Comments Add Comment

एमालेले निर्वाचन आयोगलाई भन्यो- जेठ ३१ मा चुनाव हुन सक्दैन, बजेट अगावै सार्नुस्

२१ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ ३१ गते दोस्रो चरणको चुनाव हुन नसक्ने निर्वाचन आयोगलाई जानकारी गराएको छ । साथै पहिलो चरणको निर्वाचन लगत्तै मत गणना गर्न नहुने बताएको छ ।

संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा आयोग कार्यालय कान्तिपथ पुगेका एमाले नेताहरुले चारबुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । दोस्रो चरणको चुनावको मिति घोषणा गर्दा आफूहरुसँग कुनै परामर्श नभएको र एक महिनाको अन्तर राखेकोमा उसको असन्तुष्टि छ ।

जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको भन्दै एमालेले जेठ ३१ मा चुनाव गर्दा बजेट र मतगणना के गर्ने भनेर प्रश्न गरेको छ । साथै जेठ ३१ मा मुस्लिम धर्मावलम्बीहरुको चाड रमजान पनि परेको भन्दै एमालेले उनीहरुले उक्त दिन कसरी मतदान गर्छन् भनेर सोधेको छ ।

भेटपछि एमाले नेता नेम्वाङले भने, ‘एउटै मात्र उपाय छ । जेठ १५ को बजेट घोषणालाई सार्नु हुँदैन । त्यसैले ३१ को चुनावलाई १५ अगाडि नै सार्नुस् ।’

एमाले नेताहरुले विगतमा गिरिजाप्रसाद कोइरालाले ठूलो एकादशीका दिनमा चुनाव घोषणा गरेको र पछि त्यसलाई फेरबदल गरेको स्मरण गराएका छन् ।

दोस्रो चरणको चुनावलाई बजेट अगावै सार्दा पहिलो चरणमा मतदान भएका ठाउँको मत पेटिकाका कति दिन राख्ने भन्ने समस्या पनि समाधान हुने एमालेको तर्क छ ।

पहिलो चरणको चुनाव लगत्तै मतगणना गरेर दोस्रो चरणमा जाँदा चुनाव प्रभावित हुने एमालेले बताएको छ ।

एमाले नेताहरुले दोस्रो चरणको चुनावबारे तत्काल निर्णय गर्नु पर्नेमा जोड दिएको छ । एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, ‘आयोगले अविलम्ब परामर्श देओस् र आजभोलि नै यथोचित समाधान गर्नुस् ।’

जवाफमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले सरकारले पहल र प्रयास गरोस्, हामी तयार छौं भन्दै सकारात्मक जवाफ दिएको नेम्वाङले सुनाए ।

हेर्नुहोस् एमालेले निर्वाचनमा आयोगलाई पठाएको पत्र 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment