Comments Add Comment

जहिल्यै ठूला कुरा, काम थोरै !

पोखरा रंगशालामा मुख्यमन्त्रीसँगै कप्तान पारस

९ चैत, पोखरा । नेताहरु हुन्न भन्न जाँदै जान्दैनन् । यो पनि गर्छु, त्यो पनि गर्छु भन्छन् । तर, काम समयमा कहिल्यै हुँदैन । नेताले बोलेका कुरा पूरामात्रै गर्ने हो भनेपनि नेपालको विकास कायापलट हुन्थ्यो । जहिल्यै ठूला कुरा तर, काम भने कछुवा गति !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित पोखरा रंगशालाको क्रिकेट मैदान अवलोकन गर्न पुगेका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले यो शैलीमा राम्रै व्यंग्य गरे । ‘हाम्रो नेपालमा जहिल्यै कुरा ठूलठूला हुन्छ तर, काम भने सधैं कम हुन्छ । त्यही ठूला कुरामात्रै गर्ने बानीले विकास जहिल्यै ढिलो भयो,’ उनले मनका कुरा खोले ।

पोखरा रंगशाला सुधार गर्न थोरै खर्च गर्ने हो भने सन् २०२० सम्म अन्तर्राष्टिय स्तरको खेल खेलाउन सकिने उनको दाबी छ । ‘रंगशालाको प्राथमिक भौतिक पूर्वाधार पूरा गर्न सकियो भने यो सम्भव छ,’ कप्तान पारसले भने, ‘अहिलेका लागि मुख्य प्राथमिकता भनेको खेल्ने पिच, बाथरुम, पानी, खेलाडीका लागि २ तले भवन नै हुन् ।’

‘यो रंगशाला सुधार गर्न ठूलो खर्च चाहिँदैन । ६०/७० लाखमै यसको राम्रो सुधार गर्न सकिन्छ ।’

रंगशाला बनोस् भन्ने आफ्नो चाहना भएको उनले बताए । ‘१५/१६ वर्ष क्रिकेटमै जीवन बिताइयो । यसैको माया लाग्छ,’ खड्काले सुनाए, ‘खेल क्षेत्रको चाँडै विकास होस् भन्ने लाग्छ । यसका लागि हामीले पनि सहयोग गर्न सक्छौं भनेर लागिरहेका हौं ।’

बर्खामासमा स्टेडियमान पानी जम्न नदिन खड्काले भएका खाल्डाखुल्डी समयमै पुर्न सुझाए । साथै पिच सम्याउने मेसिन, घाँस काट्ने मेसिनलगायतका उपकरण चाहिएको बताए ।

पोखरा प्रिमियर लिग (पीपीएल)को आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टमा समेत आवद्ध कप्तान पारसले पीपीएलको तयारीका लागि मात्रै मैदान सजाउन नलागेको प्रष्टयाए । उनले भने, ‘हामी यो रंगशालामा विदेशी टिम खेलेको हेर्न चाहन्छौं ।’

‘हुन त अहिलेे कीर्तिपुर मैदानने पनि ओडीआई मान्यता पाएको छैन । विदेशका मैदानमा जानुभयो भने सबै यस्तै हुन्छ । तर, त्यहाँ सामान्य भौतिक पूर्वाधार पूरा गरिएका हुन्छन्,’ खड्काले थपे, ‘भोलि पोखरा क्रिकेट रंगशालाले ओडीआई प्रमाणपत्र नपाउला भन्न सकिन्न । तर त्यसका लागि भौतिक पूर्वाधार पुग्न जरुरी छ ।’ उनले पोखरा क्रिकेट रंगशालालाई प्राकृतिक रुपमै बनाउन समेत आग्रह गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा रगंशालामा बनेको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘क्रिकेट मैदानको भौतिक पूर्वाधार निर्माण गर्न तयार छौं ।’

क्रिकेट मैदानको डीपीआर गर्न लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले भने, ‘तपाईंहरु आउनुस्, हामी सहयोग गर्न तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment