Comments Add Comment

पाल्पामा जीप दुर्घटना हुँदा मालिकको मृत्यु, काभ्रेमा टिप्परमा करेन्ट लाग्दा चालकको ज्यान गयो

१० वैशाख, पाल्पा। रिब्दीकोट गाउँपालिका– ७ कातडी भन्ने स्थानमा आज बिहान जिप दुर्घटना हुँदा त्यसका मालिक रिब्दीकोट गाउँपालिका– ७ पालुङका २४ वर्षीय दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका सोही स्थानका ४५ वर्षीय प्रेमबहादुर गाहा र निजका नौ वर्षीय छोरा भूपेन्द्रलाई अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पठाइएको मुझुङ प्रहरी कार्यालयले जनाएको छ ।

रिब्दीकोटको पिपलडाँडाबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज १५८१ नम्बरको सो जिप दुर्घटना भई डेढ सय मिटर तल खसेको मुझुङ प्रहरी कार्यालयका प्रमुख गोपाल पुनले जानकारी दिए ।

करेन्ट लागेर टिपर चालकको मृत्यु

यसैबीच काभ्रेको बनेपा नगरपालिका– ७ मा टिपरको ढालाले हाइभोल्टेजको तारलाई छुँदा आज करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ ।

बा ३ ख ३५४९ नम्बरका चालक पनौती नगरपालिका– ३ बस्ने करिब २७ वर्षीय केशव आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेले जानकारी दिए ।

प्रहरीले सो टिपर मर्मतका लागि ग्यारेज लगेको बताइएको छ । गत चैतको अन्तिम साता पनि सोही प्रकृतिको घटनामा यहाँ एक जनाको मृत्यु भएको थियो ।

यसैबीच केही दिनदेखि परेको वर्षाका कारण पहिरो खसेर आज अरनिको राजमार्गको सडक खण्ड अवरुद्ध भएको छ । बिहानैदेखि सडक अवरुद्ध भए पनि एकतर्फी रुपमा सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । प्रहरी नायब उपरीक्षक नवीनराज राईले अवरुद्ध सडक खुलाउने काम जारी रहेको र केही समयपछि दुईतर्फी रुपमा नै सञ्चालनमा आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment