Comments Add Comment

स्थानीय चुनावलाई लक्षित गरी चितवनमा निषेधित क्षेत्र घोषणा

१८, बैशाख, चितवन । स्थानीय तहको निर्वाचनमा लक्षित गरी सुरक्षा समिति चितवनले जिल्लाका सातवटै स्थानीय तहका मूख्य स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

१ महानगरपालिका, ५ नगरपालिका र १ गाउँपालिकाका केन्द्र लगायत असुरक्षाका सम्भावित स्थानहरुमा जुलुस, धर्ना, आमसभा लगायतका कार्यक्रममा रोक लगाएको जिल्ला सुरक्षा समितिले प्रष्ट पारेको छ ।

भरतपुर महानगरपालिकाको पूर्वमा वाईपासरोड, पश्चिममा त्रिचोक, उत्तरमा रमाईलोचोक र दक्षिणमा केन्द्रीय बस टर्मिनलसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए । ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई मजवुत बनाउन निषेधित क्षेत्र घोषणा गरिएको हो ।

त्यस्तै पूर्वको रत्ननगर नगरपालिकाको बकुलहरचोक, हरिहरमन्दिर, टिकौली र बकुलहर माविदेखि शान्तिचोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

खैरहनी नगरपालिकाको पूर्वमा मालपोत, पश्चिममा भूवानीशंकर कलेज, उत्तरमा नेपाल आदर्श मावि र दक्षिणमा दूरसञ्चार कार्यालयसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कालिका नगरपालिकाको पूर्वमा सिर्जना चोक, पश्चिममा भालुखोला, उत्तरमा पदमपुरको ३ नं. बाटो र दक्षिणमा लंकालाईनदेखि टाँडी जाने बाटोसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको एसपी थापाले जानकारी दिए ।

त्यसैगरी, माडी नगरपालिकाको पूर्वमा बघौडा मध्यवर्ती सामुदायिक वनको कार्यालय, पश्चिममा सत्यसाई पेट्रोलपम्प, उत्तरमा बिक्रमबाबा चलचित्र भवन र दक्षिणमा विद्युत प्राधिकरणको कार्यालयसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

पूर्वको राप्ती नगरपालिकामा पूर्वमा गढीमाई गणको सुरक्षा जाँच पोष्ट, पश्चिममा लोकमार्गको मनकामना चोक, उत्तरमा चेपाङ मार्ग चौकीडाँडाचोक र दक्षिणमा प्यारीढाप गाउँसम्मका क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्लाको एकमात्रै गाउँपालिका ईच्छाकामनाको केन्द्र कुरिनटारका अधिकांश स्थानमा निषेधित क्षेत्र घोषणा गरिएको छ । पूर्वमा नयाँबस्ती जाने बाटो, पश्चिममा सशस्त्र प्रहरीको तालिम केन्द्र जाने बाटो, उत्तरमा पृथ्वी राजमार्ग र दक्षिणमा रोशन सिलवालको बारीसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको एसपी थापाले जानकारी दिए

ती क्षेत्रमा मुख्य निर्वाचनको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयसमेत छन् । आजैदेखि लागू भएको निषेधित क्षेत्रमा जुलुस, धर्ना, आमसभा, कोणसभा लगायतका कार्य गर्न निषेध गरिएको छ ।

मतगणना नभएसम्मका लागि निषेधित क्षेत्र लागू हुनेछ । सुरक्षा समितिले सम्भावित दंगाग्रस्त क्षेत्रसमेत पहिचान गरी आवश्यक सुरक्षा प्रबन्ध गरिएको चितवन प्रहरी प्रमुख एसपी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment