Comments Add Comment

पूर्वी पहाडी जिल्लामा भिस्याट टेलिफोन बन्द, दुर्गमका बासिन्दा मर्कामा


१०, वैशाख, ताप्लेजुङ । पूर्वी पहाडी जिल्लाको ग्रामीण भेगमा सञ्चार सम्पर्कका लागि छ वर्षअघि वितरित भिस्याट प्रणालीको टेलिफोन बन्द हुँदा दुर्गम क्षेत्रका स्थानीय मर्कामा परेका छन् ।

सञ्चार सम्पर्कको निम्ति गाउँ–गाउँमा वितरित टेलिफोन अवरुद्ध भएपछि सर्वसाधारणको लगानी पनि खेर गएको छ । पूर्वाञ्चलमा भिस्याट प्रणालीद्वारा सञ्चालित एक हजारभन्दा बढी टेलिफोन बन्द भएको सञ्चालकहरुले बताएका छन् ।

एसटिएम कम्युनिकेशन कम्पनीले सरकारी अनुदानमा प्रति थान ३५ हजार रुपैयाँका दरले रकम असुलेर उक्त टेलिफोन उपभोक्तालाई वितरण गरेको थियो ।

पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, धनकुटा, तेह्रथुमसहित तराईमा झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लाका बिकट गाबिसहरुमा भिस्याट टेलिफोन वितरण गरिएको थियो ।

प्राविधिक दक्षताको कमी र कम्पनीको लापारवाहीले विद्युत्त र ताररहित भिस्याट प्रणालीको टेलिफोन अवरुद्ध भएको ताप्लेजुङ घुन्साका उपभोक्ता पासाङ शेर्पाले बताए । ताप्लेजुङका विकट ओलाङ्चुङगोला, लेलेप, पापुङलगायतका हिमाली स्थानमा यो सेवा बढी सञ्चालनमा थिए । यो सेवा बन्द हुँदा स्थानीयलाई फोन गर्नका लागि १ दिन हिँड्नुपर्ने बाध्यता आइलागेको छ ।

भिस्याट टेलिफोन संचालकलाई प्राविधिक सहयोग र रिचार्ज कार्ड उपलब्ध गराउन स्थापित एसटिएम कम्पनीको शाखा कार्यालयहरु पनि बन्द भएका छन् । एसटिएम कम्पनीका अनुसार, ताप्लेजुङमा यस्ता ६४ फोन सञ्चालनमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment