७ बैशाख, काठमाडौं । विजय कुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच बिहीबार एकीकरण भएको छ ।
एकीकरण पछि पार्टीको अध्यक्ष गच्छदार नै रहनेछन् भने थारुलाई सहअध्यक्षको जिम्मेवारी दिइने छ ।
पार्टीको नाम भने नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको छ । एक हप्ताभित्रै एकता महाधिवेशन गर्ने र पार्टीको नाम तथा जिम्मेवारी टुंगो लगाउने थरुहट तराई पार्टी नेपालका नेता एवम् सांसद गोपाल दहितले जानकारी दिए ।
यसअघि थरुहट तराई पार्टी नेपालकी सांसद गंगा थारु बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी थिइन् ।
त्यसैगरी फोरम लोकतान्त्रिकसँग शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाती पार्टीकी यशोदा लामाले पनि एकता गरेका थिए।
यो पनि पढ्नुहोस्