Comments Add Comment

भूकम्पको दुई वर्षपछि विद्यालय भवन, इचोकमा फर्कियो खुसी

७ असार, सिन्धुपाल्चोक । लोभैलाग्दो विद्यालय भवन । खानेपानीका लागि विद्यालय बाहिर जानु पर्दैन । व्यवस्थित शौचालय पनि विद्यालय परिसरभित्रै छ ।

पहिलेको पनि स्कुल, अहिलेको पनि स्कुल, तर नयाँ भवनमा बसेर अध्ययन गर्दा निकै आन्नद भएको इचोकस्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा पाँचमा अध्ययनरत पूर्णबहादुर तामाङले बताए ।

भूकम्पपछि झण्डै दुई वर्षसम्म अस्थायी पालमुनी अध्ययन गरेका यो विद्यालयका विद्यार्थीहरु नयाँ भवन निर्माणसँगै सुविधा सम्पन्न विद्यालयमा बसेर अध्ययन गर्न पाउँदा निकै खुसी भएका छन् ।

भूकम्पपछि महिनौसम्म गोठ जस्तै टहरामा बसेर पढ्दै आएका पूर्णबहादुर यतिबेला दंग मात्रै छैनन्, खुसीको सीमा नै छैन उनीसँग ।
बिहीबार विद्यालय भवन हस्तान्तरण भइरहँदा उनी भन्दैथिए,-‘पानी थिएन, ट्वाइलेट थिएन अब सबै छ यति ठूलो स्कुल बन्यो ।’

हेर्दा कुनै मंहगो शुल्क लिएर सञ्चालन गर्ने विद्यालय भन्दा कुनै फरक छैन यो विद्यालयको भवन ।

हेलम्वु गाउँपालिका-६,इचोक स्थित महेन्द्र माध्यमिक विद्यालयको सुविधासम्पन्न भवन निर्माण भएपछि इचोकवासीमा खुसियाली छाएको छ ।

टुुकीसंघ सुनकोसीको संयोजन तथा कारीतास स्विजरल्याण्डको सहयोगमा ४ करोड बढी लगानीमा सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरि हस्तान्तरण भएपछि इचोकवासीमा खुसियाली छाएको हो ।

विनाशकारी भूकम्पको दुई वर्षसम्म भूकम्प पीडित स्थानीय टहरामै छन् ।

दुई वर्षसम्म घर बनाउन नसकेका भूकम्प पीडितलाई यसवर्षको बर्खा कसरी कटाउने भन्ने चिन्ता त छ तर गाउँमा सुविधासम्पन्न विद्यालय भवन भन्दाको खुसी त्यो भन्दा बढी छ ।

विद्यालयको चावी हस्तान्तरण गरिदै

विद्यालय पुनर्निर्माणले इचोकवासीका मुहारमा खुशी ल्याइदिएको छ । ‘भुकम्पमा भत्किएका घर ठडिएका छैनन् तर सुविधासम्पन्न विद्यालय ठडिँदा खुसी लागेको छ’, स्थानीय कृष्ण केसीले भने ।

आफ्ना नानिबाबुहरुलाई सुविधा सम्पन्न भवनमा पढाउन पाउँदा आफू लगायत यस क्षेत्रका अविभावक खुसी भएको उनले बताए ।

‘घर पनि पाल मुनी स्कुल पनि पाल मुनी बिहान स्कुल गएका नानिबाबु बेलुकी घर नर्फकदासम्म चिन्ता हुन्थ्यो,’ उनले भने-‘अब कम्तीमा स्कुल त सुरक्षित छ ।’

एक वर्षअघि कारीतास स्विटजरल्याण्डको सहयोगमा टुकी संघ सुनकोसीले महेन्द्र माध्यमिक विद्यालयको १६ कोठे पक्की भवन निर्माण सुरु गरेको थियो ।

निर्माण सुरु भएको एक वर्षभित्रै सम्पन्न गरी कारीतासले विद्यालय भवन हस्तान्तरण नै गरेको हो ।

सुविधासम्पन्न पक्की भवनसहित कारीतास स्विटजरल्याण्डले खानेपानीको संरचना र शौचालय पनि निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

नवनिर्मीत भवनको विशेष समारोहकाबीच कारीतास स्विजरल्याण्डका कन्ट्री डाइरेक्टर बन्र्ड सेर्फडले विद्यालय भवन हस्तान्तरण गरेका छन् भने हेल्भेटास स्विस इन्टर कोअपरेसनका कन्ट्री डाइरेक्टर भरत पोखरेलले खानेपानी र शौचालय हस्तान्तरण गरेका हुन् ।

विद्यालय भवन भवन हस्तान्तरण कार्यक्रममा जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
साथै केन्द्रीय तह कार्यन्वयन इकाइको उप-निर्देशक दिलीपशेखर श्रेष्ठको पनी उपस्थिती रहेको थियो ।

उक्त भवन हस्तान्तरण कार्यक्रममा विभिन्न संस्थाका पदाधिकारीहरु पनि सहभागी थिए ।

समयमा नै भवन हस्तान्तरण गर्न पाएकोमा कारितास स्विजरल्याण्डका कन्टि्र डाइरेक्टर बन्र्ड सेर्फडले खुसी व्यक्त गरे ।

त्यसैगरी हेल्भेटास स्विस इन्टर कोअपरेसनका कन्टि्र डाइरेक्टर भरत पोखरेलले विद्यालयमा खानेपानी निर्माण र हस्तान्तरण गर्नमा सघाउ पुर्‍याएको भन्दै सम्पूर्ण सरोकारहरुलाई धन्यवाद दिएका थिए ।

सुविधासम्पन्न भवन पाएपछि अब विद्यालयले शैक्षिक उपलव्धीमा विशेष ध्यान दिने प्रधानाध्यापक नेत्रप्रसाद भट्टराईले बताए ।

विद्यालय पुनर्निर्माणको चिन्ता नभएपछि अब जसरी हुन्छ शैक्षिक उपलव्धी हाँसिल गर्नका लागि आफूहरु लाग्ने भन्दै प्रअ भटराईले खुसी ब्यक्त गरे । ‘अब हाम्रो एउटै लक्ष्य शैक्षिक उपलव्धीका लागि हुनेछ’, उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्त पण्डितले पनि अब पुननिर्माणको काम सकिएकाले विद्यालयको शैक्षिक गुणस्तर उकास्न आफुहरु लागीपर्ने बताए ।

दुर्गम गाउँमा निर्धारित समयमा नै विद्यालय भवन निर्माण सम्पन्न भएकोमा टुकी संघ सुनकोशीका कार्यकारी अधिकृत ज्ञानेन्द्र पौडेलले खुसी व्यक्त गरे । ‘हामीलाई जुन जिम्मेवारी आएको थियो,आज त्यसलाई पूरा गरेका छौ ।’ पौडेलले भने,-‘अब अरु भवनहरु पनि छिट्टै निर्माण सम्पन्न हुने छन् ।’

कारितास स्वीटजरल्याण्डको सहयोगमा पश्चिमी क्षेत्रका विभिन्न वडाका ३१ विद्यालय निर्माण हुदैछ ।

हालसम्म ६ विद्यालय हस्तान्तरण भइसकेको छ भने ११ विद्यालय निर्माणको चरणमा रहेको टुकी संघ सुनकोशीका कार्यकारी प्रमुख पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment