Comments Add Comment

एमाले बैठकमा केशव स्थापितको नाम प्रवेश, पोखरा र भरतपुरको उम्मेदवार टुंगो लाग्यो


१८ बैशाख, काठमाडौं । काठमाडौं महानगरको उम्मेदवार छान्न बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकमा केशव स्थापितको नामले प्रवेश पाएको छ । एमालेले भरतपुर र पोखरा महानगरको उम्मेदवार भने टुंगो लगाएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा शंकर पोखरेलले स्थापितको नाम टेबल गरेका थिए, जसलाई उपाध्यक्ष बामदेव गौतमले समर्थन गरे ।

जिल्ला र प्रदेशले मेयरको उम्मेदवारका लागि स्थापितको नाम सिफारिस गरेको थिएन । प्रदेश नम्बर ३ की संयोजक अष्टलक्ष्मी शाक्यले विद्यासुन्दर शाक्य, जीवनराम श्रेष्ठ र सावित्रा भुसालको नाम पेश गरेकी थिइन् ।

केशव स्थापितको नाम प्रवेश भएपछि अध्यक्षले छलफल गरेर टुंगो लगाउने समझदारी भएको छ ।

काठमाडौंका पूर्व मेयर भएपनि स्थापितप्रति एमाले पङ्ती सकारात्मक छैन । २०७० को संविधानसभामा उनी संघीय समाजवादीबाट क्षेत्र नम्बर ६ मा उम्मेदवार बनेका थिए र १ हजार ५० भोट पाएका थिए ।

उनकै कारण योगेश भट्टराई हारेको एमालेको बुझाइ छ । किनकी योगेश १२ सय भोटले मात्र हारेका थिए ।

ललितपुरमा केपी ओलीका सालाको नाम प्रस्ताव

एमालेले ललितपुर महानगरपालिकाको पनि उम्मेदवार टुंगो लगाएन । जिल्ला र प्रदेश दुबैबाट हरिकृष्ण व्यञ्जनकारको नाम सिफारिस भएको थियो ।

तर, ज्ञानेन्द्र शाक्यको नाम पनि छलफलमा आएको छ । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका साला हुन् ।

तर, पोखरा र भरतपुर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार भने तय भएको छ ।

एमालेले पोखरा महानगरको मेयरमा मानबहादुर जीसी र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ । आकांक्षी धेरै भएपछि एमाले कास्कीले मतदान गरेर नै धेरै मत ल्याउने दुई र एक महिला उम्मेदवार सिफारिस गरेको थियो । उक्त मतदानमा जीसीले सर्वाधिक मत पाएका थिए ।

यस्तै भरतपुर महानगरको मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिब्या आचार्यलाई उम्मेदवार बनाउने एमालेको निर्णय छ । ज्ञवाली पार्टीका सल्लाहकार हुन् ।

एमालेले हेटौंडा उपमहानगरको मेयरमा हरिबहादुर महतलाई उम्मेदवार बनाइएको छ भने उपमेयरको टुंगो लाग्न बाँकी छ । मीना लामा र जुनेली श्रेष्ठ मध्ये एकलाई उपमेयरको उम्मेदवार बनाइने एमाले स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment