विश्वको इतिहासमा परम्परा तथा लोकलाजको नाउँमा यस्ता क्रुर क्रियाकलाप हुन्छन् जुन सुन्दैमा डर लाग्छ ।
युगान्डामा केही दशक अघिसम्म यस्तै परम्परा कायम थियो । अविवाहित महिलाहरु गर्भवती भएमा यस्तो डरलाग्दो सजायँको भागिदार बन्थे जुन कल्पना गर्न पनि गाह्रो हुन्छ ।
अविवाहित गर्भवती महिलालाई मर्नका लागि एक बिरानो टापुमा लगेर छाडिन्थ्यो । त्यसमध्ये केहीमात्र भाग्यमानी हुन्थे र ज्यान बचाउन सफल हुन्थे ।
यसरी ज्यान जोगाउन सफल महिलामध्ये एक हुन् माउदा कितारागाबिर्वे । उनी १२ वर्षको उमेरमा गर्भबती भइन् र उनलाई उसैगरी मर्नका लागि टापुमा लगेर छाडियो ।
उक्त टापुलाई अकाम्पीन अर्थात् सजाय भूमि भनिन्छ ।
उनी भन्छिन् ः जब म गर्भवती भएको कुरा मेरो परिवारलाई थाहा भयो तब मलाई एउटा डुंगामा चढाएर अकाम्पीन लगियो । मैले खाना तथा पानी विना उक्त ठाउँमा चार रात बिताएँ ।
माझीले बचाए
उनका अनुसार त्यहाँ निकै चिसो थियो र मरिन्छ की जस्तो लाग्थ्यो । तर पाँचौ दिन त्यहाँ एकजना माछा मार्ने माझी पुगे र माझीले उनलाई आफ्नो घर लगे ।
सुरुमा त उनलाई विश्वास लागेन । तर माझीले उनलाई भरोसा दिलाए र आफ्नै श्रीमती बनाएर राख्ने बाचा गरे ।
उक्त सजायभूमि सँग जोडिएको बुनयोन्यी तालबाट डुंगा चढेर १० मिनेटमा पुग्न सकिने काशुंग्योरा गाउँमा बस्छिन् उनी ।
माउदाको नाती टाइसन नामवेसिगा एक टूर गाइडको रुपमा काम गर्दछन् । माउदाको उमेर ८० वर्ष भन्दा धेरै होला । तर उनको परिवारका अनुसार माउदा १०६ वर्षकी भइन् । थोते अनुहारमा मुस्कान छ उनको ।
बिहेको परम्परा
ब्याकिगा समुदायको परम्परा अनुसार महिलाहरु बिहेपछि मात्र गर्भवती हुन पाउँछन् ।
कुमारी कन्याहरुको बिहेमा केटा पक्षबाट कन्याका बाउआमालाई गाइवस्तु दाइजोको रुपमा प्राप्त हुन्छ ।
अविवाहित छँदै छोरीचेलीहरु गर्भवती बने भने त्यो परिवारको लागि लज्जाको विषय बन्ने मात्र होइन केटीका बाउआमाको आर्थिक फाइदा पनि गुम्दछ । सोही कारण बाउआमाले आफ्नी अविवाहित गर्भवती छोरीलाई कुनै काम नलाग्ने वस्तु ठान्छन् र मर्नका लागि टापुमा लगेर छाडिदिन्छन् ।
यो परम्परा केही दशक पहिलेसम्म चलेको थियो तर अहिले भने यसलाई गैरकानूनी घोषित गरी बन्द गरिएको छ ।
टापुमा लगेर छाडिएका बालिका तथा युवतीहरु धेरै पौडिन जान्दैनथे । त्यसैले उनीहरुसँग दुईवटा मात्र विकल्प बाँकी रहन्थे । कि त पानीमा हाम फाल्ने, कि त चिसो तथा भोकले मर्ने ।
टापुमा छाड्ने र झरनामा फ्याँक्ने चलन
माउदा भन्छिन्, ‘उक्त समयमा म १२ वर्षकी थिएँ होला । तलाउको बिचौँबीच रहेको टापुमा एक्लै छाड्दा जो कोहीलाई डर लाग्छ ।’
त्यस समयमा युगान्डाको अर्को ठाउँ, जो अहिले रुकुंगिरी जिल्लामा पर्दछ त्यहाँ चाहीँ अविवाहित गर्भवती महिलालाई स्थानीय किसिन्जी झरनामा लगेर फ्याँकिदिने चलन थियो । यसो गर्दा कोहीपनि ज्यूँदो बँच्दैनथे ।
उता टापुमा छाडिएका महिलाहरुलाई फेला पारी लिएर जाने पुरुषहरुले यदि तिनै महिलासँग बिहे गरे भने त्यस्तो बिहेको अर्थ दाइजो मुक्त श्रीमती पाउनु थियो ।
जब माउदा माझीसँगै गाउँ पुगिन् तब मानिसहरु चर्चा परिचर्चा गर्न थाले । दशकौँ सम्म उनी पर्यटकको आकर्षणको केन्द्र नै बनिन् । उनको घरमा नियमित रुपमा पर्यटक आउँथे ।
तर सबैभन्दा दुखद कुरा त के भने जुन गर्भका कारण उनलाई टापुमा मर्नका लागि लगेर छाडिएको थियो त्यो गर्भ भने परिवारको कुटपिटका कारण तुहियो ।
माउदाका अहिले ३ छोरी छन् । छोरीमध्ये जोकोही पनि बिहेअघि गर्भवती बनेका आफुले कुनै सजाय नदिने उनी बताउँछिन् । बिहे अघि गर्भवती हुने केटीहरुलाई दिने सजायलाई स्थानीय भाषामा ओकुहिना भनिन्छ ।
अपरिचित सँग प्रेम
आफुलाई बिहेअघि गर्भवती बनाउने पुरुषलाई उनले त्यसपछि कहिल्यै देखिनन् । केही वर्षपछि त्यो पुरुषको मृत्यु भएको खबर उनले थाहा पाइन् । माउदाका पतिको भने सन् २००१ मा मृत्यु भयो । उनी भन्छिन्, ‘उसले मलाई प्रेम गर्दथ्यो । उसले मेरो निकै हेरचाह पनि गर्यो ।’
मृत्युपर्यन्त उनका पति उनीसँगै थिए । उनीहरुका ६ जना छोराछोरी छन् ।
बिछोडिएको परिवारसँग भेट गर्ने चाहना
दशकौँ पछि भएपनि उनले आफ्ना बाउआमा र माइती परिवार भेट्न पाइन् । उनी मुस्कुराउँदै भन्छिन् ः इसाइ बनेसँगै मैले सबैलाई माफ गरिदिएँ । त्यो भाइलाई पनि जसले मलाई टापुसम्म लगेको थियो । म आफ्नो परिवार भेट्न फेरि जानेछु ।
माउदा अविवाहित गर्भवतीको रुपमा उक्त टापुमा लगेर छाडिने अन्तिम महिला हुन् । युगान्डामा उपनिवेशीकरण र इसाइ धर्मको फैलावटसँगै उक्त परम्परा बन्द भएको थियो र कडा कानून बनाएर यसमा प्रतिबन्ध लगाइयो ।
यद्यपि अहिलेपनि अविवाहित गर्भवती महिलालाई वर्षौँसम्म राम्रो नजरले हेरिँदैन ।
बीबीसी हिन्दीबाट