Comments Add Comment

भैरहवाका भावी मेयरका एजेण्डाः नमूना नगरदेखि बैंकको ऋण मिनाहासम्म


२९ जेठ, भैरहवा । निर्वाचनको मिति नजिकिदै जाँदा रुपन्देही सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिका) सरगर्मी बढ्दै गएको छ । राजनीतिक दलहरुले घरदैलो अभियान गर्नुका साथै निर्वाचनमा विजयी हुन आन्तिरक रणनीति बनाउनमा व्यस्त छन् ।

भैरहवाको मुख्य चार दल कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा एकल रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।

तालमेलको लागि यी दलहरुलेे एकअर्कासँग पटक-पटक वार्ता भए पनि कुरा नमिल्दा सबै एकल रुपमा चुनावी मैदानमा उत्रिएका छन् । तर, मनोयन दर्ता नभएसम्म राजनीतिक दलहरुबीच तालमेलको सम्भावना भने कायम रहेको छ ।

विभिन्न दलहरुका मेयरका उम्मेदवारहरुलाई हामीले चुनावी एजेण्डा र आगामी कार्ययोजनाबारे सोधेका थियौं ।

प्रायः सबै उम्मेदवारहरुले देशकै नमूना नगरपालिका बनाउने बताए । कतिपयले त बैंकको ऋण माफ गर्नेसम्मको योजना सुनाए । उम्मेदवारहरुको भनाइ जस्ताको तस्तैः

मातृकाप्रसाद यादव, मेयर उम्मेदवार, नेपाली कांग्रेस

मलाई यस नगरका जनताले विजयी गराएमा मैले सबैभन्दा पहिला यस सिद्धार्थनगरलाई स्वच्छ, सफा, सुन्दर, हरभरा र प्रदुषण रहित पर्यटकीय नगरीको रुपमा विकास गर्नेछु । नगरपालिकालाई आधुनिक, प्राविधिक साधनसम्पन्न बनाई सेवाग्राहीलाई छिटो, छरितो सरल प्रक्रियाबाट सेवा दिनेछु । भ्रष्टाचार मुक्त सुशासन र अपराध नियन्त्रण नगर बनाउने योजना मेरो छ ।

नगरभित्रै रहे पनि विकासमा पछि परेका वडा नम्बर ९, १०, ११ लाई प्राथमिकतामा राखेर विकासको गति बढाइनेछ । प्रत्येक सडक, नाला, ढलको राम्रो व्यवस्था गर्ने, प्रत्येक वडामा एउटा राम्रो प्रस्तृति गृह बनाउने योजना छ ।
नगरभित्र रहेको निमावि, प्रावि सरकारी विद्यालयलाई मावि बनाउने योजना रहेको छ । मुख्य कुरा यस नगरलाई लोडसेडिङ्ग मुक्त गरी उज्यालो नगर बनाउनेमा कुनै कसर बाँकी छाड्ने छैन ।

हाम्रो नगरमा मुलुककै दोस्रो ठूलो भन्सार नाका रहेको कारण यस नाकालाई व्यवस्थित गरी स्थानियलाई रोजगारीको व्यवस्था मिलाउने छु ।

साथै यस नगरमा रहेको विशेष आर्थिक क्षेत्र -सेज) लाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन पहल गरी यस नगरको आर्थिक उन्नति गराउनेछु ।

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सम्पन्न गराई नगरलाई देशकै नमूना नगरपालिका बनाउने छु ।

अन्तमा समस्या विविध छन्, गर्नुपर्ने काम धेरै छ । त्यसैले विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी सात सदस्यीय विज्ञहरुको एउटा परामर्श समिति बनाएर सो समितिले पहिचान गरेका प्रत्येक समस्या र कार्यलाई प्राथमिकताका आधारमा कार्य पनि गर्नेछु ।

हरिप्रसाद अधिकारी, मेयरका उम्मेदवार, नेकपा एमाले

सर्वप्रथम त मैले प्राविधिकहरुको सहयोगमा नगर विकासको गुरुयोजना बनाई चरणबद्ध विकासको खाका तयार पार्ने छु र यहाँ क्रियाशील सबै संघसंस्थाहरुको सहकार्यमा काम अगाडि बढाउने छु ।

पाँच वर्षे कार्यकालमा साँच्चिकै सिद्धार्थनगरलाई नमूना सहर बनाउने छु । भ्रष्टाचार न्यूनिकरणमा शून्य सहनशिलता ल्याउने छु । मेरो प्रतिबद्धता पत्रमा भएका सबै कामहरुलाई क्रमिक रुपमा पूरा गर्ने छु । विगतमा भएका विभिन्न आन्दोलन र उपलब्धीहरुलाई संस्थागत गर्दै समग्र सिद्धार्थनगरलाई देशकै सफा, सुन्दर, पर्यटकीय तथा आर्थिक विकासको हब बनाउने मेरो लक्ष्य छ । म निर्वाचित भएँ भने मेरो पहिलो प्राथमिकता भनेकै नगरमा भ्रष्टाचार निर्मूल पार्नु हो ।

साथसाथै नगरबासीहरुकै सहभागितामा नगर विकासको गुरुयोजना तयार पारी चरणबद्ध रुपमा कार्यान्वयनमा ल्याउने छु ।

पाँच वर्षभित्रमा नगरका सबै भित्री बाटोहरु पीच गरी नाला तथा ढल निकासलाई व्यवस्थित गर्दै वर्षायाममा हुने डुवानका समस्याहरुलाई समाधान गर्ने, नगरपालिकाद्वारा निर्माण गरिने संरचनाहरू अपाङ्गमैत्री बनाउने, नगरलाई नमूना नगर बनाएर उपमहानगर र विस्तारै महानगरपालिका बनाउन पहल गर्ने मेरो योजना छ ।

फैज अहमद खान, नेकपा माओवादी केन्द्र

म यस नगरमा निर्वाचित भएमा सर्वप्रथम त यस नगरलाई गि्रन सीटीको रुपमा विकास गर्ने छु । नगरमा रहेको अस्पताल र विद्यालयहरु अन्त्यन्तै जीर्ण भइसकेको छ । एक दिनमा पानी परेमा डुबानका कारण विद्यार्थीहरु पढ्नबाट बञ्चित हुनु परेको छ । नगरमा एउटा सरकारी अस्पताल छ । त्यो पनि गरिबहरुलाई दिने सेवा राम्ररी दिन सकेको छैन । त्यसकारण मैले र हाम्रो पार्टीले स्वास्थ्य र शिक्षाको दृष्टिकोणले यस नगरलाई अगाडि बढाउनेछौं । डुबानको समस्या पनि समाधान गरिनेछ ।

म मेयरमा निर्वाचित भएमा साउन १ गतेदेखि निम्न वर्ग, बेरोजगार व्यक्तिहरुलाई उकास्नका लागि २ सय ५० जनालाई रोजगारको व्यवस्था मिलाउने छौं । साथै हाम्रो पार्टी विजयी भएमा नगरभित्रका किसान तथा निम्नवर्गका जनताको चैत्र मसान्तसम्मको सहकारी संस्था र सरकारी बैंकको ५० हजारसम्मको ऋण माफ गर्ने छौँ ।

यो नगर बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारा भएको कारण यस नगरलाई स्वच्छ, हराभरा, सुन्दर देशकै नमूना नगरपालिका बनाउने छु । लुम्बिनी जाने सम्पूर्ण सार्वजनिक यातायातलाई वातानुकुलित बनाउने योजना छ ।

साथै नगरवासीको सुविधाका लागि सीटी बस सञ्चालन गर्ने, नगरका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने, उद्योगी व्यवसायीहरुका लागि सहुलियत दरमा गोदाम व्यवस्था गर्ने मेरो लक्ष्य छ । यस नगरलाई उपमहानगर बनाएर विकास गरिनेछ ।

म अहिले घरदैलो अभियानमा छु । नगरवासीहरुको घरमा पुग्दा पुस्तौंदेखि यहीँ बसेका नगरवासीहरु नागरिकताबाट बञ्चित भएको गुनासो सुनेको छु ।
मत माग्ने क्रममा नागरिकता नभएको नगरवासीहरुले गुनासो गरेको छन् । उमेर ६०-७० वर्ष पुगिसकेको छ तर उनीहरुको नागरिकता छैन । त्यसैले म निर्वाचत भएमा यस नगरका वास्तिवक नगरवासीलाई नागरिकता दिलाउने पहल गर्नेछु ।

सागरप्रताप राणा, मेयरका उम्मदेवार, राप्रपा

यस नगरलाई स्वीटजरलैण्ड वा सिङ्गापुर बनाउन त सकिँदैन । १० हजार मेगावाट विद्युत उत्पादन गर्न पनि सकिँदैन । तर, म निर्वाचित भएमा के गर्छु भने यो नगरपालिकालाई व्यवस्थित सुविधाजनक, राम्रो, सुन्दर, सफा र स्वच्छ नगरपालिका बनाउनेछु ।

कुनै ठाउँमा पानी जम्ने, ढल नबग्ने, हिलोमा हिँड्नुपर्ने परिस्थितिलाई मुक्त गराउनेछु । नगरपालिकाभित्रका सबै कार्यालयलाई प्रविधिमैत्री बनाई पेपरलेस काम गराउने, नगरपालिकाका बासिन्दालाई म सिद्धार्थनगर नगरपालिकाको बसिन्दा हुँ भन्ने गौरव हुने जस्तो नगरपालिका बनाउँछु ।
यस नगरलाई बालबिवाह र लागूऔषध मुक्त नगरपालिका बनाउने छु ।

लोडसेडिङ्ग अन्त्य गर्नका लागि उज्यालो सिद्धार्थनगर कार्यक्रम सञ्चालन गर्ने, नगरपालिकाको क्षेत्रलाई विस्तार गरी क्रमशः उपमहानगर र महानगरपालिका बनाउने, टोल फ्री नम्बरको स्थापना गरी उक्त नम्बरमा दर्ता गराइएका गुनासो तथा उजुरीमाथि २४ घण्टाभित्र कार्यवाही गर्ने, नगरवासीहरुको स्वास्थ्य बीमा, जीवन बीमाको व्यवस्था मिलाउने योजना पनि छ ।

यस नगरलाई नमूना नगर बनाउन आवश्यक सबै काम गर्नेछु । म निर्वाचित भएमा नगरको विकास र नगरवासीको हितमा सदैव काम गर्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment