Comments Add Comment

हेमन्तप्रकाश पक्राउः शीर्ष टार्गेटमा पहिलो सफलता

९ चैत, काठमाडौं । नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको ११ औं दिनमै शीर्ष नेता मध्येका एक पक्राउ परेका छन् । यसलाई सरकार र प्रहरी प्रशासनले ठूलै सफलता मानेको छ ।

बम विस्फोट लगायतका हिंसात्मक गतिविधि बढाएपछि मन्त्रिपरिषद्बाटै २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । स्रोतका अनुसार त्यसबेला नै विप्लव समूहका शीर्ष नेताहरुले पक्राउ गर्ने रणनीति बनाइएको थियो ।

पहिलो निशानामा परे, हेमन्तप्रकाश ओली । विप्लव समूहको मध्य कमाण्ड इन्चार्ज रहेका उनले नै १० फागुनमा नख्खुमा भएको बम विस्फोटको जिम्मेवारी लिएका थिए । त्यसवेलै उनी प्रहरीको नजरमा परेका थिए । तर, कल डिटेलले उनलाई उपत्यकाबाहिर देखाएपछि विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेल पक्राउ परे ।

त्यसपछि पनि बेलाबेला सञ्चारमाध्यममा छाइरहेका उनी २८ फागुनमा समूहमाथि प्रतिबन्ध लागेपछि पुनः प्रहरीको ‘हिट लिस्ट’मा परे । त्यसक्रममा मंगलबार बिहान उनलाई पछ्याउँदै प्रहरी टोली काभ्रेको काफलडाँडासम्म पुगेको थियो । तर, चार जना पक्राउ पर्दा उनी भाग्न सफल भए ।

काफलडाँडाको त्यो प्रहरी अपरेशनको तीन दिनपछि शनिबार बिहान काभ्रेकै खानीखोला–७, मिल्चेबाट ओलीसहित ९ जना पक्राउ परेका छन् ।

यो पनि पढ्नुहोस ‘काफलडाँडा’ अपरेशन: हेमन्तप्रकाशलाई समाउन खोज्दा चश्मा र औषधिमात्रै भेटियो (तस्वीरसहित)

प्रहरी स्रोतका अनुसार विकट क्षेत्र डाँडापारीमा सेल्टर बनाएर बसेको सूचनाका आधारमा सर्च अभियान चलाइएको थियो । शुक्रबार राति प्रहरी टोली त्यसतर्फ गएको थियो ।

स्रोतका अनुसार ५ वटा मोटरसाइकलमा २ जनाको दरले १० जना सिभिल प्रहरी गएको थियो भने त्यसपछि दुईवटा बोलेरो तथा एउटा भ्यानमा प्रहरी टोली खटिएको थियो । त्यही टोलीले स्कार्पिओ चढेर ललितपुरतर्फ आउँदै गएका हेमन्तप्रकाश ओलीलाई पक्राउ गरेको हो ।

पूर्वी ताम्सालिङ इन्चार्ज पनि समातिए

पक्राउ पर्नेमा ओली विप्लव समूहका मध्य कमाण्ड इन्चार्ज तथा विप्लव समूहका शीर्ष नेता मध्ये एक हुन् । उनीबाहेक पूर्वी ताम्सालिङका इन्चार्ज विजय श्रेष्ठ र रौतहट इन्चार्ज शंकर अधिकारी पनि पक्राउ परेका छन् । रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका नवौं व्यक्ति धर्मराज राजबाहक बा १७ च ४८९३ नम्बरको स्कर्पिओ चालक भएको बताइएको छ ।

मध्य कमाण्ड प्रमुख सहितका नेताहरु एकैसाथ पक्राउ पर्नुलाई सरकार र प्रहरी प्रशासनले ठूलो सफलता मानेका छन् । विप्लव समूहका नेताहरुले पनि यसलाई धक्का मानेका छन् ।

‘केही दिन अगाडि मात्र प्रहरीले सर्च अभियान चलाएको थियो । फेरि त्यही ठाउँमा बसिरहनु कमजोरी भयो । त्यही कारण पक्राउ परे’, समूहका एक नेता भन्छन् ।

तर, अनुसन्धान अधिकारीहरु भने उनी यति सहजै पक्राउ पर्नु आश्चर्यजनक भएको बताउँछन् । ‘जुन तरिकाले प्रचार भएको थियो । त्यो स्थिति विप्लव समूहको देखिएन’, ती अधिकारीले भने ।

यो महिनाको ८ दिनको अवधिमा २० जना विप्लव समूहका नेता, कार्यकर्ता पनि पक्राउ परिसकेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी भने प्रहरीको सक्रियताले सफलता प्राप्त भइरहेको बताउँछन् ।

हेमन्तप्रकाश ओली विप्लव समूहको तेस्रो वरियताको नेता भएकाले उनीसँग पार्टीको आन्तरिक र महत्वपूर्ण सूचना छ । अब प्रहरीसामू उनले सूचना चुहाउने हुन् कि भन्ने आशंका पनि विप्लव समूहमा देखिन्छ ।

किनकि, २३ साउनमा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ पर्दा समूहको आन्तरिक योजनासहितको महत्वपूर्ण दस्तावेज प्रहरीको हातमा पुगेको घटना ताजै छ । जसका कारण विप्लव–प्रकाण्ड सम्बन्ध दरार समेत आएको थियो ।

तर, ओलीको हकमा के हुन्छ भन्ने चाहिँ प्रहरीको केरकारको शैलीमा भर पर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस हेमन्तप्रकाशका दुई समस्या : चिनीरोग र यौन !

ज्यान मुद्दामा कारबाही

पक्राउ परेका सबैलाई शनिबार दिउँसो काठमाडौं ल्याइएको छ । सदुर्शनसहित केही व्यक्तिमाथि नख्खु विष्फोट प्रकरणसँग जोडेर मुद्दा चलाइने हुँदा उनीहरुलाई प्रहरी परिसर, ललितपुरको हिरासतमा राखिने प्रहरीले जनाएको छ ।

तर, हाल भने विशेष ब्युरोले अनुसन्धान र बयानका लागि उनीहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा ल्याएको स्रोतको भनाइ छ ।

नख्खु बम विस्फोटको जिम्मा लिएकाले ओलीलाई कर्तव्य ज्यान, विष्फोटक पदार्थ लगायतका मुद्दामा अनुसन्धान हुनेछ । अरुलाई राज्य विप्लवको मुद्दा लगाएर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

एक जनाको मृत्यु तथा दुई जना गम्भीर घाइते हुने गरी १० फागुनमा भएको नख्खु बिस्फोटमा सूर्य भुजेल पक्राउ परिसकेका छन् । उनी विप्लवका विश्वास पात्र मानिन्छन् । यद्यपि, उनी विप्लव समूह प्रवेश गरेको भने धेरै भएको छैन ।

सांस्कृतिक विचलनको आरोपमा पार्टीबाट कारबाहीको तयारी भएपछि सुदर्शनले ३ वैशाख ०७२ मा तत्कालीन एमाओवादीको पोलिटब्युरो सदस्यबाट राजीनामा दिएका थिए । त्यसपछि उनले कम्युनिष्ट न्युक्लियर्स नेपाल नामक पार्टी समेत गठन गरेका थिए ।

तर, डेढ वर्षअघि उनी नेत्रविक्रम चन्दसँग एकता गरेर विप्लव समूहको तेस्रो वरियताको नेता बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment