Comments Add Comment

किशोर थापाको संश्लेषणः जित्ने आशा रहेन, निर्वाचित मेयरलाई सहयोग गर्छु

'पुराना दलको ब्रान्डिङ र कल्चरका कारण हामी पछि पर्‍यौं'

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बन्ने दौडमा किशोर थापा अहिले समाचार लेख्दासम्म चौथो नम्बरमा छन् । यहाँबाट पहिलो नम्बरमा उक्लिन ठूलै उलटफेर हुनुपर्छ ।

आफू जितको सम्भावनाबाट टाढिएको थापा स्वयमलाई लागेको छ । यद्यपि उनी निराश भने छैनन् । ‘जित्ने आशा त लगभग सकियो, तर अहिलेसम्म पाएको मत मेरो निम्ति सकारात्मक र उत्साहजनक छ’ थापाले अनलाइनखबरसँग भने ।

निर्वाचनअघि थापाले १ लाखभन्दा बढी भोट ल्याएर जित्ने दाबी गरेका थिए । के कारणले उनको अनुमानले फेल खायो त ?

थापाले भने, ‘हामीले प्रचार-प्रसारका लागि समय नै पाएनौं । जनताका घरदैलोमा पुग्न भ्याएनौं, विभिन्न टोलमा स्थानीयवासीहरुले बोलाएका बैठकमा जान सकेनौं । त्यसैले सोचेजस्तो नतिजा आएन ।’

निर्वाचन आयोगको प्रावधानका कारण थापाको साझा पार्टीले चुनाव चिन्ह पाउन सकेको थिएन र थापाले स्वतन्त्र हैसियतमा क्यामरा चुनावचिन्ह लिएर लडेका थिए । त्यो पनि उनलाई अन्तिम समयमा प्राप्त भएको थियो ।

चुनाव चिन्ह लिएर जनतासँग मत माग्न थापासँग ६ दिन मात्रै समय थियो । यति सानो अवधिको प्रचारमा प्राप्त गरेको मतलाई उनी सम्मानजनक ठान्छन् । थापाले अन्तिम नतिजासम्म आफूले २० हजार मत कटाउने संशोधित अनुमान गरेका छन् । उनी भन्छन्- ‘मैले योभन्दा अलि बढी अपेक्षा गरेको थिएँ । तर, पुराना राजनीतिक दलहरुको ब्रान्डिङ र पोलिटिकल कल्चरका कारण हामी पछि पर्‍यौं ।’

अहिले पाएको मत आफ्ना लागि अमूल्य रहेको थापाले बताए । ‘काठमाडौंका जे-जति जनताले मप्रति विश्वास प्रकट गर्नुभएको छ, त्यसलाई म कहिले पनि टुट्न दिनेछैन । आगामी दिनमा महानगरवासीकै सेवामा केन्दि्रत हुनेछु ।’ उनले भने ।

उनले आफ्नो हारका बाबजुद यो चुनावले साझा पार्टीलाई जनतामा स्थापित गराउन मद्दत पुर्‍याएको पनि बताए ।

स्थानीय चुनावपछि प्रदेशको चुनाव र केन्द्रको चुनाव पाइपलाइनमा छन् । त्यसमा भाग लिनेबारे के सोच्नुभएको छ भन्ने प्रश्नमा थापाले पार्टीमा छलफल गरेर निर्णय लिइने बताए ।

रञ्जुसँग तुलना

धेरैले थापाले पाएको भोटलाई विवेकशील पार्टीकी रञ्जु दर्शनाले पाएको भोटसँग जोडेर हेरेका छन् । दुवैले मिलेर लडेको भए ठूला दललाई बलियो टक्क दिन सक्ने कतिपयको अनुमान छ । थापा स्वयमले यसलाई कसरी लिएका छन् त ?

‘हाम्रो र उहाँहरुको अवधारणा अलि फरक थियो । उहाँहरुले युवा जोश र जाँगरलाई महत्व दिनुभयो भने हामीले विज्ञता र अनुभवलाई । यदि युवा जोश र विज्ञता दुवैको मिश्रण गर्न सकिएको भए पक्कै पनि धेरै राम्रो हुन्थ्यो । तर, दुर्भाग्यवस त्यो हुन सकेन ।’

समग्रमा यो चुनाव आफ्ना लागि फाइदाजनक नै भएको उनले बताए ।

‘यो चुनावले मेरो पदोन्नति नै गरेको जस्तो लाग्छ । म एउटा पूर्वकर्मचारीको हैसियतबाट एउटा राजनीतिक व्यक्तिको हैसियतमा उक्लिएको छु । पहिले मलाई नचिन्ने धेरैले चिन्न थाल्नुभएको छ,’ थापाले भने ।

चुनाव हारेमा तपाईंको राजनीति कसरी अगाडि बढ्छ भन्ने प्रश्नमा थापाले भने, ‘म निर्वाचित मेयरलाई सकेको सहयोग गर्नेछु । उहाँले पहिले दिनुभएको आश्वासन के-कति पूरा गर्नुहुनेछ भनेर वाचडगका रुपमा हेरिरहने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment