+
+
Shares

कांग्रेस महाधिवेशन : नेतृत्व चयन प्रतिस्पर्धात्मक कि सर्वसम्मत ?

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा नहुने नेताहरूले दाबी गरेका छन् । सभापति पदमा गगन थापाका प्रतिस्पर्धी नहुने विश्लेषणसहित प्यानल बनाउन आवश्यक नरहेको उनीहरूको तर्क छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ असोज ५ गते ७:२०

४ असोज, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा नहुने दाबी नेताहरूले गरेका छन् । सभापति पदमा प्रतिस्पर्धाको सम्भावना न्यून रहेको तर अन्य पदमा भने प्रतिस्पर्धा हुने उनीहरूले बताएका छन् ।

गत पुसमा विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा क्रमशः अन्य नेताहरू पनि थपिँदै गएसँगै चुनावी प्रतिस्पर्धाबाट पदाधिकारी छनोट हुने स्पष्ट संकेत देखिएको छ ।

कांग्रेस नेताहरूका अनुसार सभापति पदमा पनि प्रतिस्पर्धा हुने सम्भावना न्यून छ । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य सभापतिमा सभापति पदका लागि प्रतिस्पर्धा नहुने आकलन गर्छन् । आचार्यले अनलाइनखबरसँग भने, ‘सभापति पदमा गगनजी बाहेक अरूको उम्मेदवारी नै पर्दैन भन्न त सकिँदैन । तर उहाँको व्यक्तित्वलाई च्यालेन्ज गर्ने अथवा समदुरीमा आउने अर्को नेता अहिलेसम्म देखिएको छैन ।’

सभापति बाहेकका पदमा भने आकांक्षीहरूले विस्तारै मुख खोल्न थालेका छन् । विशेष महाधिवेशनबाट उपसभापति बनेका विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सोही पदका आकांक्षी रहेको नेताहरूले बताएका छन् । उपसभापति विश्वप्रकाशको नेतृत्वमा नीति प्रतिष्ठान छ भने स्थानीय तहका उम्मेदवार छनोटको अध्ययन गर्न बनाइएको पोलिटिकल ब्युरो प्रमुखमा उपसभापति भुसाल छिन् ।

पूर्वसभापति शेरबहादुर देउवा पक्ष छोडेका पूर्वसहमहामन्त्री किशोरसिंह राठोर उपसभापति पदका आकांक्षी छन् । १४औं महाधिवेशनमा राठोर खस आर्य क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका थिए ।

देउवा समूह परित्याग गर्ने क्रममा नेतृत्वदायी भूमिका खेलेकी महालक्ष्मी उपाध्याय (डिना) उपसभापतिको आकांक्षी रहेको नेताहरूले बताएका छन् ।

महालक्ष्मी उपाध्याय (डिना)

उपसभापति पद बढाएर दुईबाट तीन बनाउने गरी विगतमा बहस हुँदै आए पनि संशोधित विधानमा दुई जनाकै व्यवस्था कायम गरिएको छ । तीन उपसभापतिमा एक जना महिला हुनुपर्ने गरी विधान संशोधन बहस विगतमा हुँदै आएको थियो ।

विशेष महाधिवेशनको विपक्षमा रहेका पूर्वउपसभापतिद्वय धनराज गुरुङ पनि वडा अधिवेशनमा सहभागी भएका छन् । गत महाधिवेशनमा उपसभापतिमा पराजित विजय गच्छदार संस्थापनतर्फ लागे पनि पदाधिकारीको आकांक्षामा भने मुख खोलेका छैनन् ।

सभापतिपछि कार्यकारी भूमिमा रहेको पद महामन्त्रीका लागि आकांक्षीको संख्या बढी छ । बहालवाला दुई महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे सोही पदका आकांक्षी छन् ।

कांग्रेसका एक केन्द्रीय सदस्य तत्कालीन अवस्थामा विशेष परिस्थितिमा भएको विशेष महाधिवेशनबाट महामन्त्री बनेको र एक कार्यकाल पनि पूरा गर्छु भनी सोही पदमा दाबी राख्नु स्वाभाविक हुने बताउँछन् । उनी भन्छन्, ‘कम्तीमा एक कार्यकाल त्यो पदमा बस्ने चाहना दुवै महामन्त्रीको हो ।’

महामन्त्री पदमा केन्द्रीय सदस्यद्वय उदयशमशेर राणा, मधु आचार्यलगायत आकांक्षी छन् । विशेष महाधिवेशन उद्घाटनसँगै राणाले पूर्वसंस्थापन परित्याग गरेका थिए । खस आर्य क्लस्टरबाट राणा हाल सहमहामन्त्री पदमा छन् ।

महामन्त्रीका अर्का आकांक्षी आचार्य विशेष महाधिवेशनको माग गर्ने अगुवाइ गर्ने नेता हुन् । केन्द्रीय सदस्य आचार्य उपसभासभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति प्रतिष्ठानको उपप्रमुखसमेत छन् । आचार्य भन्छन्, ‘विशेष महाधिवेशनको ग्राउन्ड बनाउने भूमिका खेलेको हुँ । पार्टीको माथिल्लो नीतिगत तहको काम गर्दै आएको छु । साथीहरूले मूल्यांकन गर्नुहोला ।’

हाल पदाधिकारीमा आकांक्षी देखिएका कतिपय नेताहरू १४औं महाधिवेशन पनि आकांक्षी थिए । हाल पदाधिकारीमा आकांक्षा राख्ने कतिपय नेताहरू १४औं महाधिवेशनमा पदाधिकारीको प्रतिस्पर्धाबाट पछि हटेका थिए । समूहभित्र नेताहरूलाई मिलाउने क्रममा कतिपय नेताले आकांक्षालाई थाती राखेका थिए ।

गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीका आकांक्षी बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की संस्थापनसँग जोडिएका छन् ।

१४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका जीवन परियार उपसभापति वा महामन्त्रीको आकांक्षी रहेको कांग्रेसभित्र चर्चा छ ।

महामन्त्री पदका अर्का आकांक्षी केन्द्रीय सदस्य नैनसिंह महर हुन् । उनले धेरै अघिदेखि नै महामन्त्री पदका लागि तयारी गरिरहेका थिए । नियमित महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने घोषणा उनले चुनावअघि नै गरेका थिए ।

कांग्रेसले समावेशिताका आधारमा ८ सहमहामन्त्री हुने व्यवस्था विधानमा गरेको छ । समावेशिताको आधारमा ८ सहमहामन्त्रीले प्रतिस्पर्धा गर्ने छन् भने थप तीन सहमहामन्त्री मनोनीत गर्ने अधिकार सभापतिलाई विधानले दिएको छ ।

आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र गरी १-१ जना सहमहामन्त्री निर्वाचित हुने छन् । सभापतिले समितिका निर्वाचितमध्येबाट एक महिलासहित तीन जना सहमहामन्त्री मनोनीत गर्ने अधिकार छ ।

१४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूमा पूर्वसभापति शेरबहादुर देउवा, पूर्वउपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय बद्री पाण्डे र उमाकान्त चौधरी बाहेकका सबै पदाधिकारी संस्थापनसँग जोडिएका छन् ।

विशेष महाधिवेशनबाट आएको समितिको कार्यकारी पदमा मूलतः कांग्रेसको भ्रातृ संस्था नेविसंघको पृष्ठभूमिबाट आएका नेताहरू छन् ।

विशेष महाधिवेशनबाट डिला संग्रौला, उदयशमशेर राणा, प्रकाश स्नेही रसाइली, बहादुरसिंह लामा, मुक्तादेवी यादव, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा सहमहामन्त्री बने । सहमहामन्त्री पदमा मन्सुर बाहेक सबै पद नयाँ अनुहार हुन् । संग्रौला र राणा १४औं महाधिवेशनमै पदाधिकारीका आकांक्षी थिए ।

प्रवक्ता देवराज चालिसे, पूर्वप्रचार विभाग प्रमुख मीन विश्वकर्मा लगायतका नेता पदाधिकारीको आकांक्षी छन् । विशेष महाधिवेशनको माग गर्ने अगुवाइ गर्नेमध्येका एक नेता चालिसे गत महाधिवेशनमा सहमहामन्त्रीमा पराजित भएका थिए ।

विशेष महाधिवेशनबाट आएको समिति र पूर्वसभापति देउवा समूह छोडेर आएका नेताहरू एकीकृत भएसँगै पदाधिकारीमा आकांक्षीको संख्या बढेको छ ।

नेताहरूका अनुसार यस पटक प्यानलगत प्रतिस्पर्धा हुने छैन । नेताहरूका अनुसार सभापति थापा प्यानल बनाउने पक्षमा छैनन् । पदाधिकारी पदमा पनि हरसम्भव सहमति खोज्ने प्रयत्न हुने तर सहमति जुट्न नसके चुनावी प्रतिस्पर्धा हुने केन्द्रीय सदस्य आचार्य बताउँछन् ।

विशेष महाधिवेशनबाट आएको समितिको कार्यकारी पदमा मूलतः कांग्रेसको भ्रातृ संस्था नेविसंघको पृष्ठभूमिबाट आएका नेताहरू छन् । सभापति थापा, उपसभापति शर्मा, महामन्त्रीद्वय पौडेल र घिमिरे विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् ।

नियमित महाधिवेशन आइसकेपछि भूगोलमा राजनीति गरेर आएका व्यक्तिहरू पनि कार्यकारी पदमा पुग्नुपर्ने धारणा आउन थालेको छ । ‘पार्टीका महत्वपूर्ण जिम्मेवारीमा तल्लो तहको संरचनादेखि काम गर्दै आएका व्यक्तिहरू पनि ल्याउनुपर्छ,’ कांग्रेसका शीर्ष तहका नेता भन्छन्, ‘नेविसंघ र तरुण दलको राजनीति गरेका व्यक्तिहरू मात्रै कार्यकारी पदमा पुग्ने अवस्था बन्यो भने भूगोलमा काम गरेर आएकाहरूको अवमूल्यन हुन्छ । बाहिरबाट प्रश्न पनि उठ्छ ।’

संशोधित विधानअनुसार २३१ जनाको केन्द्रीय समिति हुने व्यवस्था छ । तीमध्ये ६१ जना सभापतिले मनोनीत गर्ने प्रावधान छ । संशोधित विधानबाट १४ जना रहेको पदाधिकारीको संख्या बढाएर १७ पुर्‍याइएको छ ।

निर्वाचित केन्द्रीय सदस्यबाट ३ जनालाई सहमहामन्त्री र एक जनालाई कोषाध्यक्षमा मनोनीत गर्ने अधिकार सभापतिलाई छ । युवाहरूलाई केन्द्रीय समितिमा पुर्‍याउनका लागि विधानमा नयाँ प्रावधान थपिएको छ । जसअनुसार अब ३५ वर्ष मुनिका २१ जना युवा केन्द्रीय समितिमा छनोट हुने छन् ।

युवा प्रतिनिधित्व सुनिश्चित गर्न प्रतिनिधि छनोटमा युवा अनिवार्य हुने व्यवस्था गरिएको छ । प्रतिनिधिमा युवा र क्षेत्रगत विज्ञ थपिँदा क्षेत्रबाट आउने प्रतिनिधिको संख्या बढ्ने भएको छ । यसअघि प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट २६ जना प्रतिनिधि छनोट हुँदै आएकोमा यस पटक ३१ जना हुने छन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?