+
२०औं एसियन गेम्स :

वरीयताका आधारमा अघि बढ्ने नियमले एसोसिएट टोलीलाई सधैं निराशा

२०८३ असोज  १३ गते १०:१० २०८३ असोज १३ गते १०:१०

मैदानमा खेल नै नखेली, वा टस नै नगरी अंकतालिका र वरीयताको ढड्डा पल्टाएर विजेता घोषित गर्ने क्रिकेटको यो कस्तो विडम्बना ?

१३ असोज, काठमाडौं । मैदानमा खेल नै नखेली, वा टस नै नगरी अंकतालिका र वरीयताको ढड्डा पल्टाएर विजेता घोषित गर्ने क्रिकेटको यो कस्तो विडम्बना ?

सन् २०२३ को हाङझाउ एसियन गेम्सको पुरुष क्रिकेट फाइनल सम्झौं- स्वर्ण पदकका लागि भारत र अफगानिस्तान खेलिरहेका थिए । अफगानिस्तानले १८.२ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको थियो ।

स्वर्ण कसको पोल्टामा जाला भन्ने कौतूहल उत्कर्षमा थियो । तर एकाएक वर्षा बाधक बन्यो । खेल पुनः सुरु हुनै सकेन । मैदानमा ब्याट र बलको प्रतिस्पर्धा पछि धकेलियो र आईसीसीको टी–२०आई वरीयताको ढड्डा अघि सारियो ।

उच्च वरीयतामा भएकै आधारमा भारतले स्वर्ण पदक जित्यो भने मैदानमा उत्कृष्ट प्रदर्शनको क्षमता राख्दै फाइनल पुगेको अफगानिस्तान रजतमै सीमित हुन पुग्यो ।

यो कुनै संयोग मात्र थिएन । एसियन गेम्स क्रिकेटमा खेलको नतिजा मैदानको प्रदर्शनले भन्दा बढी वरीयताले तय गर्ने परिपाटी बन्दै आएको छ ।

त्यही हाङझाउ एसियन गेम्सकै महिला क्रिकेट क्वाटरफाइनलमा पनि भारतले १५ ओभरमा १७३ रन बनाएपछि मलेसियाले मात्र दुई बल खेल्न पाएको थियो । वर्षाले खेल रोकियो र वरीयताकै आधारमा भारत सेमिफाइनल पुग्यो ।

सोही प्रतियोगिताका पाकिस्तान–इन्डोनेसिया र बंगलादेश–हङकङबीचका क्वाटरफाइनल खेलहरू पनि वर्षाका कारण रद्द हुँदा उच्च वरीयताकै भरमा पाकिस्तान र बंगलादेश सेमिफाइनल पुगेका थिए ।

यो व्यवस्था विगतको इतिहास मात्र होइन, निरन्तरता पाउनु नै यसको ठूलो त्रासदी हो । यसपटक जापानमा भइरहेको एसियन गेम्समा पनि त्यस्तै दृश्य देखियो ।

सबैभन्दा पहिले महिला क्रिकेटको कुरा गरौं । चीन र बंगलादेशबीचको क्वाटरफाइनल खेल वर्षाका कारण टससमेत हुन नपाई रद्द भयो । चीनले प्रतियोगिताभरि एक बल पनि नखेली आफ्नो यात्रा टुंग्याउनुपर्यो, किनकि महिला टी–२०आई वरीयतामा माथि रहेको बंगलादेश सोझै सेमिफाइनल पुग्यो ।

त्यसपछि हाल भइरहेका पुरुष क्रिकेटका खेलहरूमा पनि यही नियति दोहोरियो । लगातारको वर्षाका कारण क्वाटरफाइनलका खेलहरू रद्द भएपछि भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले खेल नै नखेली सेमिफाइनलको यात्रा तय गरे ।

प्रतियोगिताको ढाँचाअनुसार भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई उनीहरूको आईसीसी टी–२०आई वरीयताका आधारमा सिधै क्वाटरफाइनलमा प्रवेश दिइएको थियो । अर्कातिर नेपाल, अफगानिस्तान, जापान, हङकङ, मलेसिया र ओमानले भने प्रारम्भिक चरणका खेलहरू खेलेर बाँकी चार क्वाटरफाइनल स्थानका लागि प्रतिस्पर्धा गरेका थिए ।

तर, क्वाटरफाइनलमा पुगेपछि पनि वरीयताको छाया पछाडि हटेन । एसियन गेम्सको क्रिकेट ‘प्लेइङ कन्डिसन्स’ को नियम १६.१०.२(बी) अनुसार नकआउट खेलमा वर्षाका कारण पूर्ण रूपमा रद्द भएर कुनै नतिजा आउन नसकेमा उच्च वरीयतामा रहेको टोलीलाई विजेता मानेर अर्को चरणमा पठाउने स्पष्ट व्यवस्था छ ।

यही नियमको सहारामा पहिलो दिन भारतले अफगानिस्तानसँग र पाकिस्तानले हङकङसँग खेल्नै नपाइ सेमिफाइनलमा पुगे ।

नेपाल र मलेसियाको कथा पनि फरक रहेन । नेपालले समूह ‘ए’ मा अफगानिस्तानलाई हराएर सनसनीपूर्ण रूपमा समूहविजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । तर श्रीलंकाविरुद्धको क्वाटरफाइनल खेल वर्षाले बगाएपछि समूह चरणमा पोखेको पसिना र प्रदर्शनले नेपाललाई जोगाउन सकेन ।

वरीयतामा माथि भएकै आधारमा श्रीलंका सेमिफाइनल पुग्यो भने त्यसपछिको बंगलादेश र मलेसियाबीचको खेल पनि रद्द हुँदा बंगलादेशले अघिल्लो चरणको यात्रा तय गर्‍यो ।

यसले एउटा स्पष्ट चित्र देखाउँछ- यो नियमको असर एसोसिएट राष्ट्रहरूमा पर्ने मात्र नभएर, उच्च वरीयतामा रहेका टेस्ट मान्यता प्राप्त (फुल मेम्बर) टोलीहरूले पनि यसबाट भरपूर लाभ उठाएका छन् ।

तर, वरीयतामा प्रायः तल रहने एसोसिएट टोलीहरूका लागि भने यो नियम झनै घातक सिद्ध भएको छ । वर्षाले खेल नै हुन नदिँदा उनीहरूले मैदानमा आफ्नो वास्तविक क्षमता र प्रतिभा देखाउने अवसर सधैंका लागि गुमाउनुपरेको छ ।

अर्कोतर्फ चीन, जापानजस्ता देश विकासमा निकै अगाडि भएपनि क्रिकेटको संरचनागत विकासमा भने अन्य देशहरूभन्दा केही पछाडि नै छन् । त्यसकारण यी देशका मैदानहरूमा पर्याप्त ड्रेनेज सुविधा पनि छैन र वर्षा भएमा मैदानलाई जोगाउने पर्याप्त उपकरण पनि राखिसकिएका छैनन् ।

त्यसकारण यहाँ नियम र संरचना दुवै एसोसियट टोलीहरूका लागि अभिशापजस्तो देखिँदै आएका छन् ।

कसरी बन्यो नियम

यहाँ अर्को प्रश्न उठ्छ- यो आईसीसीको नियम हो कि एसियन गेम्सको ?

एसियन गेम्सको आधिकारिक गभर्निङ बडी भनेको ओलम्पिक काउन्सिल अफ एसिया हो । त्यसकारण एसियन गेम्सको हरेक खेलमा ओसीएबाटै जारी भएका नियम लागु हुन्छन् ।

क्रिकेटको सन्दर्भमा आईसीसीले यसमा प्रत्यक्ष रूपमा कुनैपनि नियम राख्ने भन्ने हुँदैन तर आईसीसीले राय तथा सुझाव भने दिन सक्छ । प्लेइङ कन्डिशन बनाउने अन्तिम निर्णय भने ओसीएकै हातमा हुन्छ ।

उपलब्ध आधिकारिक सामग्री हेर्दा एसियन गेम्सको क्रिकेट संरचना र खेल सञ्चालनका नियमभित्र यो व्यवस्था राखिएको देखिन्छ । ओलम्पिक काउन्सिल अफ एसियाले २०२६ को पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई आईसीसी टी–२०आई वरीयताका आधारमा सिधै क्वाटरफाइनलमा राखिएको जानकारी दिएको छ ।

आईसीसीले पनि प्रतियोगिताको संरचना व्याख्या गर्दा यी चार टोलीले पहिलो चरणमा नखेली क्वाटरफाइनल खेल्ने र प्रारम्भिक चरणका बाँकी टोलीले चार स्थानका लागि प्रतिस्पर्धा गर्ने जनाएको छ ।

तर यो नियम आईसीसीको सल्लाहमा राखिएको हो भन्ने स्पष्ट आधिकारिक भनाइ भने उपलब्ध सामग्रीमा भेटिँदैन । बरु प्रतियोगिताको ‘प्लेइङ कन्डिसन्स’ अन्तर्गत वरीयताका आधारमा खेलको नतिजा निर्धारण गर्ने व्यवस्था रहेको विभिन्न रिपोर्टले उल्लेख गरेका छन् ।

अर्थात्, आईसीसीको टी–२०आई वरीयतालाई यहाँ आधार पक्कै मानिएको छ, तर त्यही नियम प्रयोग गर्नू भनेर आईसीसीले सल्लाह दिएको भन्ने निष्कर्षमा पुग्ने पर्याप्त सार्वजनिक प्रमाण छैन ।

वरीयता किन निर्णायक बनाइयो ?

एसियन गेम्स बहुखेलकुद प्रतियोगिता भएकाले क्रिकेटका लागि लामो प्रतियोगिता तालिका बनाउने अवस्था सीमित हुन्छ । २०२६ को पुरुष प्रतियोगितामा प्रारम्भिक चरणदेखि फाइनलसम्मको खेल छोटो अवधिमा सकाउने तालिका बनाइएको छ ।

क्वाटरफाइनल सेप्टेम्बर २८ र २९, सेमिफाइनल अक्टोबर १ तथा स्वर्ण र कांस्य पदकको खेल अक्टोबर ३ मा राखिएका छन् ।

यस्तो संरचनामा वर्षाले एउटा खेल रोकेपछि अर्को दिनका सबै खेल सार्ने वा प्रत्येक नकआउट खेलका लागि अतिरिक्त दिन राख्ने विकल्प सीमित हुन्छ । त्यसैले खेल नै हुन नसकेको अवस्थामा अर्को चरणको टोली छान्न पूर्वनिर्धारित मापदण्ड आवश्यक हुन्छ ।

त्यसका लागि यहाँ आईसीसी टी–२०आई वरीयतालाई आधार बनाइएको छ ।

समस्या नियममा कि संरचनामा ?

वरीयताको आधारमा खेल रद्द हुँदा उच्च स्थानमा रहेको टोलीलाई अगाडि बढाउनु नियमको हिसाबले स्पष्ट र पूर्वनिर्धारित व्यवस्था हो । खेलअघि नै सबै टोलीलाई यसको जानकारी हुन्छ ।

तर एसोसिएट टोलीका लागि यसको अर्को पाटो पनि छ । उनीहरूले पहिले एसियन गेम्सकै लागि समेत छनोट खेलेर उक्त छनोट पार गरेपछि मुख्य प्रतियोगितामा पनि समूह चरण खेल्नुपर्ने अवस्था छ ।

प्रारम्भिक चरण पार गरेर क्वाटरफाइनलसम्म पुग्न मैदानमा नै खेल्नुपर्छ । अर्कोतर्फ उच्च वरीयताका टोलीले सोही चरणमा प्रवेश गर्दा प्रत्यक्ष क्वाटरफाइनल पाउँछन् र क्वाटरफाइनल वर्षाले रद्द भए उनीहरू वरीयताकै आधारमा सेमिफाइनल पुग्छन् ।

यसपटक भारत र पाकिस्तानले खेल्दै नखेली सेमिफाइनलमा स्थान बनाए । नेपाल, अफगानिस्तान र हङकङजस्ता टोलीले भने क्वाटरफाइनलमा आफ्नो खेलबाट अर्को चरणको यात्रा तय गर्ने अवसर नै पाएनन् ।

अर्कोतर्फ संरचनाको कुरा पनि उठ्नु जायज नै छ किनभने जापान अधिकांश क्षेत्रमा निकै विकसित राष्ट्र भएपनि क्रिकेटमा भने अहिले उदाउँदो अवस्थामै छ, त्यसकारण एसोसियटका शीर्ष राष्ट्रसँग भएका जति संरचना पनि उपलब्ध नभएको अवस्था छ ।

अहिलेको जापानकै अवस्था हेर्दा पनि जति ठूलो वर्षा भएपनि पूरा मैदान ढाक्ने कुनैपनि उपकरणको व्यवस्था थिएन । यसले गर्दा मैदान भिजेर खेल हुने सम्भावना झन् कम हुन्छ ।

त्यसैले प्रश्न केवल ‘नियम सही कि गलत ?’ भन्ने होइन, संरचनागत कुराहरू पनि जोडिन्छ । त्यस्तै नकआउट खेल वर्षाले रद्द हुँदा खेलको नतिजाभन्दा पहिलेको वरीयतालाई निर्णायक बनाउने व्यवस्था बहुखेलकुद प्रतियोगितामा कति प्रतिस्पर्धात्मक अवसर दिन्छ ? भन्ने प्रश्न पनि उठ्छ ।

नेपालका लागि यसपटकको घटना त्यसैको पछिल्लो उदाहरण बनेको छ ।

२०औं एसियन गेम्स एसियन गेम्स क्रिकेट
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय