Comments Add Comment

उम्मेद्वारलाई चुनावी कार्यक्रम गर्न भ्याईनभ्याई, घरदैलोको सट्टा आमसभा

कांग्रेसका रामजी कुँवर र सरस्वती गुरुङ

२२ बैशाख, पोखरा। देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेद्वारहरुलाई चुनावी कार्यक्रम गर्न भ्याईनभ्याई भएको छ । चुनाव आउन ९ दिनमात्र बाँकी रहेको र त्यसमा पनि २ दिन मौन समयमा चुनाव प्रचार गर्न नपाइने भएकाले उम्मेद्वारहरुलाई चुनावी कार्यक्रम गर्न भ्याईनभ्याई भएको हो ।

पोखरा लेखनाथ महानगरपालिका देशकै ठूलो महानगरपालिका हो । यस महानगरमा ३३ वटा वडा रहेका छन् । एउटै वडा पनि एकैदिनमा छिचोल्न मुस्किल छ । त्यसैले उम्मेद्वारहरुले घरदैलो गर्नुको सट्टा कुनै एक चोकमा सामुहिक कार्यक्रम गर्ने र भाषण गरेर अर्कोमा गइहाल्ने गरेका छन् ।

‘सामुहिक कार्यक्रममा पूरै समय बस्न सकिँदैन । सकेसम्म सबै ठाउँ पुग्ने प्रयास गरिरहेका छौं,’ कांग्रेस मेयरका उम्मेद्वार रामजी कुँवरले भने ।

कांग्रेसका तर्फबाट मेयरका कुँवर र उपमेयरकी उम्मेद्वार सरस्वती गुरुङले चुनावी कार्यतालिका नै सार्वजनिक गरेका छन् । उनीहरुले विहीबार वडा नम्बर २, ३, ४ र ९ मा कार्यक्रम गरे । अब आज शुक्रबार वडा नम्बर १, १६, १९ र २५ मा कार्यक्रम गर्ने जनाएका छन् ।

एमालेका मानबहादुर जीसी र मञ्जु गुरुङ

चुनावी कार्यक्रम अन्तर्गत सबै पार्टीहरुलाई दिनमै ४/५ वटा वडामा पुग्नुपर्ने बाध्यता छ । एउटा वडामा कम्तिमा पनि ३ देखि ४ वटा सार्वजनिक कार्यक्रम राख्ने गरिएको छ । यसरी हेर्दा उनीहरुले दिनमै १५ देखि २० वटासम्म सार्वजनिक कार्यक्रममा पुग्नुपर्छ । त्यस बिचमा एक कार्यक्रमबाट अर्को कार्यक्रममा पुग्न पनि समय लाग्छ । त्यसैले उम्मेदवारहरु तालिका मिलाएर भाषण गर्नमात्र पुग्ने गरेका छन् ।

‘विहान ७ बजेदेखि साँझसम्मै कार्यक्रममा व्यस्त छौं । भ्याई नभ्याई भएको छ,’ नेकपा एमालेका तर्फबाट मेयरका उम्मेद्वार मानबहादुर जिसीले भने ।

एमालेले पोखरामा जिसीलाई मेयर र मञ्जु गुरुङलाई उपमेयरको उम्मेदवार बनाएको छ । चुनावी तालिकाअनुसार कार्यक्रम गरिरहेको उनीहरुले बताए । विहीबार वडा नम्बर ७, ११, १६ र २८ मा गरी एकैदिन चार वडामा कार्यक्रम सकेका उनीहरुले शुक्रबार वडा नम्बर ३, ११, १२, १३ र १४ मा पुग्ने तालिका बनाएका छन् । शुक्रबार एकैदिन ५ वटा वडाका फरक/फरक १२ भन्दा बढी चुनावी कार्यक्रममा सहभागी एमाले नेताहरु बताउँछन् ।

माओवादीका विश्वप्रकाश लामिछाने र गोमा ढकाल । लामिछानेले भने उम्मेद्वारी फिर्ता लिइसकेका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट उपमेयरकी उम्मेद्वार गोमा ढकालले पनि चुनावी कार्यक्रमलाई तिव्रता दिएकी छन् । मेयरमा उम्मेद्वारी दिएका विश्वप्रकाश लामिछानेले कांग्रेससँग तालमेलको सहमतिअनुसार उम्मेद्वारी फिर्ता लिएपछि ढकाल एक्लै चुनावी प्रचारमा लागेकी हुन् । यद्यपी उनलाई वडाका उम्मेद्वारहरुले चुनावी कार्यक्रममा सघाइरहेका छन् ।

ढकालले विहीबार वडा नम्बर ६, ७, ८, ९ र १० का विभिन्न चोकमा कार्यक्रम गरेको र शुक्रबार वडा नम्बर १७, १५, १४ र ३ मा कार्यक्रम रहेको जानकारी दिइन् ।

‘व्यस्तताको कुरै छाड्नुस् । कहिले काँही त खाने पिउने पनि फुर्सद हुँदैन । दिनभरी कार्यक्रम गरेर फर्किएपछि समिक्षा गर्छौं, नयाँ योजना बनाउँछौं । अनि राति अबेर सुत्छौं,’ ढकालले भनिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरकी उम्मेद्वार गीता गुरुङ र उपमेयरका उम्मेद्वार रमेशबहादुर खत्रीले पनि दैनिक १५ भन्दा बढी कार्यक्रम जाने गरेको बताए । उनीहरुले शुक्रबार वडा नम्बर १६, २१, २०, २३, २७, ३१ र ३३ मा सामुहिक कार्यक्रम गर्नुका साथै घरदैलो पनि गरेको जनाएका छन् । जस अन्तर्गत आज शुक्रबार वडा नम्बर ९, १०, १४, १५ र १८ मा घरदैलोसहित कोणसभा गर्ने बताए ।

संघीय समाजवादी र नयाँशक्तिको संयुक्त प्यानलका हुम गुरुङ र लक्ष्मी खाती

त्यस्तै, संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टीको संयुक्त प्यानलले पनि दैनिक ४/५ वटा वडामा पुगेर कार्यक्रम गर्ने गरेको छ । संघीय समाजवादीका तर्फबाट मेयरका उम्मेद्वार हुम गुरुङ र नयाँशक्तिकी उपमेयरकी उम्मेद्वार लक्ष्मी खाती परियारले एउटा वडामा ५/७ वटा कार्यक्रम राखेर गर्ने गरेको जनाएका छन् । सो अन्तर्गत विहीबार वडा नम्बर १, ९, १३ र १५ मा कार्यक्रम गरे । आज शुक्रबार वडा नम्बर १२, १४ र १० मा कार्यक्रम हुने बताएका छन् ।

अन्य पार्टी तथा स्वतन्त्र उम्मेद्वारहरुले पनि दैनिक ४/५ वटा वडामा पुग्ने गरेको बताएका छन् । पार्टीले सामुहिक कार्यक्रम गरेपनि स्वतन्त्र उम्मेद्वारहरु भने घरघरमै पुग्ने प्रयास गरिरहेको बताएका छन् ।

प्राय सबै उम्मेद्वारहरुले समय कम भएकाले तनावमा चुनावी कार्यक्रम गर्नु परिरहेको गुनासो गरेका छन् । यद्यपी जसरी पनि भ्याउनुपरेकाले विहानदेखि बेलुकैसम्म कार्यक्रम गरिरहेको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment