Comments Add Comment

‘भोलि हाम्रो दिन हो, उपाधि जित्छौं’

७ चैत्र, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले डिफेन्डिङ च्याम्पियन भारतसँग शुक्रबार प्रतिस्पर्धा गर्दैछ । घरेलु दर्शकका अगाडि पहिलोपटक उपाधि उचाल्न नेपाली खेलाडी बलियो मनोबलमा छन् ।

साफ च्याम्पियनसिप फुटबलको इतिहासमा अहिलेसम्म कुनै टिमले भारतलाई पराजित गर्न सकेकै छैन । भारतको यो इतिहासलाई तोड्ने अवसर योभन्दा उत्तम सायदै आउला ।

तुलनात्मक रुपमा पछिल्लो समयमा नेपाल भारतमाथि हावी हुँदै आएको छ । यसले गर्दा पनि नेपाल भारतलाई पराजित गर्दै उपाधि जित्ने होडमा विश्वास गर्न सकिने आधार देखाउँछ ।

बिहीबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा नेपाली महिला टिमकी कप्तान निरु थापाले निर्धक्क भएर भनिन् ‘हामी तयार छौँ । उपाधि जित्छौं ।’

आत्मविश्वासी कप्तानको यो अभिब्यक्तिले नेपाली टिम बलियो छ र फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्न पूर्णरुपमा तयार भएको सबैलाई भान हुन्छ ।

यता, भारतीय प्रशिक्षक मायमोल नेदुगादन रोक्कीले पाँचौ पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचाल्ने दाबी गरिन् । उनको यो अभिब्यक्तिमा इतिहासको बलियो पाटो पनि झल्किन्छ ।

निर्णय जसको पक्षमा आए पनि नेपाल र भारतबीचको फाइनलमा निकै रोमाञ्चक प्रतिस्पर्धा हुने भने निश्चित नै छ । अब इतिहासलाई बिर्साउने गरी नेपालले उपाधि जित्न के कस्तो रणनीति अपनाएको छ ?

यसबारे हामीले नेपाली टिमका प्रशिक्षक हरि खड्कासँग कुराकानि गरेका छौं।

नेपालभन्दा भारतको बलियो पक्ष के देख्नुहुन्छ ? र त्यसलाई कसरी रोक्ने ?

उनीहरुको विङ साइड निकै बलियो देखिएको छ । र प्लेयर मेकर सन्जु, इन्दुमती र संगिता बास्फोरे राम्रो लयमा छन् । उनीहरुलाई हामी मिड्जोनमा दबाब दिएर समय नदिई खेल्ने छौँ ।

फाइनल खेलमा हाम्रो रणनीति के हुनेछ ?

हामी आक्रामक फुटबलमा विश्वास गर्छौं । त्यसकारण हामी आक्रामक नै खेल्नेछौं । तर हामी आफ्नो रक्षापंक्तिलाई बलियो बनाएर खेल्नेछौँ । हाम्रो टिम सन्तुलित छ । आत्मविश्वास पनि उच्च छ । भारतलाई पराजित गर्नु नै हाम्रो लक्ष्य हो ।

भारत सधैँको राम्रो टिम हो । अलिकति दबाब त हुन्छ । मैले खेलाडीलाई के भन्छु भने हामीले भारतलाई जित्ने भनेको परिश्रमले नै हो ।

हाम्रो मुख्य खेलाडी सावित्रा भण्डारीलाई उनीहरुले पनि हेरिरहेकै होलान्, उनलाई रोकेको अवस्थामा अर्को योजना के छ ?

यस्तो हो, आक्रमक र रक्षात्मक फुटबलमा अलिकति फरक हुन्छ । श्रीलंकाले पूरै रक्षात्मक रणनीति बनाएर खेलेको कारण सावित्रा चल्न नपाएको हो । भोली भारतले त्यसरी खेल्दैन ।

भारतले पनि पूरै फुटबलमा विश्वास गर्ने भएको कारणले आक्रमक नै खेल्छ । त्यो कारणले गर्दा भारतको डिफेन्स पूरै बलियो हुँदैन जस्तो लाग्छ । भोलि सावित्रलाई खेल्न अरु टिममा खेलेकोभन्दा सजिलो हुन्छ जस्तो लाग्छ ।

साफ महिला फुटबलको इतिहासमा भारत पराजित भएको छैन नेपालले फाइनलमा पराजित गर्ने आधार चाहिँ के छ त ?

मैलै यसअघि नै भनिसकेको छु कि, यो हाम्रो घरेलु मैदान हो । हामी तयार छौँ भारतलाई पराजित गर्दै च्याम्पियन बन्न । किनभने खेलाडीमा उच्च आत्मविश्वास छ । हामीले भारतसँगको पछिल्लो दुई मध्ये एक खेलमा जित र एकमा बराबरी खेलेका छौँ । भोलि हाम्रो दिन हो । अवश्य हामी भारतको रेकर्ड ब्रेक गर्छौं ।

घरेलु भूमिमा फाइनल खेल्दै गर्दा दबाब मान्नु हुन्छ कि फाइदा ?

महिला टिमले पहिलो पटक यति ठूलो माहोलमा फाइनल खेल्न लागिरहेको छ । विराटनगरमा दर्शकको उपस्थिति जुन देखिएको छ । यसले खेलाडीमा अझ बढी आत्मविश्वासी बनाएको छ । यसले हामीलाई सहयोग नै हुने गरेको छ ।

तर खेलाडीले दिएको पासहरु र अवसरहरु सदुपयोग गर्न नसक्दा दर्शकबाट आउने नकारात्मक हुटिङले अलिकति दबाब त हुन्छ नै । तर मैले त्यो दबाबलाई हटाउन केही सिकाइ सकेको छु । हामीलाई दबाबभन्दा पनि मौका छ । खेलाडी पनि उत्साहित छन् ।

हाम्रो अलिकति डिफेन्समा कमजोरी जस्तो देखिन्छ नि ?

गीता रानालाई मनमायाको साइडमा अलिक चेपेर खेलाउने हो भने त्यो पनि मिल्छ । त्यस्तै, अनिता बस्नेतले आक्रामक शैलीमा खेल्ने नै छ तर सन्जुलाई रोक्ने ड्युटी डिफेन्सिभ पक्षलाई दिन्छु ।

तपाईंले राष्ट्रिय टिमबाट पनि लामो समय खेल्नुभयो । कप्तानी पनि गर्नुभयो । खेलाडी र प्रशिक्षक मध्ये कुनमा बढी दबाब हुँदो रहेछ ?

खेलाडीभन्दा प्रशिक्षकमा धेरै प्रेसर हुन्छ । किनभने खेलाडी हुँदा एउटा निश्चित पोजिसनलाई मात्रै हेर्नु पर्ने हुन्थ्यो । तर अहिले प्रशिक्षक हँुदा सबै पक्ष हेर्नु पर्ने हुन्छ । जस्तो आफ्नो टिमको सबल दुर्बल पक्षदेखि विपक्षी टिमको अवस्थाको बारेमा नियाल्नु पर्छ त्यसकारण यो गाह्रो काम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment