१३ असोज, काठमाडौं । प्रिमियर लिगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लंघनसम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यानचेस्टर सिटीले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै अपिलमा जाने घोषणा गरेको छ ।
सिटीले प्रिमियर लिग आयोगको निर्णयबाट आफू ‘निराश र आश्चर्यचकित’ भएको जनाएको छ । क्लबले प्रिमियर लिगले लगाएका आरोपमा आफू निर्दोष रहेको र आफ्नो पक्षमा पर्याप्त प्रमाण रहेको दाबी गरेको छ ।
क्लबले जारी गरेको विज्ञप्तिमा निर्णयमा कानुन, सिद्धान्त र तथ्यसँग सम्बन्धित महत्वपूर्ण त्रुटि रहेको दाबी गर्दै निर्णयलाई असुरक्षित रहेको उल्लेख गरिएको छ । सिटीले अब उपलब्ध सबै नियामकीय र कानुनी प्रक्रियामार्फत आफ्नो पक्ष अघि बढाउने जनाएको छ ।
सिटीले प्रिमियर लिगको प्रक्रिया अझै पूरा नभएको र महत्वपूर्ण विषयहरू बाँकी रहेको बताएको छ । त्यसैले क्लबले उपलब्ध अपिल प्रक्रियालाई अघि बढाउने जनाएको हो ।
क्लबले आफूले आठ वर्षदेखि उचित कानुनी प्रक्रियाको सम्मान गर्दै आएको दाबी गर्दै प्रिमियर लिगको बोर्ड र कार्यकारी पक्षबाट स्वतन्त्र, निष्पक्ष र तटस्थ नियमनको अपेक्षा गरेको जनाएको छ ।
भविष्यका सबै प्रक्रिया पूरा नभएसम्म यस विषयमा थप प्रतिक्रिया दिन क्लब सीमित रहेको पनि सिटीले जनाएको छ ।
यसअघि प्रिमियर लिगको स्वतन्त्र आयोगले म्यानचेस्टर सिटीलाई नौ सिजनमा आर्थिक नियम उल्लंघनसम्बन्धी लगाइएका सबै आरोपमा दोषी ठहर गरेको थियो ।
प्रिमियर लिगले सार्वजनिक गरेको स्वतन्त्र आयोगको निष्कर्षअनुसार सिटीले २००९–१० देखि २०१७–१८ सम्मको अवधिमा क्लबको आम्दानी कृत्रिम रूपमा बढाउन र खर्च घटाउन विभिन्न ‘नक्कली’ व्यावसायिक सम्झौता गरेको थियो ।
आयोगले सिटीले लेखापरीक्षक र फुटबल नियामकलाई आफ्नो वास्तविक आर्थिक अवस्थाबारे गलत विवरण दिएको तथा प्रिमियर लिग र यूईएफएको खर्च सीमाको उल्लेखनीय रूपमा उल्लंघन गरेको जनाएको छ ।
प्रिमियर लिगले सिटीलाई आयोगको निष्कर्षविरुद्ध अपिल गर्ने अधिकार रहेको र त्यसका लागि अक्टोबर २ सम्मको समय रहेको जनाएको छ।
प्रिमियर लिगले म्यानचेस्टर सिटीमाथि सन् २०१८ को डिसेम्बरमा अनुसन्धान सुरु गरेको थियो। आयोगको ४२ दिनसम्म चलेको सुनुवाइ सन् २०२४ को डिसेम्बरमा सकिएको थियो।
प्रतिक्रिया 4