Comments Add Comment

दोलखाको जुँगु घटनापछि माओवादी कार्यकर्ताले गाउँ छाडे

हत्या अभियोगमा पूर्वराज्यमन्त्रीसहित ३९ माओवादी विरुद्ध जाहेरी


२८ बैशाख, चरिकोट । दोलखाको जुँगुमा चुनावी झडपका क्रममा मारिएका कुलवहादुर तामाङको हत्या अभियोगमा पूर्व राज्यमन्त्री देवी खड्का सहित माओवादी केन्द्रका केन्द्रीय नेताहरु विरुद्ध किटानी जाहेरी परेको छ ।

मृतक कुलबहादुरका पिता तथा गौरीशंकर गाउँपालिका वडा नम्बर १ का एमाले उम्मेदवार गोरे तामाङले माओवादी नेताहरु देवी खड्का, विशाल खड्का, गंगा कार्की, विमर्शराज कार्कीसहित ३९  जना विरुद्ध जिल्ला प्रहरी कार्यालय चरिकोटमा किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरीपछि प्रहरीले कुलवहादुरको हत्यामा प्रत्यक्ष संलग्न रहेका ८ जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको जनाएको छ । मंगलवार राति भएको सो घटनापछि माओवादी नेता कार्यकर्ताले जुँगु छाडेका छन् ।

माओवादी नेताहरु देवी, विशाल र गंगाको गाउँ जुँगु माओवादीको पकड क्षेत्र हो । सो ठाउँमा एमाले उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरको घरेलु हतियार प्रयोग गरि हत्या भएको थियो । गम्भीर घाइते भएका शिक्षक दिलबहादुर बुढाथोकीको काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

झडमा परी माओवादी तर्फ पनि केही व्यक्ति घाइते भएका छन् ।

मृतक तामाङ केही दिनअघिमात्र माओवादी केन्द्र सम्बद्ध वाइसिएल छाडेर एमालेमा प्रवेश गरेका थिए । एमालेले गोरेलाई उम्मेदवार बनाएपछि आफ्ना पितालाई जिताउन उनी काठमाडौंबाट गाउँ गएका थिए ।

काठमाडौंमा मजदूरी गर्ने कुलवहादुरकी श्रीमती वैदेशिक रोजगारीमा छिन् भने दुई बालबच्चा टुहुरा भएका छन् । मृतकका परिवार सहित एमालेले जरिकोटमा बिरोध प्रदर्शन गरेको छ । घटनापछि दोलखाको उत्तरी क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ ।

गौरीशंकर गाउँपालिकासँगै जोडिएका वैत्यश्वर र तामाकोशी गाउँपालिकामा समेत झडपको त्रास फैलिएको छ ।

दोलखामा एमालेविरुद्ध कांग्रेस र माओवादीले संयुक्त उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment