Comments Add Comment

आत्महत्या गरेका युवकको पहिचान नहुँदा ४० दिनदेखि अस्पतालमै शव

७ चैत, काठमाडौं । काठमाडौको चन्द्रागिरि नगरपालिका-१४, नैकापमा झुण्डिएर आत्महत्या गरेका एक युवकको पहिचान खुल्न नसक्दा शव अलपत्र परेको छ । मृत्यु भएको ४० दिन वितिसके पनि पहिचान नखुलेपछि शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अलपत्र परेको हो ।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख नायब उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाका अनुसार मृत्यु हुने युवकले आफ्नो घर धादिङको केराबारी बताउने गरेका थिए । मिस्त्री काम गर्ने उनले साथीभाइ मध्ये कसैलाई आफ्नो नाम रवीन्द्र तामाङ त कसैलाई दिपक स्याङ्त्याङ बताउने गरेका थिए ।

तर, उनको यो ठेगाना र पहिचानबाट प्रहरीले मृतकको परिवार र आफन्तलाई फेला पार्न सकेको छैन । उनको शवलाई पोष्टमार्टमका लागि अस्पताल त पठाइएको छ तर, प्रक्रिया अघि बढ्न सकेको छैन । कानूनतः पोष्टमार्टमका लागि मृतकको परिवारले जाहेरी दिनुपर्ने हुन्छ ।

उनी एक वर्षअघि देखि नैकापस्थित खड्गराज आरनको घरमा भाडामा बस्दै आएको प्रहरीको भनाइ छ । उनले प्रयोग गर्ने गरेको मोबाइलको सीम कार्ड पनि आफ्नो नाममा छैन ।

‘आफूसँग नागरिकता नभएको बताएपछि ठेकेदारहरुले आफ्नो सीम दिएका रहेछन्’, वृत्तका एक प्रहरी अधिकारीले भने ।

गहुँ गोरो वर्ण, पातलो शरीर र ५ फिट ६ इञ्च उचाइ र ९८०३७७८३२४, ९८६९७४९८२४, ९८१३११८५४४ र ९८०३७७७९७६ गरी ४ वटा नम्बरको मोबाइल बोक्ने उनलाई चिन्ने व्यक्ति वा परिवारका सदस्यले नजिककै रहेको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन थानकोट प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment