानिस्तान पि्रमियर लिगको ड्राफ्टमा सन्दीपसँगै पारस खड्का र सोमपाल कामी परेका थिए । तर, दुवैलाई कुनै टिमले किन्न तयार भएनन् ।

अन्य लिगहरुमा कुनै पनि दोस्रो खेलाडी ड्राफ्टमा परेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment